महाकाली प्रादेशिक अस्पतालमा तेस्रो सिफ्टमा पनि डायलाइसिस सेवा सञ्चालनको तयारी

36
Shares

काठमाडौँ, २७ साउन । मिर्गौला पीडित बिरामीको चाप बढेपछि कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालले तेस्रो सिफ्ट (राति) मा पनि ‘डायलाइसिस’ सेवा सञ्चालन गर्ने तयारी गरेको छ ।

अस्पतालमा डायलाइसिस सेवाका लागि शय्या, मेसिन र जनशक्तिको अभाव हुँदा मिर्गौला पीडित बिरामीलाई सेवा दिन समस्या भइरहेको छ ।

महाकाली प्रादेशिक अस्पतालका प्रवक्ता डा अर्जुन भट्टले बिरामीको चापअनुसार जनशक्ति, शय्या र मेसिनको व्यवस्थापन गरी सेवा सहज बनाउन प्रयास भइरहेको जानकारी दिए ।

“१० वटा बेड छन्, दैनिक १८ देखि १९ जनालाई डायलाइसिस सेवा दिनुपर्ने अवस्था छ”, डा भट्टले भने, “जनशक्ति लगायतका विषयमा संरचना विस्तारका लागि माथिल्लो निकायसँग छलफल भइरहेको छ ।”

उनका अनुसार दैनिक २० देखि २५ जना बिरामी डायलाइसिसका लागि अस्पताल आउने गरेका छन् ।

डायलाइसिस सेवामा कार्यरत तथा सम्पर्क व्यक्ति यशोदा गिरीले बिरामीको चापलाई ध्यानमा राखेर दैनिक तीन शत्रमा सेवा सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिए ।

“अहिले बिहान र बेलुकी गरी दुई सिफ्टमा डायलाइसिस सेवा दिइरहेका छौँ”, उनले भने, “रातिको समयमा पनि सेवा दिने गरी जनशक्ति र आवश्यक उपकरण व्यवस्थापनको काम अघि बढेको छ ।” अस्पतालमा सेवा पाउन नसक्ने अवस्थामा बिरामी धनगढीलगायत अन्यत्र जाने गरेको उनले बताए ।

महाकाली प्रादेशिक अस्पताल व्यवस्थापन समितिका सदस्य इन्द्र साउदले कोरोना महामारीका बेला प्रयोगमा ल्याइएको ल्याबको भवनबाट अहिले डायलाइसिस सेवा सञ्चालन भइरहेको बताए ।

उनका अनुसार जनशक्तिको अभावका कारण रातिको सत्र सञ्चालन गर्न सकिएको छैन । “डायलाइसिसका लागि जनशक्तिको निकै अभाव छ”, उनले भने, “रातिको सिफ्ट सञ्चालन गर्न प्रदेश र सङ्घीय सरकारसँग आवश्यक जनशक्ति उपलब्ध गराउन आग्रह गरिरहेका छौँ ।” अस्पतालमा डायलाइसिस सेवा लिन आउने बिरामीको चाप अत्यधिक बढेको उनले बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *