सुर्तीजन्य पदार्थको प्याकेटमा ९० प्रतिशत चित्र : स्वास्थ्यको चिठी पछि अर्थले दियो राजश्वलाई निर्देशन

IMG_20160714_144211

काठमाडौँ, ३१ असार – स्वास्थ्य मन्त्रालयले ९० प्रतिशत चेतावनीमुलक स्वास्थ्य सन्देश नभएका सुर्तीजन्य पदार्थको प्याकेटमा अन्तशुल्कको स्टीकर नलगाउने व्यवस्था गर्न अर्थ मन्त्रालयलाई आग्रह गरेको छ । सो आग्रह पछि अर्थले प्रभावकारी कार्यान्वनयको व्यवस्था मिलाउन आन्तरिक राजश्व विभागलाई निर्देशन दिएको छ ।

गतवर्ष १ जेठ देखि नै बजार आउने सबैखाले सुर्तीजन्य पदार्थको प्याकेटमा ९० प्रतिशत चित्रअंकित स्वास्थ्य सन्देश हुनुपर्ने कानूनी व्यवस्था भएपनि नेपाली सुर्ती उद्योगले त्यसको अटेरी गर्दै आएका छन् ।

उनीहरुको अटेरीलाई साथ पुग्ने गरि आन्तरिक राजश्व विभागले मापदण्ड विपरितका चुरोट तथा सुर्तीजन्य पदार्थमा स्टीकर अन्तशुल्क स्टिकर लगाउदै आएको थियो । स्वास्थ्यले आन्तरिक राजश्वको सोही कार्य आपत्तीजनक भएको भन्दै स्टिकर नलगाउने व्यवस्था गर्न अर्थलाई पत्र पठाएको हो । यद्धपी स्वास्थ्यले पनि पत्र झण्डै १३ महिना ढिलो गरि पठाएको हो ।गत २६ असारमा स्वास्थ्यले अर्थलाई पत्र लेखेको थियो भने अर्थले राजश्वलाई ३० असार अर्थात हिजो मात्रै चिठी काटेको छ ।

अर्थले राजश्वलाई पठाएको चिठीमा सुर्तीजन्य पदार्थको बट्टामा ९० प्रतिशत चित्र सहितको चेतावनीमुलक संकेत नभएको बस्तुमा अन्तशुल्क स्टिकर नलगाउने व्यवस्था गर्नु भन्दै स्वास्थ्य मन्त्रालयबाट चिठी आएको उल्लेख छ ।

IMG_20160714_152818

त्यस्तै चिठीमा सुर्तीजन्य पदार्थ ( नियन्त्रण तथा नियमन गर्ने) ऐन, २०६८ को दफा ९ को (१) र (२) को व्यवस्थाको प्रभावकारी कार्यान्वनयका लागि विभागसंग छलफल तथा परामर्स गर्न उपयुक्त भएको उल्लेख छ ।

ऐनको दफा ९ (१) मा सुर्तिजन्इ पदार्थको बट्टा, रयार्पस प्याकेट तथा पार्सलको प्याकेजिङ र टेबुलको बाहिरी कुल भागमध्ये कम्तिमा ७५ प्रतिशत भागमा सुर्तीजन्य पदार्थ स्वास्थ्यलाई हानीकारक छ भन्ने व्यहोराको मन्त्रालयले तोकेबमोजिम चेतावनीमुलक सन्देश र सो पदार्थको सेवनको असरबाट घातक रंगिन चित्र प्रष्ठ रुपमा बुझिने गरी नेपाली भाषामा छाप्नुपर्ने उल्लेख छ ।

त्यस्तै दफा ९ (२)मा मन्त्रालयले चेतावनीमुलक सन्देश तथा संकेत चिन्ह समय समयमा थप गर्न सक्नेछ भन्ने व्यवस्था छ । सोही व्यवस्था अनुसार सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन गर्ने निर्देशिका २०७१ र सुर्तीजन्य पदार्थका बट्टा प्याकेट, रयापर्स,पेटी तथा पार्सल प्याकेजिङमा चेतावनीमुलक सन्देश र चित्र छाप्ने तथा अंकित गर्ने निर्देशिका २०७१ जारी गर्दै चेतावनीमुलक सन्देश ७५ प्रतिशतबाट बढाएर ९० प्रतिशत पुरयाउने निर्णय गरेको थियो ।

सो निर्देशिका अनुसार अघिल्लो बर्ष १ जेठ देखि बजार पठाइने सबै खाले सुर्तीजन्य पदार्थको प्याकेटमा ९० प्रतिशत चित्रअंकित सन्देश हुनुपर्ने व्यवस्था गरेको थियो । तर १३ महिना वितिसक्दा समेत स्वदेशी सुर्ती उद्योगले सो नियमको अटेरी गर्दै आएका छन् ।

अर्थमन्त्रालयका नीति विश्लेषण महाशाखाका सहसचिव कृष्णप्रसाद देवकोटाले सुर्तीजन्य पदार्थ नियन्त्रणका लागि सरकारले बनाएका कानूनको पालना सम्वन्धीत उद्योगले गर्नुपर्छ र सरकारी निकाय कार्यान्वनय गराउन लागि पर्नुपर्ने बताए । उनले भने , ‘सोही अनुरुप ढिलै भएपनि पत्र काटेको छ अव यसको टुंगो लाग्छ ।’

स्वास्थ्य मन्त्रालयका उपसचिव खिमानन्द भुसालले कानुनको पालना होला भन्दै बस्दा बस्दै लामोसमय सम्म नभएपछि र मापदण्ड विपरितका सुर्तीका प्याकेटमा अन्तशुल्क स्टिकर लगाउने क्रम नरोकिएपछि बाध्यभएर चिठी लेखेको बताए । उनले यसको सकारात्मक सम्वोधन हुनेमा पनि आफू विस्वस्त रहेको बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

One thought on “सुर्तीजन्य पदार्थको प्याकेटमा ९० प्रतिशत चित्र : स्वास्थ्यको चिठी पछि अर्थले दियो राजश्वलाई निर्देशन

Leave a Reply

Your email address will not be published. Required fields are marked *