क्षयरोगबाट कसैले ज्यान गुमाउन नपरोस् : प्रधानमन्त्री दाहाल
काठमाडौ, १० चैत । आज विश्व क्षयरोग दिवस, नेपालमा पनि बिभिन्न कार्यक्रम गरी यो दिवस मनाईदै छ ।
विश्व क्षयरोग दिवसको अवसरमा आज शुभकामना सन्देश दिंदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले क्षयरोगबाट कसैले पनि अकालमा ज्यान गुमाउन नपरोस् भनेर कामना गरेका छन् ।
उनले उपचाररत क्षयरोगीहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् र भनेका छन्, ‘भविष्यमा यस रोगबाट कसैको पनि अकालमा मृत्यु नहोस् भन्ने कामना गर्दछु ।’ उनले विगतमा क्षयरोगबाट ज्यान गुमाएकाका परिवारमा समवेदना पनि प्रकट गरेका छन् ।
प्रधानमन्त्री दाहालले विश्व क्षयरोग दिवसको अवसरमा नेपाल सरकारको तर्फबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा क्षयरोग अन्त्यका लागि गरिएका प्रतिबद्धतालाई पूरा गर्ने प्रतिबद्धता पनि जनाएका छन् ।
प्रधानमन्त्री दाहालले शुभकामना सन्देशमार्फत् क्षयरोगमुक्त नेपालको निर्माण गर्न संघ, प्रदेश तथा स्थानीय तीनै तहमा उच्चस्तरीय संयन्त्रको व्यवस्था गरी आवश्यक स्रोत र साधनको परिचालन तथा बहुक्षेत्रीय साझेदारीको प्रवर्द्धन गर्ने प्रतिबद्धता पनि जनाएका छन् ।
साथै क्षयरोग विरुद्धको अभियानलाई दातृ निकाय र अन्य सरोकारवालाहरुको सहयोग तथा संलग्नता बढाई क्षयरोगविरुद्धको अभियानमा सहभागी हुनसमेत अपिल गरेका छन् ।
सन् १८८२ मार्च २४का दिन डा रोबर्ट कोचले क्षयरोगको किटाणु पत्ता लगाएका थिए ।
यसको एक सय बर्ष पछि सन् १९८२ मा इन्टरनेशनल युनियन अगेन्स्ट ट्युवरक्लोसिस एण्ड लङ डिजिजको सिफारिसमा २४ मार्चको दिनलाई दिवसको रुपमा मनाउन थालिएको हो ।