त्रिविसहित छ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त, को कहाँ ?
काठमाडौं, १६ भदौ । सरकारले त्रिभुवन विश्वविद्यालय (त्रिवि) सहित छ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त गरेको छ । प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति बालेन्द्र शाहले सम्बन्धित विश्वविद्यालयका उपकुलपतिको सिफारिसमा शिक्षाध्यक्ष र रजिस्ट्रार नियुक्त गरेका हुन् ।
जसअनुसार त्रिभुवन विश्वविद्यालयको शिक्षाध्यक्षमा प्राडा अञ्जना महर्जन सिंह र रजिस्ट्रारमा प्रा रवीन्द्र शिवाकोटी नियुक्त भएका छन् ।
शिवाकोटी त्रिविको शिक्षा शास्त्र संकायका प्राध्यापक छन् भने सिंह विज्ञान संकायकी प्राध्यापक छिन् ।
त्यस्तै, पूर्वाञ्चल विश्वविद्यालयको रजिस्ट्रारमा प्राडा पन्ना थापा, पोखरा विश्वविद्यालयको रजिस्ट्रारमा प्राडा निर्मला जमरकट्टेल र सुदूरपश्चिम विश्वविद्यालयको रजिस्ट्रारमा प्राडा तारादत्त भट्ट नियुक्त भएका छन् ।
मध्यपश्चिम विश्वविद्यालयको रजिस्ट्रारमा सहप्राध्यापक डा सुदिप ठकुरी तथा राजर्षि जनक विश्वविद्यालयको रजिस्ट्रारमा डा जीवन काफ्ले नियुक्त भएका छन् ।
नवनियुक्त शिक्षाध्यक्ष तथा रजिस्ट्रारहरूले आजै शिक्षा तथा खेलकुद मन्त्रालयमा आयोजित कार्यक्रममा पद तथा गोपनीयताको शपथ लिएका छन् ।
शपथ ग्रहण कार्यक्रममा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विश्वविद्यालय सुधार तथा सर्वाङ्गीण विकासका लागि टिमवर्क र प्रभावकारी समन्वयका साथ काम गर्न नवनियुक्त पदाधिकारीलाई निर्देशन दिए ।
उनले उच्च शिक्षा सुधारका लागि उपकुलपति, रजिस्ट्रारलगायत विश्वविद्यालयका पदाधिकारीबीच बलियो सहकार्य आवश्यक रहेको बताए ।
मन्त्री पोखरेलले विश्वविद्यालयलाई उत्कृष्ट र अनुसन्धानमुखी संस्थाका रूपमा विकास गर्न सबै जिम्मेवार भएर लाग्नुपर्नेमा जोड दिँदै मन्त्रालयबाट आवश्यक सहजीकरण गरिने प्रतिबद्धता व्यक्त गरे ।
शिक्षा मन्त्रालयका सचिव चुडामणि पौडेलले विश्वविद्यालयको रूपान्तरण र कामलाई परिणाममुखी बनाउन नवनियुक्त पदाधिकारीले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा विभिन्न विश्वविद्यालयका उपकुलपति, मन्त्रालयका उच्च अधिकारीलगायतको उपस्थिति थियो ।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



