देशभरका अस्पतालहरुमा स्वास्थ्य वीमा सेवा अवरुद्ध

काठमाडौं, २८ फागुन । स्वास्थ्य बीमा कार्यक्रम लागू भएका अस्पतालहरुमा आज विहानै देखि सेवा रोकिएको छ । केन्द्रीय सर्भरमा समस्या समस्या देखिएको भन्दै अस्पतालहरुले स्वास्थ्य बीमा सम्वन्धित सबै सेवा स्थगित गरेका हुन् ।

महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ्ग अस्पताल)ले आज विहानै सूचना टाँस गरी अस्पतालबाट दिइने सेवा स्थगित रहेको जानकारी गराएको छ । अस्पतालले यस्तो सूचना जारी गरेपछि वीमामार्फत स्वास्थ्य उपचार गर्न पुगेका आम सर्वसाधारण तथा बिरामीहरु भने मर्कामा परेका छन् ।

स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा दामोदर बसौलाले विहान ७ बजे देखि सर्भरमा समस्या आएको पुष्टि गरे । उनले सर्भरमा समस्या हुँदा देशभरकै सेवा प्रदायक अस्पतालहरुमा सेवा अवरुद्ध भएको बताए ।

‘गभरमेन्ट इन्टिग्रेट डाटा सेन्टर (जीआईडीसी) जो केन्द्रीय सर्भर हो, त्यो सिंहदरबारमा छ । त्यसमा विहान ७ बजे देखि समस्या आएको रहेछ । त्यहाँ समस्या आएपछि त देशभर हाम्रो स्वास्थ्य बीमाको सर्भरले काम गर्ने भएन । सर्भरले काम नगरेपछि सिस्टममा समस्या हुने नै भयो । यसले गर्दा अहिले सेवा रोकिएको हो । एक दुई घण्टा पछि यो समाधान हुने विश्वास लिइएको छ । अहिले हाम्रा प्राविधिकहरु काममा खटिई सक्नु भएको छ’ उनले भने ।

स्वास्थ्य बीमाको काम शनिबार बन्द हुने भएकोले आज आइतबार विहानै देखि सेवाग्राहीको भिड बढेको थियो । तर सेवा रोकिदा उनीहरु भने अलमलमा परेका छन् ।

पछिल्लो समय स्वास्थ्य बीमाको सेवा चुस्त नभएको भन्दै गुनासो बढी रहेको छ । त्यसमाथी सेवा नै अवरुद्ध हुँदा सेवाग्राहीहरुमा झनै नकारात्मक सन्देश जाने निश्चित छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *