बाढी प्रभावितको उपचार गर्न चाहने चिकित्सकको काउन्सिल दर्ता अनिवार्य
काठमाडौँ, १६ भदौ । नेपाल भित्रका जुनसुकै ठाउँमा चिकित्सकको रुपमा उपचार सेवा दिनु अघि नेपाल मेडिकल काउन्सिलमा अनिवार्य दर्ता हुनु पर्छ ।
गत १० भदौमा आएको रसुवा भोटेकोशी बाढी पछिको विपत्तीमा पनि थुप्रै संघसंस्था मार्फत विदेशी चिकित्सकहरु शिविर लिएर प्रभावित क्षेत्रमा पुग्ने योजना बनाई रहेका छन् । नेपाल मेडिकल काउन्सिलले भने प्रभावित क्षेत्रमा आफूकहाँ आएर अस्थायी दर्ता हुनु पर्ने सम्झाएको छ ।
काउन्सिलका रजिष्ट्रार डा सुप्रभात श्रेष्ठले दर्ता आज एक सूचना जारी गर्दै दर्ता नभएका चिकित्सक तथा संघ संस्थाहरुलाई नेपालको प्रचलित ऐन कानून र नियम अनुसार व्यक्तिगत एवं सामुहिक रुपमा उपचार सेवामा सम्लग्न रहन आफूकहाँबाट कम्तिमा अस्थायी दर्ता हुन भनेका छन् । उनले त्यसबाहेक स्वस्थ्य मन्त्रालयको विपद व्यवस्थापन महाशाखासंग समन्वय र संयोजन गर्न समेत अनुरोध गरेका छन् ।
यसैगरी संस्थाहरुलाई उपचारमा सम्लग्न जनशक्ति, प्रयोग भएका स्रोत साधन, तथा उचपार सामग्रीहरुका साथै उपचार प्राप्त सेवाग्राहीहरुको समेत यथार्थ विवरण स्वास्थ्य मन्त्रालयको विपद् व्यवस्थापन महाशाखामा तथा काउन्सिलमा पेश गर्न समेत भनिएको छ ।
नेपालमा २०७२ सालको भूकम्प पछि पनि थुप्रै संघसंस्था मार्फत थुुप्रै विदेशी चिकित्सकहरु विभिन्न संघसंस्था मार्फत प्रभावितको उपचार गर्न आएका थिए । त्यसबेलामा पनि काउन्सिलले अस्थायी दर्ता अनिवार्य गरेको थियो ।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



