क्यान्सर औषधिको कच्चा पदार्थमा जाइडिन बायोटेकले पायो जिएमपी

0
Shares

काठमाडौं, १४ कात्तिक। क्यान्सर औषधिको कच्चा पदार्थ उत्पादन थालेको जाइडिन बायोटेक लिमिटेडले आफ्नो सक्रिय औषधीय कच्चा पदार्थ (एपीआई) उत्पादन इकाइका लागि असल उत्पादन अभ्यास सम्बन्धी (जिएमपी) प्रमाणपत्र प्राप्त गरेको छ।

चितवनको भरतपुर महानगरपालिका–१६, शरणपुरस्थित कम्पनीले नेपाली जडीबुटी लौठसल्लोबाट क्यान्सर औषधिको कच्चा पदार्थ उत्पादन गरी भारतमा समेत निर्यात गर्दै आएको छ। जाइडिन क्यान्सर औषधिको कच्चा पदार्थ उत्पादन गर्ने नेपालकै पहिलो कम्पनी हो ।

कम्पनीलाई औषधि व्यवस्था विभागले गत अगस्ट २५ र २६ मा गरेको निरीक्षणका आधारमा प्रमाणपत्र जारी गरेको हो। यसको म्याद सन् २०२८ अक्टोबर ८ सम्म रहेको छ।

प्रमाणपत्रमा सक्रिय औषधीय कच्चा पदार्थअन्तर्गत ‘साइटोटक्सिक्स’ वर्ग समेटिएको छ। यसको कार्यक्षेत्रमा उत्पादन, शुद्धीकरण, प्याकिङ, लेबलिङ, गुणस्तर परीक्षण तथा गुणस्तर सुनिश्चिततासम्बन्धी गतिविधि उल्लेख छन्।

औषधिमा रोगविरुद्ध काम गर्ने मुख्य सक्रिय तत्त्वलाई एपीआई भनिन्छ। कम्पनीले क्यान्सर उपचारमा प्रयोग हुने औषधिका यस्ता कच्चा पदार्थ उत्पादनमा ध्यान केन्द्रित गरेको जनाएको छ।

जाइडिनका संस्थापक अध्यक्ष जी नारायणबहादुर क्षेत्री जिएमपी प्रमाणपत्र प्राप्तिलाई नेपालको औषधि उत्पादन क्षेत्रमा आत्मनिर्भरता बढाउने दिशाको महत्त्वपूर्ण उपलब्धि भएको बताउँछन् ।

उनी भन्छन्, ‘स्वदेशमै कच्चा पदार्थ उत्पादन गर्ने क्षमता विस्तारले आयातमाथिको निर्भरता घटाउन र औषधिको आपूर्ति प्रणाली बलियो बनाउन योगदान पुग्ने छ ।’

उनले अहिले कच्चा पदार्थ उत्पादन सुरु गरेको कम्पनीले क्यान्सरविरुद्धको औषधीको फर्मुलेसन (तयारी औषधी)मा समेत काम गर्ने गरी तयारी अघि बढाएको बताए । ‘त्यसका लागि छुट्टै कन्स्ट्रक्सन आवश्यक छ, हामीले त्यसमा काम गरिरहेका छौँ । निकट भविस्यमै हामी फर्मुलेसनमा पनि प्रवेश गर्दैछौँ,’ उनले भने ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *