विश्वका उदीयमान क्यान्सर विशेषज्ञहरुको सूचीमा परे नेपालका दुई चिकित्सक

काठमाडौँ, १२ कात्तिक । युरोपियन सोसाइटी फर मेडिकल अंकोलोजी (ईएसएमओ) ले सन् २०२६ मा विश्वभरबाट छनोट गरेका २८ जना उदीयमान क्यान्सर विशेषज्ञहरुको सूचीमा नेपालका दुई चिकित्सक परेका छन्।
उक्त सूचीमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानकी डा. रजनी झा र विराट मेडिकल कलेज टिचिङ हस्पिटलका डा. विवेक घोष रहेका छन् । उनीहरुलाई ‘लिडरसिप एन्ड करियर डेभलपमेन्ट अवार्ड’ प्रदान गरिएको छ ।
गत २३ देखि २७ अक्टोबरसम्म स्पेनको म्याड्रिडमा चलेको ‘ईएसएमओ कंग्रेस-२०२६’ मा उनीहरूलाई सम्मान गरिएको हो ।
सम्मान पछि प्रतिक्रिया दिदै डा. झाले व्यक्तिगत रुपमा मात्रै नभई नेपाली चिकित्सा क्षेत्र र समग्र क्यान्सर उपचार सेवाका लागि पनि गौरवको विषय भएको बताईन ।
यता अर्का सम्मान प्राप्त चिकित्सक डा. घोषले ‘विश्वका अग्रणी क्यान्सर केन्द्रहरूका प्रतिभासँग प्रतिस्पर्धा गरेर क्यान्सरको बढ्दो भार, सीमित स्रोत र अनुसन्धानका कम अवसर भएको नेपाल जस्तो देशका दुई युवा चिकित्सकले यो मान्यता पाउनु हाम्रो स्वास्थ्य क्षेत्रका लागि ऐतिहासिक क्षण भएको बताए ।
यस्तो सम्मानले थप सिकाईका साथै अनुसन्धान विकास र अन्तर्राष्ट्रिय सहकार्यको अवसर प्राप्त हुने र स्थानीय तथ्याङ्कमा आधारित अध्ययन, प्रमाणमा आधारित उपचार र राष्ट्रिय क्यान्सर नियन्त्रण नीतिको सुधारमा लगाउनका लागि सहज हुने उनीहरुको धारणा थियो ।
को हुन् डा. झा र डा. घोष ?
हाल पाटन अस्पतालको अन्को विभागमा कार्यरत डा. झाले बंगलादेशको बंगबन्धु शेख मुजिब मेडिकल युनिभर्सिटी (बीएसएमएमयू) ढाकाबाट अंकोलोजी रेसिडेन्सी पूरा गरेकी हुन्। यस्तै उनी ईएसएमओबाट प्रमाणित मेडिकल अन्कोलोजिस्ट समेत हुन् । विश्वकै अग्रणी क्यान्सर उपचार केन्द्रहरूमध्येको एक मानिने एमडी एन्डरसन क्यान्सर सेन्टर अमेरिकाबाट ल्युकेमियासम्बन्धी विशेष तालिम प्राप्त गरेकी छन् ।
अर्का अंकोलोजिस्ट डा. घोषले भारतको नयाँ दिल्लीस्थित अल ईण्डिया मेडिकल इन्स्टिच्युट (एम्स) स्नातकोत्तर गरेका छन् । यस्तै क्यानाडाको क्यान्सरकेयर मनिटोबा तथा युनिभर्सिटी अफ मनिटोबाबाट एडभान्स्ड रेडिएसन अंकोलोजी फेलोसिप पूरा गरेका छन् । विदेशमा आर्जेको ज्ञानलाई स्वदेशमै प्रयोग गर्दै उनी पूर्वी नेपालमा गुणस्तरीय क्यान्सर उपचार विस्तार गर्न लागिपरेका छन्।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।





नेपाली हेल्थ 




