चिकित्सा शिक्षा संघर्ष अभियानद्धारा चरणवद्ध आन्दोलनको घोषणा
काठमाडौं, २७ साउन । निजी मेडिकल कलेजहरूले आवासीय तथा इन्टर्न चिकित्सकहरूको नियमित पारिश्रमिक रोकी राज्यलाई मेडिकल कलेजको सिट तथा शुल्क वृद्धि गर्न दबाब दिएको भन्दै चिकित्सा शिक्षा संघर्ष अभियानले बिरोध गरेको छ ।
अभियानले यस्तो कार्यप्रति गम्भीर आपत्ति जनाउँदै चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ।
चिकित्सा शिक्षा आयोगले सञ्चालन गर्ने यस वर्षको एकीकृत प्रवेश परीक्षा नजिकिँदै गर्दा निजी मेडिकल कलेज एसोसिएसनले सिट तथा शुल्क वृद्धि गराउन सरकारमाथि दबाब सिर्जना गर्ने उद्देश्यले आवासीय तथा इन्टर्न चिकित्सकहरूको पारिश्रमिक रोक्ने कार्य गरेको अभियानको ठोकुवा छ ।
‘राज्यलाई प्रभाव र शक्तिको प्रयोगमार्फत गैरकानुनी तथा अवैज्ञानिक निर्णय गर्न बाध्य पार्ने प्रयास स्वीकार्य हुँदैन,’ अभियानले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
त्यस्तै, एक वर्षे अनिवार्य मेडिकल अफिसर सेवा पूरा गरेपछि मात्र पीजी प्रवेश परीक्षामा सहभागी हुन पाउने व्यवस्थाका कारण चिकित्सकहरू विभिन्न अस्पतालमा न्यून पारिश्रमिकमा काम गर्न बाध्य भएको अभियानको भनाइ छ। नर्सलगायत अन्य स्वास्थ्यकर्मीसमेत न्यून पारिश्रमिकमा काम गर्न बाध्य हुँदा अस्पतालभित्रै श्रम शोषण भइरहेको दाबी गरिएको छ।
हेर्नुहोस विज्ञप्ती

सम्पर्क इमेल : nepalihealthnews@gmail.com




नेपाली हेल्थ 




