डिप्लोमा इन फार्मेसीको लाइसेन्स परीक्षामा जम्मा साढे १६ प्रतिशत पास
काठमाडौँ, ४ चैत । डिप्लोमा इन फार्मेसीको लाइसेन्स परीक्षामा जम्मा साढे १६ प्रतिशत उत्तीर्ण भएका छन् । नेपाल फार्मेसी परिषद्द्धारा शनिबार लिइएको २१ औँ नाम दर्ता परीक्षामा डिप्लोमा इन फार्मेसीमा १६.५० प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका हुन् ।
यो परीक्षामा उत्तीर्ण विद्यार्थीहरुले फार्मेसी पसलमा बसेर औषधि विक्री वितरण गर्न पाउँछ ।
परिषद्का रजिष्ट्रार सञ्जीव पाण्डेयका अनुसार परीक्षामा सहभागी हुन भन्दै कुल १ हजार ६३४ जनाले आवेदन भरेका थिए । तर परीक्षामा ५२ जना अनुपस्थित भए ।
शनिबार सानोभरयाङ स्थित नेपाली सेनाको स्वास्थ्य विज्ञान संस्थानमा लिइएको परीक्षामा कुल १ हजार ५८२ जना उपस्थित भएका थिए । त्यसमध्ये जम्मा २६१ जना मात्रै उत्तीर्ण भएका हुन् ।
‘जम्मा साढे १६ प्रतिशत उत्तीर्ण भए, यो निकै नै कमजोर प्रतिशत हो । यसले औषधि बिक्री बितरण गर्ने जनशक्तिहरुको उत्पादन गर्ने गुणस्तरमा समेत सन्देह पैदा गरेको छ । यसमा केही पुराना परीक्षार्थी पनि भएको हुनसक्छ । तर प्रतिशतको अनुपात हेर्ने हो भने निकै नै कमजोर हो,’ परिषदका सदस्यसचिव निरज बर्तौलाले भने ।
परिषदले यसअघि लिएको परीक्षामा भने उत्तीर्ण प्रतिशत राम्रो हुने गर्दथ्यो ।