महाकाली अस्पतालमा डायलासिस सेवा सञ्चालनको तयारी

महेन्द्रनगर, १८ चैत । कञ्चनपुरको महाकाली प्रादेशिक अस्पतालमा डायलाइसिस सेवा सञ्चालनको तयारी भइरहेको छ।
अस्पताल प्रशासनले डायलाइसिस सेवा सञ्चालनका लागि भौतिक संरचना र जनशक्ति तयारी अवस्थामा राखेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णानन्द भट्टले बताए।
“स्वास्थ्य सेवा विभागका निर्देशक लगायतको टीमले अनुगमन गरेको छ”, अध्यक्ष भट्टले भने, “अर्को हप्तादेखि सेवा सञ्चालन गर्ने गरी तयारीमा लागेका छौ। उनले डायलासिस सेवाका लागि आवश्यक जनशक्ति माग गरेर अहिले तालिम गरिरहेको बताए।
यसअघि बजेट अभाव र स्वास्थ्य सेवा विभागले डायलाइसिस सञ्चालनको अनुमति नदिँदा सेवा सञ्चालन हुन सकेको थिएन। “करिब रु एक करोडको लागतमा मेसिन खरिद गरेर अस्पतालमा तयारी अवस्थामा छ”, उनले भने, “तत्काललाई दुई चरणमा सेवा सञ्चालन गर्ने गरी तयारीमा लागेका छौ।”
महाकाली प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट अर्जुन भट्टले अस्पतालमा सेवा सञ्चालनको तयारी भइरहेको बताए। “सङ्घीय सरकारबाट आएको बजेट कटौती पनि भयो विभागबाट अनुमति पाउन समेत ढिलाइ भयो”, डा भट्टले भने, “अहिले प्रदेश सरकारको पनि सहयोग मिलेको छ सेवा छिट्टै सुरु हुन्छ।”
महाकाली अस्पतालमा डायलाइसिस सेवा नहुँदा समस्या झेल्नुपरेको यहाँका सेवाग्राहीको गुनासो छ। “धनगढीको सेती अस्पतालमा मात्रै डायलाइसिस हुन्छ त्यहा बिरामीको चापले पालो पाउनै मुस्किल पर्छ”, स्थानीय गोपाल जोशीले भने, “हामीले बाध्य भएर उपचारका लागि भारत जानुपर्छ।” उनले महाकाली अस्पतालमा सेवा पाए यहाँका थुप्रै बिरामीलाई सहज हुने बताए। रासस
सम्पर्क इमेल : nepalihealthnews@gmail.com




नेपाली हेल्थ 




