आन्तरिक राजश्व विभागले पठाएको पत्र तीन बर्ष पछि भेटियो
काठमाडौँ, ११ बैशाख । सूर्तीजन्य पदार्थको बट्टा, प्याकेट तथा र्यापर्स ९० प्रतिशत चेतावनीमुलक सन्देश छाप्ने व्यवस्थाको कार्यान्वयन गर्न गराउन भन्दै तीन बर्ष अघि आन्तरिक राजश्व विभागले मातहतका कार्यालयलाई लेखेको चिठी आफैले गायब पारेको तथ्य खुलेको छ ।
विभागले ६ जेठ २०७२ मा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई बोधार्थ दिएर ठूला करदाता कार्यालय, आन्तरिक राजश्व कार्यालय सबै र करदाता सेवा कार्यलयहरु सबैलाई लेखेको चिठी आफैले गायब पारेको तथ्य खुलेको हो ।
सूर्तिजन्य पदार्थ नियन्त्रण नियमन ऐन २०६८ अनुसार संसोधित सूर्तीजन्य पदार्थको बट्टा, प्याकेट, रयापर्स, पेटी, तथा पार्सल, प्याकेजिङमा चेतावनीमूलक सन्देश र चित्र छाप्ने निर्देशिका २०७१ जेठ १, २०७२ बाट लागू गर्न भन्दै राजपत्रमा सूचना जारी भएको थियो ।
सो अनुसार कार्यान्वनय नआएपछि विभागले छ दिनपछि अर्थात जेठ ६, २०७२ मा पत्र लेख्दै संसोधित निर्देशिका बमोजिम कार्यान्वनय गर्नु गराउन मातहतका कार्यालयलाई आदेश दिएको थियो । सो पत्रको बोधार्थ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई समेत दिइएको छ । तर त्यो पत्र अहिलेसम्म न आन्तरिक राजश्व कार्यालयका जिम्मेबार कर्मचारीले भेटेको भने, न त स्वास्थ्य मन्त्रालयकै जिम्मेबार अधिकारीले पाएको बताए ।
नेपाली हेल्थलाई भर्खरै प्राप्त सो चिठीमा उतिबेलै देखि सूर्तीजन्य पदार्थको बट्टा, प्याकेट, र्यापर्स, पेटी, तथा पार्सल, प्याकेजिङमा चेतावनीमूलक सन्देश र चित्र छाप्ने निर्देशिका २०७१ कार्यान्वनय गर्नु गराउन ठूला करदाता कार्यालय, आन्तरिक राजश्व विभाग सबै र करदाता सेवा कार्यालयहरु सबैलाई आदेश दिइएको छ । सो निर्देशिका कार्यान्वनय गर्नु गराउनु भनेकै सूर्तिजन्य पदार्थको प्याकेटमा ९० प्रतिशत चित्र छाप्न लगाउनु भन्नु हो ।
तर सूर्ति उद्योगीहरुको मिलोमतोमा विभागकै कर्मचारीहरुले पत्र लुकाएपछि ९० प्रतिशत भागमा चित्र छाप्नुपर्ने सम्वन्धी सो संसोधित निर्देशिकाको पूर्ण कार्यान्वयन अहिलेसम्म हुन सकेको छैन ।
यतिसम्मकी राजश्व विभाग अन्तशुल्क महाशाखाबाट काटिएको सो पत्रमा आफ्ना मातहतका निकायलाई ‘नयाँ निर्देशिका स्वास्थ्य सेवा विभाग अन्तरगर्तको राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रको वेवसाइटको पोलिसी एण्ड डाइरेक्टिभ्समा हेर्न सकिने उल्लेख गर्दै सबै सूर्तीजन्य पदार्थ उत्पादन गर्ने उद्योगहरुलाई उक्त निर्देशिका पालना गर्नु गराउनहुन आदेश अनुसार अनुरोध छ,’ भनिएको छ ।
तर आदेश दिने विभाग अन्तरगर्तकै अन्तशुल्क महाशाखाबाट त्यसयता अहिलेसम्म मापदण्ड (९० प्रतिशत भागमा चेतावनीमुलक सन्देश) नभएका सूर्ती तथा चुरोटहरुमा धमाधम स्टिकर उपलव्ध गराइएको छ र बजार पठाउने व्यवस्था मिलाइएको छ । अरुलाई आदेश दिने विभागले आफै आदेश उल्लंघन गरेको छ ।
यसअघि सूर्तीजन्य पदार्थको प्याकेटमा ९० प्रतिशत चेतावीमुलक सन्देश राख्ने व्यवस्था कार्यान्वनयको सन्दर्भमा गरिएका धेरैपटकका अन्तरक्रिया तथा छलफलहरुमा विभागका जिम्मेबार अधिकारीहरुले मापदण्ड विपरितका चुरोटमा स्टीकर दिने कार्य रोक्न नसकिने बताउने गरेका थिए । उनीहरुले माथिको स्पष्ट आदेश नहुँदासम्म निर्देशन दिन नमिल्ने बताउँदै आएका थिए । उनीहरुको यो भनाइले पत्र भित्र भित्रै गायब गरिएको हो भन्ने अनुमानलाई थप बल पुरयाउँछ ।
स्वास्थ्यले पत्र पठाइ रह्यो आन्तरिक चुपचाप बसिरह्यो
सूर्तीजन्य पदार्थको प्याकेटमा ९० प्रतिशत चित्र छाप्ने नियम शुरुमै बनाई संसारमै पहिलो भएको नेपालले तीन बर्ष अघि नै एक लाख डरल को व्लुम्बर्ग फिलान्थ्रोपिक अन्तराष्ट्रिय अवार्ड हात पारेको थियो । तर नियमको कार्यान्वनय हुनै सकेन ।
राजपत्रबाट सूचना जारी भइसक्दा समेत सूर्ती उद्योगीले सो मापदण्ड नमान्ने र त्यसलाई आन्तरिक राजश्वले सघाउने गरेपछि स्वास्थ्य मन्त्रालय तथा स्वास्थ्य सेवा विभागले नियम कार्यान्वयनमा सघादिनु भन्दै अर्थ मन्त्रालय, आन्तरिक राजश्व विभाग, उद्योग मन्त्रालय, उद्योग विभाग, गृह मन्त्रालय आदिमा पटक पटक पत्र पठाएको थियो । तर ति निकायहरुले स्वास्थ्यको पत्रको कुनै सुनुवाई नै गरेनन् ।
बरु उद्योग मन्त्रालयले ९० प्रतिशत चेतावनीमुलक संन्देश राख्ने नयाँ व्यवस्था खारेज गर्न स्वास्थ्य मन्त्रालयलाई नै पत्र पठायो ।
यता पटक पटक भएका अन्तरक्रिया कार्यक्रममा राजश्व विभागका कर्मचारीहरु ९० प्रतिशत चित्र छाप्ने निर्देशिका कार्यान्वनयमा सघाउन राखिएको प्रस्तावलाई अर्थसंग जोडेर बाहानाबाजीमै टार्ने गर्दथे ।
राजश्व विभाले पठाएको यो पत्र सार्वजनिक भएपछि भने ९० प्रतिशत चित्र छाप्ने व्यवस्था कार्यान्वनय गराउन आन्तरिक राजश्व कार्यालय, करदाता सेवा कार्यालयहरु र ठूला करदाता कार्यालयहरु बाध्य हुने देखिएको छ ।
सूर्तीजन्य पदार्थ विरुद्धको अभियानमा सक्रिय संस्था एक्सन नेपालका अध्यक्ष आनन्द बहादुर चन्दले विभागको पत्र सार्वजनिक भइसकेको अवस्थामा अब त्यस मातहतका निकायहरु निर्देशिका कार्यान्वनयमा बाध्य हुनुपर्ने बताए । ‘अहिलेसम्म राजश्व विभागले केही निर्देशन दिएको छैन भन्ने नै थियो । तर उसले त उति बेलै स्पष्ट रुपमा नियम कार्यान्वनय गराउनु भनेको रहेछ । यस अर्थमा अव आन्तरिक राजश्व कार्यालय, करदाता सेवा कार्यालय, ठूला करदाता कार्यालयहरु आदि सबैले यो निर्देशिका कार्यान्वनय गराउनै पर्छ,’ उनले भने ।
९० प्रतिशत चित्र कार्यान्वनय गराउन स्वास्थ्यले यसरी पठाइरहेको थियो पत्र
यो पनि पढ्नुहोस्……………………
सुर्तीमा ९० प्रतिशत चित्र छाप्ने व्यवस्था मिलाउन स्वास्थ्यले माग्यो राजश्वको सहयोग
सूर्तिको नियम कार्यान्वनय गर्न स्वास्थ्यले माग्यो आन्तरिक राजश्वको सहयोग
स्वदेशी सुर्ती उद्योगी समक्ष किन निरीह बन्यो सरकार ?
सुर्तीजन्य पदार्थको प्याकेटमा ९० प्रतिशत चित्र : स्वास्थ्यको चिठी पछि अर्थले दियो राजश्वलाई निर्देशन