स्वास्थ्य सचिव बराल र स्वास्थ्य बीमा सदस्य डा. सतिशबीचको ‘विवाद’ के हो ?

काठमाडौँ, ३ फागुन । स्वास्थ्य सचिव खगराज बरालले आफूमाथि दुव्र्यवहार गरेको भन्दै स्वास्थ्यबीमा बोर्डका सदस्य समेत रहेका महाराजगञ्ज मेडिकल कलेजका क्लिनिकल फर्माकोलोजी विभागका प्रमुख डा सतिशकुमार देवले स्वास्थ्य मन्त्री भानुभक्त ढकालसमक्ष निवेदन दिएका छन् । सोही विषयमा उनले आफूमाथि न्याय दिलाईदिन भन्दै नेपाल मेडिकल एसोसिएशनसंग समेत गुहार मागेका छन् ।

गत विहीबार स्वास्थ्य राज्यमन्त्री नवराज रावतको कार्यकक्षमा बसेको बीमा बोर्डको अनौपचारिक बैठकमा सचिव बरालले आफूमाथि व्यक्तिगत गालि गलोच गरेको डा सतिशको आरोप छ । उनले निवेदनमा सचिव बरालमाथि चिकित्सकहरु विक्ने, चिकित्सकहरु आफूलाई ढोग्न आउने जस्ता अभिव्यक्ति दिएको र यस्ता अभिव्यक्ति विगतमा पनि दिने गरेको उल्लेख गरेका छन् ।

यता सचिव बरालले भने स्वास्थ्य बीमाका सन्दर्भमा भएको बैठकमा बोर्डका सदस्यहरु आफूआफूबीच आरोप प्रत्यारोपमा उत्रिने र अनावश्यक माग गर्न थालेपछि कडा रुपमा प्रस्तुत भएको बताए । ‘स्वास्थ्य बीमा कार्यक्रमको बारेमा धेरैले चिन्ता जनाउनु भएको छ । त्यसबारेमा छलफल गरी कसरी सुधार गर्न सकिन्छ भनेर अनौपचारिक छलफलको आयोजना गरिएको थियो । तर त्यहाँ त बोर्डका पदाधिकारी तथा सदस्यबीच नै एक अर्कामा आरोप प्रत्यारोपमा उत्रिनुभयो । बीमालाई कसरी सुधार गर्न सकिन्छ भन्ने भन्दा पनि ऐनमा व्यवस्था नै नभएको सुविधा र अधिकार खोज्दै जंघिन थाल्नु भयो । त्यसपछि म पनि कडा रुपमा प्रस्तुत भएको हुँ ,’ सचिव बरालले भने ।

डा सतिशले त आफू र चिकित्सा क्षेत्रलाई नै बदनाम गर्ने गरी दुव्र्यवहार गरेको भनेका छन् नि ? भन्ने प्रश्नमा सचिव बरालले उनको आरोपमा सत्यता नभएको बताए । ‘तर उहाँलाई झुट विवरण किन दिनु भयो भनेर कडा रुपमा भनेको हुँ । उहाँको बारेमा मन्त्रालयसंग जोडिएका र रिपोर्टिङमा आएका केही कुरा पनि छन्,’ सचिव बरालले भने ।

यता चिकित्सक संघले भने यस विषयमा सचिव र मन्त्रीलाई भेटेर कुरा गर्ने बताएको छ । आइतबार मन्त्री सचिव ज्यूहरुसंग भेटने कार्यक्रम छ । त्यसबेला डा सतिशले दिएको निवेदनका विषयमा पनि छलफल हुनेछ र आवश्यक कदम चालिनेछ । संघका अध्यक्ष डा लोचन कार्कीले भने ।

सरकारले चार बर्ष अघि देखि शुरु गरेको स्वास्थ्य बीमा कार्यक्रम यतिवेला संकटपूर्ण अवस्थामा गएको छ । बीमा संकटपूर्ण अवस्थामा आउनुमा बोर्डका पदाधिकारी र कार्यकारी निर्देशकबीचको असमझदारी प्रमुख कारण हो भन्नेमा दुई मत देखिदैन । सरकारको महत्वकाक्षी योजनामा रहेको स्वास्थ्य बीमा असफलता हुँदा आम जनताको स्वास्थ्य पहुँचमा समेत अफ्टेरो हुने विज्ञहरुले बताउँन थालेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *