डब्लुएचओद्धारा प्रदेश अस्पताल सुर्खेतमा जडान भएको सोलार प्यानल हस्तान्तरण

सुर्खेत, १२ चैत ।  विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले आफ्नो आर्थिक तथा प्राविधिक सहयोगमा प्रदेश अस्पताल सुर्खेंत, कर्णालीमा निर्माण सम्पन्न भएको सोलार प्यानल आज एक कार्यक्रमबीच अस्पताललाई हस्तान्तरण गरेको छ ।

डब्लुएचओका नेपाल प्रतिनिधि डा राजेश सम्भाजि राव पाण्डवले अस्पतालका निर्देशक डा डम्बर खड्कालाई प्यानल हस्तान्तरण गरेका हुन् । डब्लुएचओले आज हस्तान्तरण गरिएको १५० किलोवाट क्षमताको उक्त सोलार प्यानल जडानका लागि १ लाख ८३ हजार अमेरिकी डलर खर्च भएको जनाएको छ ।

हस्तान्तरण समारोहमा बोल्दै अस्पतालका निर्देशक डा डम्बर खड्काले सोलार प्यानल जडान पछि अस्पतालले विद्युत अभावमा भोग्नु परेको समस्या समाधान हुने बताए । उनले दक्ष जनशक्ति मात्र भएर पनि यदि पूर्वाधार भएन भने हामीले दिन सक्ने सेवामा कति फरक पर्छ भन्ने कुरा कोभिडले सिकाएको उल्लेख गर्दै यस प्रविधिले यस्ता समस्यालाई न्युनिकरण गर्ने विश्वास व्यक्त गरे ।

उक्त अवसरमा स्वास्थ्य आपतकालिन कार्य सञ्चालन केन्द्रका प्रमुख डा समिरकुमार अधिकारीले यसको निरन्तरताका लागि अस्पताल व्यवस्थापनले सञ्चालनमा ध्यान दिनु पर्नेमा जोड दिए ।

डब्लुएचओका नेपाल प्रतिनिधि डा राजेश सम्भाजिराव पाण्डवले दक्षिणपूर्वी एशियामा यो पहिलो र अत्यन्तै नयाँ प्रविधि जडान भएकोले यसको प्रयोगले कर्णाली र नेपालई मात्र फाइदा नभएर विद्युत आपूर्तिको समस्या भएका अन्य मुलुकको लागि पनि महत्वपूर्ण सिकाई हुनसक्ने बताए ।

कार्यक्रममा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रेमबहादुर घलेले सोलार प्यानल जडान भएपछि अक्सिजन प्लान्ट निरन्तर चलिरहेको र विद्युत महशुलमा अस्पताललाई निकै कम भार परेको बताउँदै यसको लागि स्वास्थ्य मन्त्रालय र डब्लुएचओलाई धन्यवाद दिए ।

१५० किलोवाट क्षमताको उक्त प्यानल अस्पतालमा सञ्चालनमा आएसंगै काम गर्न सहज भएको र अस्पताललाई आर्थिक भार कम भएको अस्पताल व्यवस्थापनले जनाएको छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *