खानेपानी ट्यांङ्कीमा भेटियो महिलाको शब, पानी पिएका ३५० बढी बिरामी

तनहुँ, १३ चैत । दूषित पानी पिउँदा तनहुँको म्याग्दे गाउँपालिका -४, मनहरिका करीब तीन सय ५० जना स्थानीय बिरामी भएका छन् । पीपलटार खानेपानी उपभोक्ता समूहको रिजर्भ ट्याङ्कीबाट वितरित पानी दूषित हुँदा उक्त सङ्ख्यामा स्थानीयहरु बिरामी भएका हुन् ।

सो खानेपानी ट्याङ्कीमा महिलाको शब सडेगलेको अवस्थामा भेटिएको थियो ।

म्याग्दे गाउँपालिकाका अध्यक्ष बालकृष्ण घिमिरेले पानी दुर्गन्धित खाएपछि सो क्षेत्रका १४८ घरपरिवारका बासिन्दा विरामी भएको जानकारी दिए ।

उपभोक्तले ट्यांकीमा शव देखेपछि मनोविज्ञानमा असर परी वान्ता गर्ने गरेको र सबैजना बिरामी भएको घिमिरले बताए । ‘‘ट्याङ्कीमा शव भेटिएपछि किलकिलाएर धेरै जसोले बान्ता गरेका छन्’’ अध्यक्ष घिमिरेले भने । उनले तत्कालको लागि मूलको पानी दुर्गन्धित ट्याङ्की नराखी बैकल्पिक व्यवस्था पालिकाले गर्न लागेकोे जानकारी दिए ।

ट्यांकीभित्र सडेगलेको अवस्थामा नामथर वतन नखुलेकी महिलाको शब भेटिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक भानु शर्माले बताए । ट्यांकीभित्रबाट दुर्गन्ध फैलिएपछि स्थानीयले पानी ट्यांकी जाँच गर्ने क्रममा शव देखेपछि प्रहरीमा खबर गरेका थिए ।

घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक अवदेश विष्ट क्षेत्रीको टोलीले जनप्रतिनिधिको रोहवरमा मुचुल्का तयार गरी प्रारम्भिक अनुसन्धान सुरु गरेको छ ।

मृतकको लाश पोष्टमार्टमका लागि दमौली अस्पतालको शव गृहमा राखिएको प्रहरीले जनाएको छ । उक्त घटनाका बारेमा थप अनुसन्धान भइरहेको घटना स्थल पुगेका प्रहरी उपरीक्षक विष्टले बताए । केही समय अगाडि ती महिलाको कसैले हत्या गरी ट्यांकीमा फालेको हुन सक्ने अनुमान प्रहरीको छ ।

घरघरमा वितरण गरिएको धाराको पानीमा गन्ध आएको उपभोक्ताको गुनासोपछि खानेपानी उपभोक्ता समितिले ट्याङकी खोलेर हेर्दा शव फेला परेको उपभोक्ता समितिका सचिव चन्द्रकुमार मल्लले जानकारी दिए ।

“तीन दिन अघिदेखि उपभोक्ताले पानी गन्हायो भनेर गुनासो गर्नुभएको थियो । आज बिहान ट्यांकीको ढकन खोलेर हेर्दा शव देखियो घिन मानेर स्थानीय विरामी भएका छन्’’ सचिव मल्लले भने ।

 

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *