अमेरिकामा बाल खोपको तालिका बदलिँदै, ट्रम्पद्वारा खोपको संख्या घटाउन आदेश

44
Shares

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बालबालिकालाई दिइने नियमित खोपको संख्या घटाउने र खोप लगाउने समयतालिका समेत परिवर्तन गर्ने उद्देश्यका साथ नयाँ कार्यकारी आदेश जारी गरेका छन्।

सोमबार हस्ताक्षर गरिएको आदेशले बालबालिकाको प्रारम्भिक उमेरमा दिइने खोपको संख्या घटाउनुका साथै अमेरिकाको विद्यमान बाल खोप तालिकालाई तीनवटा छुट्टाछुट्टै श्रेणीमा विभाजन गर्ने प्रस्ताव गरेको छ। यद्यपि, यस्तो व्यापक परिवर्तनलाई समर्थन गर्ने पर्याप्त वैज्ञानिक प्रमाण नरहेको स्वास्थ्य विज्ञहरूले बताएका छन्।

ट्रम्प प्रशासनले शिशुलाई एकैपटक धेरै खोप दिनुको सट्टा लामो समयको अन्तरमा विभिन्न चरणमा खोप लगाउने नीति अघि सारेको हो। ट्रम्पले आफ्ना छोराछोरीलाई पनि यसैगरी विभिन्न चरणमा खोप दिइएको र कुनै समस्या नभएको दाबी गरेका छन्।

ओभल अफिसमा बोल्दै ट्रम्पले भने, “हामी खोपको संख्या घटाउँदैछौँ। कम खोप लगाउने मात्र होइन, चिकित्सककहाँ जाने विभिन्न भ्रमणमा ती खोपहरू लगाइनेछन्।”

एउटा खोपलाई तीनवटा बनाउन प्रस्ताव

कार्यकारी आदेशमा दादुरा, मम्प्स र रुबेला (एमएमआर)विरुद्ध दिइने संयुक्त खोपलाई तीनवटा छुट्टाछुट्टै खोपका रूपमा दिनुपर्ने प्रस्तावसमेत गरिएको छ।

एमएमआर  खोपलाई छुट्ट्याउने विषयमा ट्रम्पले पछिल्ला महिनाहरूमा निरन्तर जोड दिँदै आएका थिए।

तर,  स्वास्थ्य विज्ञहरूका अनुसार संयुक्त एमएमआर  खोपलाई छुट्टाछुट्टै खोपमा विभाजन गर्ने प्रस्ताव हालको व्यापक वैज्ञानिक सहमतिसँग मेल खाँदैन।

प्रशासनले नयाँ संघीय दिशानिर्देशनअनुसार राज्यहरूले आफ्ना खोपसम्बन्धी अनिवार्य प्रावधानहरू पनि पुनरावलोकन गर्नुपर्ने संकेत गरेको छ।

यसले अमेरिकामा बालबालिकाको खोपसम्बन्धी लामो समयदेखि कायम रहेको व्यवस्थामा ठूलो परिवर्तन ल्याउन सक्ने देखिएको छ।

ट्रम्पद्वारा खोपबारे गलत दाबी

स्वास्थ्य तथा मानव सेवा सचिव रोबर्ट एफ. केनेडी जुनियरलगायत वरिष्ठ स्वास्थ्य अधिकारीको उपस्थितिमा ट्रम्पले खोपसम्बन्धी विभिन्न दाबी गरेका थिए। उनले कुनै ठोस वैज्ञानिक प्रमाण प्रस्तुत नगरी बालबालिकालाई उनीहरूले सहन सक्नेभन्दा बढी खोप दिइरहेको दाबी गरेका थिए ।

उनले एमएमआर खोप ‘अत्यन्त घातक हुन सक्छ’ भन्नेसमेत बताएका थिए। साथै, शिशुलाई खोप पाँचवटा छुट्टाछुट्टै चिकित्सकीय भ्रमणमा लगाउने आफ्नो प्रस्तावको कारणबारे सोध्दा उनले आफूले आफ्ना छोराछोरीका लागि पनि त्यसै गरेको र कुनै समस्या नभएको बताए।

तर स्वास्थ्य विज्ञहरूले खोपको संख्या र समयतालिकामा गरिने यस्ता परिवर्तनले खोप लगाउने दर घटाउन तथा बालबालिकालाई रोकथाम गर्न सकिने संक्रामक रोगको जोखिममा पार्न सक्ने चेतावनी दिएका छन्।

रिपब्लिकन सिनेटर क्यासिडीले नै गरे विरोध

ट्रम्प प्रशासनकै रिपब्लिकन पार्टीका सिनेटर तथा चिकित्सक बिल क्यासिडीले कार्यकारी आदेशको तत्काल विरोध गरेका छन्।

क्यासिडीले सामाजिक सञ्जाल एक्समा लेख्दै भनेका छन्, ‘यो कार्यकारी आदेश गलत छ। राष्ट्रपति यी परिवर्तन गर्ने विशेषज्ञता राख्नुहुन्न। खोपहरू अत्यधिक सुरक्षित र प्रभावकारी छन्। खोपले अटिजम गराउँदैन।’

उनले एमएमआर  लगायत संयुक्त खोपलाई छुट्टाछुट्टै बनाउँदा बालबालिकाले कम नभई उही स्तरको सुरक्षा प्राप्त गर्न थप पटक सुई लगाउनुपर्ने बताएका छन्।

क्यासिडीका अनुसार यस्तो नीतिले खोपप्रतिको हिचकिचाहट अझ बढाउन सक्छ र अन्ततः बालबालिकालाई थप असुरक्षित बनाउन सक्छ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *