एउटा अप्रत्याशित अनुभव….

‘पाँच सेकेन्ड पनि नबित्दै मनमा शङ्का उब्जियो, ओहो ! कतै Facial Palsy त होइन ?’

0
Shares
– डा. मंगल रावल

अस्ति राति अचानक देब्रे आँखामा केही परेको जस्तो भयो। हल्का दुख्यो पनि। एउटा बैठकमा थिएँ। परेलाभित्र केही पसेजस्तो महसुस भयो। करिब १० मिनेटसम्म आँखा धोइरहेँ। त्यसपछि पनि निरन्तर आँखा झिम्क्याइरहनुपर्ने अवस्था भयो।

हिजो बिहान आँखा अलि रातो देखियो। दिउँसो कक्षामा थिएँ। अचानक देब्रे आँखा बन्द गर्न गाह्रो भएको महसुस भयो। रातोपन र पोल्ने समस्या पनि झन् बढ्दै गयो।

तत्कालै वरिष्ठ नेत्ररोग विशेषज्ञ भाइ डा.Pawan Mahat लाई फोन गरेँ। भाइले जाँच गर्नुभयो। आँखा सुक्खा भएको र रातोपन रहेको बताउनुभयो। औषधि लिएर घर फर्किएँ।

बेलुका यता क्रिकेट चलिरहेको थियो, उता खाना खाँदै थिएँ। अचानक मुखको देब्रेपट्टिको खाना जिब्रोले चलाउन नसक्ने भएँ। औँलाले खाना मिलाएर निल्नुपर्ने अवस्था आयो।

पाँच सेकेन्ड पनि नबित्दै मनमा शङ्का उब्जियो—ओहो! कतै Facial Palsy त होइन ?

सबैभन्दा पहिले दाइ Raju Paudel Drराजु पौडेलको याद आयो। एक मिनेटभित्रै फोन गरिहालेँ। दाइले अस्पतालमै भएको र तुरुन्तै आउन भन्नुभयो। बुवासँगै तत्काल राजु दाइलाई भेट्न हिँडेँ!

इमर्जेन्सीमा डा. श्रीराम श्रेष्ठले जाँच गर्नुभयो। तत्कालै राजु दाइ पनि आइपुग्नुभयो। आवश्यक जाँचसँगै MRI पनि गरियो। जीवनमा पहिलोपटक आफ्नै लागि MRI गराउँदै थिएँ। धन्न, रिपोर्ट सामान्य छ ! शङ्का गरेजस्तै Bell’s Palsy रहेछ। तत्कालै औषधि सुरु गरियो।

MRI सकेर मोबाइल हेर्दा सन्देशहरू ‘Congratulations’ ले भरिएका रहेछन्। एक्कासि के राम्रो भएछ भनेर एक जना साथीलाई बधाईको कारण सोधेँ। साथीले भन्नुभयो, “कर्णाली याक्सले जित्यो नि!”
हाहा!!
मैले त क्रिकेट खेल भइरहेको कुरा नै बिर्सिसकेको रहेछु। धन्यवाद भनेँ।

आफैँ चिकित्सक भएर पनि अचानक आफ्नै स्वास्थ्यमा यस्तो समस्या आइपर्दा मानिस कति असहज र अन्योलमा पर्न सक्छ भन्ने कुरा प्रत्यक्ष अनुभव गरेँ।

सामान्यजस्तो लाग्ने लक्षणलाई पनि समयमै पहिचान गर्नु र सही उपचार सुरु गर्नु कति महत्त्वपूर्ण छ !
आशा छ, म Bell’s Palsy माथि विजय प्राप्त गर्नेछु र कर्णाली याक्सले पनि NPL को उपाधि चाँडै जित्नेछ!
Keep me in your prayers!

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *