गाभीले नेपाललाई ३ करोड ९६ लाख डलर बराबरको खोप र १ करोड ८० लाख डलर अनुदान दिने

काठमाडौँ, २२ साउन । नेपाल सरकार र ‘गाभी, द भ्याक्सिन एलाइन्स’बीच सन् २०२७ देखि २०३० सम्मको रणनीतिक सहकार्यका विषयमा उच्चस्तरीय छलफल भएको छ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र नेपालका लागि गाभीका वरिष्ठ म्यानेजर निल्गुन आयदोगानको नेतृत्वमा आएको टोलीबीच भएको बैठकमा आगामी चार वर्षको खोप सहयोग,सह-वित्तीय लगानी र कार्यक्रमको वित्तीय दिगोपनाबारे छलफल भएको हो।

बैठकमा गाभीले आगामी अवधिका लागि नेपाललाई ३ करोड ९६ लाख अमेरिकी डलर बराबरको खोप तथा १ करोड ८० लाख ६० हजार अमेरिकी डलर नगद अनुदान उपलब्ध गराउने प्रस्ताव गरेको छ।

प्रस्तावित सहयोगअन्तर्गत नेपालले भने १ करोड ७१ लाख अमेरिकी डलर सह-वित्तीय लगानी गर्नुपर्ने विषयमा पनि छलफल भएको छ।

नेपाल र गाभीबीचको सहकार्य सन् २००१ देखि सुरु भएको हो। २५ वर्षको अवधिमा गाभीले नेपालमा ५५ करोड अमेरिकी डलरभन्दा बढी बराबरको खोप,कोल्ड चेन पूर्वाधार तथा स्वास्थ्य प्रणाली सुदृढीकरणमा सहयोग गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

हाल गाभीले नेपाल सरकारले राष्ट्रिय खोप कार्यक्रममार्फत उपलब्ध गराउने ११ वटा खोपमध्ये ५ वटा खोपमा सह-लगानी गर्दै आएको छ भने एक प्रकारको खोप निःशुल्क उपलब्ध गराउँदै आएको छ।

परिवार कल्याण महाशाखाअन्तर्गतको राष्ट्रिय खोप कार्यक्रममार्फत नियमित खोपका साथै विभिन्न खोप अभियान सञ्चालनमा समेत गाभीको सहयोग रहँदै आएको छ।

बैठकमा विश्वव्यापी रूपमा विकास सहायता तथा वित्तीय स्रोत घट्दै गएको अवस्थामा नेपालको राष्ट्रिय खोप कार्यक्रमलाई आगामी दिनमा कसरी दिगो बनाउने भन्ने विषयमा समेत गहन छलफल भएको थियो।

गाभीका प्रतिनिधिहरूले राष्ट्रिय खोप कार्यक्रममा मन्त्री मेहताले देखाएको नेतृत्व तथा नेपालले खोपको क्षेत्रमा हासिल गरेको प्रगतिप्रति प्रशंसा गर्दै आगामी दिनमा समेत निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *