‘डा. विकासलाई स्वास्थ्य सचिव बनाउने निर्णय बदर गरि पाउँ’ भन्दै डा. मिश्राद्धारा दायर रिट सर्बोच्चद्धारा खारेज
काठमाडौँ, १९ भदौ । डा. विकास देवकोटालाई स्वास्थ्य सचिवमा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय बदर गरी पाउँ भन्दै अतिरिक्त स्वास्थ्य सचिव डा. संगिता मिश्राले दायर गरेको रिट सर्बोच्च अदालतले खारेज गरिदिएको छ ।
डा. देवकोटालाई २१ फागुन २०८१ मा बसेको तत्कालीन सरकारको मन्त्रिपरिषद्को बैठकले सचिव पदमा बढुवा गर्ने निर्णय गरेको थियो ।
तत्कालीन समयमा सचिव प्रतिस्पर्धामा १२ औँ तहका डा. मिश्रा, डा. देवकोटा र डा. टंकप्रसाद बाराकोटीको नाम मन्त्रिपरिषद्मा पठाइएको थियो । तर त्यसबेलाको बैठकले डा. देवकोटालाई सचिव बनाउने निर्णय गरेको थियो ।
सो निर्णयको विरुद्धमा अतिरिक्त सचिव डा. मिश्राले आफूभन्दा कनिष्ठलाई सचिव पदमा बढुवा गरी आफूमाथि अन्याय गरेको भन्दै बढुवा सम्वन्धी निर्णय बदर गरि पाउँ भन्दै १ चैत २०८१ मा सर्बोच्चमा रिट दायर गरेकी थिईन ।
रिटमा उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरवार काठमाडौँ, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय रामशाहपथ काठमाडौँ, तत्कालीन स्वास्थ्य तथा जनसंख्या मन्त्री , नेपाल स्वास्थ्य सेवा ऐन २०५३ को दफा १९(१ ख) बमोजिम गठित बढुवा समिति, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिव पदमा नियुक्त भएका डा. विकास देबकोटालाई विपक्षी बनाएकी थिईन ।
गत १५ भदौमा परेको उनको रिटको ३३ औँ पटकको पेशी तारिकमा सर्बोच्चका न्यायाधीशद्धय अब्दुल अजिज मुसलमान र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले रिटको अन्तिम फैसला गर्दै रिट खारेजको निर्णय गरेको हो ।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



