लुम्बिनी मेडिकल कलेज पाल्पामा पुन: स्वास्थ्य बीमा कार्यक्रम सुरु हुँदै

स्वास्थ्य बीमा बोर्डको नयाँ नेतृत्व र बोल्ड निर्णय

काठमाडौँ, ७ माघ । लुम्बिनी मेडिकल कलेज शिक्षण अस्पताल पाल्पामा स्वास्थ्य बीमा कार्यक्रम पुन: सञ्चालनमा आएको छ । स्वास्थ्य बीमा बोर्डले आज युजर आईडी र क्लेम कोड उपलव्ध गराएपछि सो अस्पतालमा बीमा कार्यक्रम पुन: प्रारम्भ भएको हो ।

‘गत २९ पुसको निर्णय अनुसार सबै प्रक्रिया पुरा गरेपछि आज हामीले ‘युजर नेम’ र ‘क्लेम कोड’ उपलव्ध गरायौँ । अब सो अस्पताल पनि स्वास्थ्य बीमा बोर्डको सेवा प्रदायक स्वास्थ्य संस्थाको रुपमा सूचीकृत भएको छ । अब त्यस क्षेत्रका बीमितहरुले उपचार सुविधा त्यस अस्पतालबाट लिन सक्नुहुनेछ,’ स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले भने ।

लुम्बिनी मेडिकल कलेज शिक्षण अस्पतालका मेडिकल डाइरेक्टर डा राजु शाक्यले सोमबार (भोली)बाट बीमितहरुको सेवा प्रारम्भ हुने बताए । ‘हामीले आज दिउसो मात्रै युरन नेम पासवर्ड र क्लेम कोड प्राप्त गरेम । यो पटक को पेमेन्ट सिस्टम पनि छ । त्यसैले हामी त्यसमा युज टू पनि हुनु परयो । डेमो पनि गर्नु परयो भनेर । त्यसको सबे तयारी गर्दा गर्दै आज ढिला भयो । भोलि (सोमबार)बाट वीमा कार्यक्रम सञ्चालनमा आउने छ,’ उनले भने ।

डा. शाक्यले पाल्पा अस्पतालमा सातामा तीन दिन तीन जना विशेषज्ञ चिकित्सक पठाउने समेत बताए ।

‘हामीले सम्झौँता गरेका छौँ । सोही अनुसार हाम्रा चिकित्सक त्यहाँ गएर सेवा दिनुहुनेछ,’ डा. शाक्यले भने ।

आर्थिक बर्ष ०७९ /०८० को बजेट बक्तव्यमा स्वास्थ्य बीमा कार्यक्रम १ साउन २०७९ देखि सरकारी तथा सामुदायिक स्वास्थ्य संस्थाबाट मात्रै उपलव्ध गराउने कुरा आएपछि लुम्बिनी मेडिकल कलेजले ३ साउनमा विज्ञप्ती जारी गर्दै ४ साउन २०७९ देखि बीमा कार्यक्रम स्थगित गर्ने निर्णय भएको जनाएको थियो । त्यसपछि बोर्डले पनि सो मेडिकल कलेजलाई ‘डिलिस्टिङ’ गरेको थियो ।

स्वास्थ्य बीमा कार्यक्रम स्थगन गरेपछि मेडिकल कलेजलाई बिरामीको हाहाकार जस्तै भएको थियो । त्यसपछि कलेज सञ्चालकहरुले पुन: स्वास्थ्य बीमा कार्यक्रममा आवद्धता जनाउने व्यवस्था मिलाइदिन केन्द्र सरकारसंग धाइरहेका थिए ।

‘स्वास्थ्य बीमामा आवद्धता हुनेहरुको प्रतिशत हेर्दा ७७ जिल्लामै पहिलो थियो पाल्पा । तर लुम्बिनी मेडिकल कलेज र पछि युनाइटेड मिसन अस्पतालले समेत स्वास्थ्य बीमा कार्यक्रम स्थगन गरेपछि बीमितहरु समस्यामा परेका थिए । लुम्बिनीमा सेवा सुचारु हुँदा स्थानीय बासीलाई ठूलो राहत पुगेको छ । अब मिसन अस्पतालमा पनि पहिले झै बीमा कार्यक्रम लागू गर्नुपर्छ,’ एक जना सेवाग्राही शालिकराम शर्माले भने ।

लुम्बिनीले पाल्पा अस्पतालमा विशेषज्ञ सेवा उपलव्ध गराउने

पहिले पाल्पा अस्पतालको काम बिरामीहरुलाई लुम्बिनी मेडिकल कलेज तथा मिसन अस्पताल पठाउन ‘रिफर लेटर’ बनाउने मात्रै हो जस्तै थियो । तर, अब भने त्यसो गर्न नपाइने भएको छ ।

बीमा बोर्डसंग लुम्बिनीले साताको तीन दिन तीन जनाको दरले विशेषज्ञ चिकित्सक पठाउने सम्झौता गरेको छ । विशेषज्ञ सहित जिल्ला अस्पतालले दिने सेवा नभएको अवस्थामा मात्रै त्यस्ता बिरामीलाई लुम्बिनीमा रिफर गरिनेछ ।

‘अब पाल्पा अस्पतालमा नभएका सेवा, रामपुर अस्पतालमा नभएका सेवाहरुको हकमा मात्रै लुम्बिनी मेडिकल कलेजमा गएर बीमितले सेवा लिन सक्छन् । जिल्ला अस्पतालमा नै सेवा छ भने मेडिकल कलेजमा रिफर गर्न मिल्दैन,’ डा बसौलाले भने ।

लुम्बिनीले सोमबार, बुधबार र शुक्रबार गरी सातामा तीन दिने तीन जनाको दरले विशेषज्ञ चिकित्सक पाल्पा अस्पताल (सरकारी)मा पठाउने तयारी गरेको छ ।

कुन कुन विधाका विशेषज्ञ भन्ने विषयमा अस्पताल र मेडिकल कलेजले आवश्यकताका आधारमा उपलव्ध गराउने छन् ।

सेवा पुन: सञ्चालनका लागि सांसदहरुको दवाव निरन्तर

जिल्लाका दुई ठूला अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम रोकिएपछि पाल्पालीहरुको उपचार सुविधामा निकै अफ्टेरो परेको थियो । सो अफ्टेरो फुकाउन जिल्लाका दुई जना सांसद ठाकुर गैरे र नारायण आचार्य सम्वन्धित निकायमा पुगेर निरन्तर छलफल र दवाव सिर्जना गरेका थिए ।
‘बीमा बोर्डका पुराना पदाधिकारीहरुसंग पटक पटक छलफल गरियो, स्वास्थ्य मन्त्रीको ध्यानाकर्षण गराईयो । नभएपछि संसदमा समेत आवाज उठाइयो । अन्तत बोर्डमा नयाँ पदाधिकारीहरु आइसकेपछि सफल भइयो,’ पाल्पा क्षेत्र नं २ का सांसद ठाकुर गैरेले भने । उनले जनतालाई कसरी सहज सेवा दिने भन्नेमा सोच्नु पर्नेमा सरकार उल्टो सोचबाट अघि बढ्दा पाल्पालीहरुले स्वास्थ्य बीमामा आवद्ध भएर पनि लामो समय दुख पाएको बताए ।

यस्तै अर्का सांसद नारायण आचार्यले बीमा कार्यक्रम पुन सूचारु हुँदा बीमितहरुलाई राहत भएको भन्दै खुशी व्यक्त गरे । उनले सरकारी अस्पतालमा पनि सेवा हुने र मेडिकल कलेजमा पनि सेवा सुरु हुँदा बीमितहरुका लागि अब बुटवल काठमाडौँ पुगि हाल्नु नपर्ने बताए । उनले लामो समय पुन सुरु भएकोले सेवा प्रदायकले पूर्ण सेवा उपलव्ध गराउनेमा आफू विस्वस्त भएको बताए ।

स्वास्थ्य बीमा बोर्डको नयाँ नेतृत्व र बोल्ड निर्णय

सुरुमा निजी मेडिकल कलेजहरुले उपचार गरेवापतको सोधभर्ना समयमै नपाएको भन्दै स्वास्थ्य बीमा बोर्डसंग असन्तुष्ठ भएका थिए । त्यहि मेसोमा सरकारले स्वास्थ्य बीमा कार्यक्रम सरकारी तथा सामुदायिक अस्पतालमा मात्रै सञ्चालन गर्ने भन्दै बजेट ल्यायो । यसपछि निजी मेडिकल कलेजहरुले एकाएक सूचना जारी गर्दै स्वास्थ्य बीमा कार्यक्रमबाट अलग भएको घोषणा गरे । बोर्डले पनि अलग भएकाहरुलाई डिलिस्टिङ गरिदियो । तर केही समय पछि ती स्वास्थ्य संस्थामा बिरामी नै जान छाडे ।

पाल्पाको लुम्बिनी मेडिकल कलेज पनि सोही समस्याबाट गुज्रियो ।

एमबीबीएस तथा त्यस भन्दा माथिल्ला तहका समेत पढाई हुने सो मेडिकल कलेजमा बिरामी आउन छाडेपछि सञ्चालकहरु पुन स्वास्थ्य बीमा सूचारु गरिदिनु भन्दै मन्त्रालय र बोर्डमा धाइरहेका थिए । तर मन्त्रालयले उनीहरुको कुरा सुन्ने पक्षमा थिएन ।

त्यसबेलाको बोर्ड पनि सरकारको आदेश नभईकन निजी स्वास्थ्य संस्थालाई स्वास्थ्य बीमा कार्यक्रम सूचीकृत हुने अवस्थामा थिएन ।

तर जब बोर्डको नेतृत्वमा डा गुणराज लोहनी आए त्यसपछि परिस्थिति अलग भयो ।

उनले स्वास्थ्य बीमा ऐन अनुसार आवश्यकताको आधारमा निजी मेडिकल कलेज तथा अस्पतालहरुबाट पनि स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन हुने भन्दै गत २९ पुसमा निर्णय नै गरिदिए ।

यसअघि स्वास्थ्य बीमा कार्यक्रममा निजी स्वास्थ्य संस्थालाई कुनै हालतमा नछिराउने अड्डी कसेर बसेका स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतलाई २९ पुसको बोर्ड बैठकको निर्णय ठूलो झापड जस्तै भयो ।

उनले तत्काल बोर्ड अध्यक्ष डा. लोहनी समक्ष खबर पठाएर लुम्बिनी मेडिकल कलेजको विषयमा भएको निर्णय खारेज गर्न आदेश दिए । तर डा. लोहनीले उनको कुरालाई वेवास्ता गरिदिए ।

उनले मन्त्री बस्नेतलाई आफ्ना सदस्य डा. मुक्तिराम श्रेष्ठमार्फत निर्णयबाट व्याक हुन नसक्ने जवाफ दिए ।

डा श्रेष्ठले पनि स्वास्थ्य बीमा ऐनमा भएको व्यवस्था, लुम्बिनीलाई सूचीकृत गर्नु पर्ने कारण र बोर्डको निर्णयका बारेमा मन्त्रीलाई विस्तृत रुपमा जानकारी गराएर  फर्किए ।

त्यस लगत्तै बोर्डको जिल्ला शाखाले मेडिकल कलेजसंग सम्झौता गरेको थियो । सबै प्रक्रिया पुरा भएपछि बोर्डले आज युजर नेम पासवर्ड र क्लेम कोड उपलव्ध गराएको छ । अस्पतालले भोलिबाट स्वास्थ्य बीमा कार्यक्रम सुरु हुने जनाएको छ ।

यी समाचार पनि हेर्नुहोस् :

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *