वीर अस्पतालले हटायो पाँच जना स्टाफ नर्स
काठमाडौँ, ३० फागुन । कोभिड -१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल)ले पाँच जना स्टाफ नर्सलाई सेवाबाट हटाएको छ । लामो समय देखि विदा स्वीकृत नगराई कार्यालयमा अनुपस्थित रहेका पाँचौँ तहका उनीहरुलाई सेवाबाट हटाएको हो ।
सेवाबाट हटाइएका स्टाफनर्सहरुमा सम्झना श्रेष्ठ, सुशीला ढकाल, जमुना सिटौला, शान्ति लम्साल र ओमदेवी पुन रहेका छन् ।
सेवाबाट हटाउनु अघि उनीहरुका नाममा अस्पतालले ३ पुसमा गोरखापत्रमा सार्वजनिक सूचना जारी गर्दै तीस दिन भित्र हाजिर हुन आउनु भनेको थियो । सो अवधिमा पनि सम्पर्कमा नआएपछि उनीहरुलाई सेवाबाट हटाइएको हो ।
अस्पतालले जारी गरेको सूचनामा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान नियमावली २०६५ को नियम १३३ (घ) बमोजिम सेवाबाट हटाइएको उल्लेख छ ।