पाल्पा – ४० वर्ष माथिका नागरिकको मधुमेह र उच्चरक्तचापको स्क्रिनिङ्ग गर्दै पूर्वखोला गाउँपालिका

पाल्पा, १९ चैत । पूर्वखोला गाउँपालिकाले ४० वर्ष माथिका आफ्ना नागरिकको मधुमेह र उच्च रक्तचापको स्क्रिनिङ् गर्ने भएको छ । गाउँपालिकाले  त्यसका लागि शनिबार स्वास्थ्यकर्मी तथा जनप्रतिनिधिहरुलाई अभिमुखिकरण कार्यक्रम आयोजना गरेको छ ।

गाउँपालिका स्वास्थ्य शाखा प्रमुख मोहन ढकालका अनुसार यसपटक गाउँपालिकाले ४० देखि ६९ वर्ष उमेर समूहका ५ हजार १२५ जनाको स्क्रिनिङ गर्ने लक्ष्य लिएको छ । ७० वर्ष माथिका नागरिकको भने यसअघि नै स्क्रिनिङ्ग गरिएको उनले बताए ।

त्यसो त पूर्वखोला गाउँपालिका ८० वर्ष माथिका नागरिकको घर घरमै गएर स्वास्थ्य जाँच गर्ने अभियान सुरु गर्ने प्रदेशकै पहिलो पालिका हो । यो पालिकाले विसं २०७४/७५ देखि नै ८० वर्ष माथिका जेष्ठ नागरिकको घर घरमै गएर स्वास्थ्य परीक्षण गर्ने गरेको छ ।

पछिल्लो समय युवा अवस्थाका व्यक्तिमा पनि मधुमेह तथा उच्च रक्तचापको जोखिम बढ्न थालेको पाइएपछि गाउँपालिकाले ४० वर्ष माथिका नागरिकको स्क्रिनिङ गर्न लागेको ढकालले बताए ।

उनले भने, ‘ग्रामिण क्षेत्रमा पनि युवाहरु नै मधुमेह र उच्च रक्तचापको जोखिममा परेको देखियो । मानिसहरुले समस्या नपर्दासम्म स्वास्थ्य जाँच नगर्ने र यी दुबै रोगले कहिलेकाँही विना लक्षण नै समस्यामा पार्ने भएकोले हामीले स्क्रिनिङ्ग गर्ने योजना बनाएका हौँ । यसबाट आउने नतिजाले यी रोगको न्युनिकरणमा कसरी कदम चाल्ने भन्ने विषयमा थप योजना बनाउन समेत सजिलो हुन्छ ।’

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *