रोकिएन चिकित्सक तथा स्वास्थ्यकर्मीमाथिको कुटपिट, कालिकोटमा एकै दिन दोहोर्‍याएर आक्रमण

प्रहरी भन्छ, 'तीन जना आक्रमणकारी समातिए'

कालिकोट, २३ साउन । सरकारले चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि सुरक्षाको प्रत्याभूत हुन्छ भन्ने प्रतिवद्धता जनाइरहे पनि व्यवहारमा भने देखिएको छैन । पछिल्लो पटक कालिकोटको पलाँता गाउँपालिका–९ थिर्पुस्थित पलाँता अस्पतालमा भएको घटनाले त्यसको पुष्टि गरेको छ ।

पलाँता अस्पतालमा शुक्रबार दिउसो डिउटीमा चिकित्सक तथा नर्समाथि आक्रमण तथा दुर्व्यभार भएको केही घण्टा पछि उनै व्यक्ति राती आएर पुन आक्रमणमा उत्रिए, अस्पताल तोडफोड गरे । औषधी, प्रयोगशाला र आकस्मिक कक्षका औजार तथा सरसामानहरु फुटाइदिए ।

अहिले भने प्रहरीले घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।

घटना के हो ?

शुक्रबार दिउँसो स्थानीय तपेन्द्र बमले डिउटीमा रहेका अस्पतालका मेडिकल अफिसर डा. अली हैदर रैन र स्टाफ नर्स शान्ता गिरीमाथि अभद्र व्यवहार तथा कुटपिट भएको थियो। अस्पतालभित्र भिडियो गेम खेल्न नदिएको विषयलाई लिएर उनीहरूमाथि आक्रमण भएको जनाइएको छ।

दिउँसोको घटनापछि दोषीमाथि कारबाहीको माग गर्दै अस्पतालका चिकित्सक तथा कर्मचारी प्रहरी चौकी पुगेका थिए। छलफलमा स्थानीय, जनप्रतिनिधि र प्रहरीसमेत सहभागी थिए। घटनालाई मिलापत्र गरेर टुंग्याउन दबाब आए पनि चिकित्सकहरूले आफूहरूमाथि लगातार दुर्व्यवहार भइरहेको भन्दै कारबाहीको माग गरेका थिए।

तर त्यसपछि राति करिब सवा ९ बजेतिर स्थानीय बम अस्पताल प्रवेश गरी अहेब विष्णु रोकाया र सुरक्षा गार्ड दर्न डनमाथि कुटपिट गरेको बताइएको छ। उनले अस्पतालको ढोका तथा विभिन्न सामग्री तोडफोड गरेका थिए।

डा. अलीका अनुसार बमले अस्पतालको ओपीडीमा रहेको भिडियो स्क्यान मेसिन, भ्याक्सिन राख्ने फ्रिज, पंखा, झ्याल तथा फार्मेसीमा समेत तोडफोड गरेका छन्। फार्मेसीको ढोका फुटाएर औषधि राखिएका दराज र र्‍याकसमेत लडाइएको सीसीटीभीमा देखिएको उनले बताएका छन्।

घटनापछि प्रहरीले बमलाई नियन्त्रणमा लिएको थियो। जिल्ला प्रहरी कार्यालय कालीकोटका अनुसार अस्पतालमा अनधिकृत रूपमा प्रवेश गरी चिकित्सक तथा नर्समाथि अभद्र व्यवहार गर्नुका साथै तोडफोड गरेको घटनामा संलग्न तीन जनालाई नियन्त्रणमा लिइएको छ।

प्रहरीका अनुसार पक्राउ परेकाहरूमाथि जिल्ला प्रहरी कार्यालय कालीकोटमा अनुसन्धान भइरहेको छ। जिल्ला प्रहरी कार्यालय कालीकोटका सूचना अधिकारी प्रहरी निरीक्षक सुरेश खत्रीले घटनाबारे अनुसन्धान जारी रहेको जानकारी दिएका छन्।

लगातारको दुर्व्यवहार र आक्रमणका कारण अस्पतालमा काम गर्ने वातावरण नरहेको भन्दै डा. अली भने अस्पतालबाट बाहिरिने प्रयासमा रहेका छन् । उनलाई प्रहरीको सहयोगमा अस्पतालबाट बाहिरिने व्यवस्था मिलाइएको पलाँता गाउँपालिकाका स्वास्थ्य संयोजक धनप्रसाद न्यौपानेले जानकारी दिएका छन्।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *