ढल्केबरको ट्रमा सेन्टर निर्माण रोकिदैन : स्वास्थ्य मन्त्री मेहता

काठमाडौं, २५ साउन । धनुषाको ढल्केबरमा प्रस्तावित ट्रमा सेन्टर निर्माणको माग गर्दै आन्दोलन भइरहेका बेला स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले ढल्केबरको ट्रमा सेन्टर निर्माण प्रक्रिया नरोकिने बताएकी छन् ।

उनले नयाँ संरचना निर्माण सम्पन्न हुन समय लाग्ने भएकाले तत्कालका लागि लहानस्थित प्रादेशिक अस्पतालमा ट्रमा युनिट सञ्चालन गर्न लागिएको जानकारी दिएकी छन् ।

सोमबार प्रतिनिधि सभामा जवाफ दिँदै मन्त्री मेहताले ढल्केबरमा क्रिटिकल केयर तथा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढिसकेको बताईन ।

मन्त्री मेहताका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका नागरिकलाई उपचारका लागि काठमाडौं ल्याउनुपर्ने बाध्यता अन्त्य गर्न सरकारले तत्काल सेवा र दीर्घकालीन पूर्वाधार निर्माणलाई सँगसँगै अघि बढाएको छ।

लहानस्थित प्रादेशिक अस्पतालमा सीटी स्क्यान,आवश्यक चिकित्सकीय जनशक्ति, बिरामीको पर्याप्त चाप तथा ब्लड बैंकलगायत ट्रमा सेवा सञ्चालनका लागि आवश्यक आधारभूत पूर्वाधार रहेकाले त्यहाँ तत्काल ट्रमा युनिट सञ्चालन गर्ने निर्णय गरिएको मन्त्री मेहताले बताईन ।

“लहानमा ट्रमा युनिट सञ्चालन गर्नु ढल्केबरको विकल्प होइन,” मन्त्री मेहताले भनिन्, “नयाँ संरचना निर्माण सम्पन्न नहुँदासम्म नागरिकलाई तत्काल उपचार उपलब्ध गराउने अन्तरिम र व्यावहारिक व्यवस्था हो।”

मन्त्री मेहताले एक ठाउँमा दीर्घकालीन स्वास्थ्य संरचना निर्माण भइरहँदा अर्को ठाउँमा तत्काल सेवा विस्तार गर्नु विरोधाभास नभएको भन्दै सरकारको नीति नै आवश्यकताअनुसार देशका विभिन्न स्थानमा ट्रमा सेन्टर तथा ट्रमा युनिट विस्तार गर्ने रहेको बताईन ।

“हाम्रो उद्देश्य एउटै हो,  दुर्घटनामा परेका नागरिकले समयमै उपचार पाऊन् र उपचारका लागि काठमाडौं धाउनुपर्ने बाध्यता अन्त्य होस्,” मन्त्री मेहताले भनिन् ।

मन्त्री मेहताले ढल्केबरमा निर्माण भइरहेको संरचनालाई अगाडि बढाउन तथा उपलब्ध पूर्वाधारबाट तत्काल नागरिकलाई सेवा दिने वातावरण बनाउन जनप्रतिनिधि र सम्बन्धित सबै पक्षलाई सहयोग गर्न समेत आग्रह गरेकी छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *