भोटेकोशी रसुवा बाढी प्रभावितका लागि नेपाल औषधी आयातकर्ता संघद्धारा तीन करोड बढी मूल्यको औषधी हस्तान्तरण

128
Shares

काठमाडौँ, १५ भदौ । भोटेकोशी रसुवा बाढी प्रभावितका लागि नेपाल औषधी आयातकर्ता संघ (मियान) ले ३ करोड बढी मूल्यको औषधी नेपाल सरकारलाई हस्तान्तरण गरेको छ ।

मियानले चार दिन अघि मात्रै बाढी पीडितलाई आवश्यक औषधीहरु उपलव्ध गराउने प्रतिवद्धता जनाएको थियो ।

मियानको अध्यक्ष पवन आचार्यको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले सोमबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतालाई औषधी हस्तान्तरण गरेको हो ।

सो अवसरमा मियान पदाधिकारी, सदस्य र प्रतिनिधिसंगै स्वास्थ्य सचिव डा विकास देवकोटा, स्वास्थ्य मन्त्रीका विज्ञ सल्लाहकार डा मनोहर प्रधान लगायतको उपस्थिति थियो ।

त्यसअघि मियानका सदस्यहरुले आज विहानदेखि बिजुलीबजारस्थित औषधी व्यवस्था विभागमा अत्यावश्यक औषधीहरु जम्मा गरेका थिए । सो औषधी आफ्ना पदाधिकारी तथा सदस्यहरुको उपस्थितिमा मियान अध्यक्ष आचार्यले औषधी व्यवस्था विभागका महानिर्देशक भरत भट्टराईलाई हस्तान्तरण गरेका थिए ।

त्यस लगत्तै उनीहरु सिंहदरबार पुगेर स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहतालाई बोदार्थ पत्र हस्तान्तरण गरेका हुन् ।

विजुलीबजारमा औषधी हस्तान्तरण समारोहमा विभागका महानिर्देशक भट्टराईले विपदको बेलामा सामाजिक उत्तरदायित्व सम्झेर आवश्यक औषधीहरु उपलव्ध गराएको मियान नेतृत्व र टिमलाई धन्यवाद व्यक्त गरेका थिए । उनले यी औषधीहरु स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा मार्फत बाढी प्रभावित क्षेत्रमा पुग्ने जानकारी दिएका थिए ।

मियानका अध्यक्ष पवन आचार्यले विपत्तीका बेला राज्यलाई सहयोग गर्नु आफूहरुको कर्तव्य भएको भन्दै सामाजिक उत्तरदायित्व अन्तर्गत ठूलो परिणाममा औषधीहरु उपलव्ध गराएको बताए ।

उनले भने, ‘अकल्पनीय बाढी आयो, धेरै ठूलो जनधनको क्षति भयो, यस्तो बेलामा आ आफ्नो क्षेत्रबाट सकेको सहयोग गर्नु पर्ने हुन्छ । हामी औषधी आयातकर्ताहरुले यो विपदको घढीमा राज्यको आग्रहसंगै आफ्नो कर्तव्य वोध तथा सामाजिक उत्तरदायित्व अनुसार अत्यावश्यक औषधीहरु उपलव्ध गराएका हौँ,’ आचार्यले सरकारले उपलव्ध गराएको सूची अनुसार आफूहरुले आवश्यक औषधी तीन करोड बढीको उपलव्ध गराएको भन्दै सहयोगका लागि थप औषधीहरु आई रहेको समेत जानकारी दिए ।

के के छन् औषधीहरु ?
नेपाल औषधी आयातकर्ता संघका महासचिव मधु पौडेलका अनुसार विभिन्न खोपहरु(कोलेरा भ्याक्सिन, एन्टीरेविज भ्याक्सिन, टिटानस भ्याक्सिन सहित थुप्रै अत्यावश्यक औषधीहरु उपलव्ध गराएको बताए ।

संघका अध्यक्ष आचार्यले बाढी प्रभावित घाइतेको उपचार तथा बाढी ग्रस्त क्षेत्रमा हुनसक्ने माहामारीजन्य जोखिमलाई लक्षित गरी स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आवश्यक औषधीको लिष्ट सार्वजनिक गरेको र निजी क्षेत्रसंग सहयोगका लागि समेत आव्हान गरेपछि त्यसैमा आधिरित रहेर औषधी उपलव्ध गराईएको बताए ।

उनले सिटामोल देखि एन्टीबायोटिक र खोप सम्म, मास्क देखि गजसम्म, सेनिटरी प्याड देखि लत्ता कपडासम्म उपलव्ध गराइएको बताए । उनले सरकारलाई आवश्यक पर्दा थप औषधीहरु पनि उपलव्ध गराउने प्रतिवद्धता व्यक्त गरे ।

सो अवसरमा विभागका बरिष्ठ औषधी व्यवस्थापक शिवानी खड्गी, मियानका उपाध्यक्ष पृथ्वीराज बैद्य, कोषाध्यक्ष सन्दीप खनाल, सदस्य डा अवुल हुसेन अन्सारी लगायतका पदाधिकारी, सदस्य तथा प्रतिनिधिहरुको सहभागिता थियो ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *