लुम्बिनी मेडिकल कलेज पाल्पामा पुन: स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन हुँदै, बोर्ड र मेडिकल कलेजबीच भयो सम्झौँता

काठमाडौँ, ६ माघ । पाल्पास्थित लुम्बिनी मेडिकल कलेजमा अबको एक दुई दिन भित्रमै स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनमा आउने भएको छ ।

स्वास्थ्य बीमा कार्यक्रम पुन: सञ्चालन गर्न गत शुक्रबार बोर्डर्का पाल्पा संयोजक अजुर्न पौडेल र मेडिकल कलेजका तर्फबाट अध्यक्ष गोपालबहादुर पोखरेलबीच सम्झौँता भएको छ । अब बीमा बोर्डको केन्द्रबाट ‘युजर आइडी’ र ‘क्लेम कोड’ अस्पताललाई उपलव्ध गराएपछि बीमा कार्यक्रम सञ्चालनमा आउने छ ।

आर्थिक बर्ष ०७९ /०८० को बजेट बक्तव्यमा स्वास्थ्य बीमा कार्यक्रम १ साउन २०७९ देखि सरकारी तथा सामुदायिक स्वास्थ्य संस्थाबाट मात्रै उपलव्ध गराउने कुरा आएपछि लुम्बिनी मेडिकल कलेजले ३ साउनमा विज्ञप्ती जारी गर्दै ४ साउन २०७९ देखि बीमा कार्यक्रम स्थगित गर्ने निर्णय भएको जनाएको थियो । त्यसपछि बोर्डले पनि सो मेडिकल कलेजलाई ‘डिलिस्टिङ’ गरेको थियो ।

‘गत २९ पुसको बोर्ड बैठक निर्णय अनुसार निर्णय सम्झौँता प्रक्रिया अघि बढेको हो । र यसपटक हामीले प्रदेश तथा जिल्लाका प्रतिनिधिहरुलाई सम्झौँता गर्ने अधिकार दियौँ । त्यसअघि स्थलगत अनुगमन गरी प्रतिवेदन पठाउन भन्यौँ । त्यो आएपछि सकभर छिटै कार्यक्रम सञ्चालन गर्न मिल्ने गरी युजर आईडी र क्लेम कोड पठाउँछौँ,’ बोर्डका कार्यकारी निर्देशक डा दामोदर बसौलाले भने ।

यता बोर्डका लुम्बिनी प्रदेश संयोजक जनकबहादुर साउदले विहीबार र शुक्रबार गरी अनुगमन तथा सम्झौँताको प्रक्रिया पुरा गरेको बताए ।

‘म आफै पनि उपस्थित थिएँ । अनुगमन गरेर प्रतिवेदन पठाइसकेको अवस्था छ । अब केन्द्रको बोर्डले आवश्यक प्रक्रिया पुरा गरी युजर आइडी र क्लेम कोड पठाउन बाँकी छ । सम्भवत आइतबार (भोली) यो प्रक्रिया पुरा हुन सक्छ । त्यसपछि लुम्बिनीमा रिफर भएर आउने बिरामीले स्वास्थ्य बीमाबाट उपचार सुविधा पाउँछन्’ साउदले भने ।

स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा गुणराज लोहनीले शुक्रबार सम्झौँता सम्पन्न भइसकेको र अरु प्रशासनिक काम समेत अघि बढिसकेको अवस्थामा आइतबारबाटै त्यहाँ स्वास्थ्य बीमा कार्यक्रम पुन: सञ्चालनमा आउन सक्ने बताए । सम्भवत भोली ‘क्लेम कोड’ तथा ‘युजर आइडी’ जान्छ । त्यसपछि त सुचारु नै हुने भयो । हामीले भन्न त त्यहाँ १ माघ देखि सुरु गर्ने भनेका थियौँ तर एक साता पछि हुने भयो,’ उनले भने ।

पाल्पा अस्पताललाई साताको तीन दिन तीन जना विशेषज्ञ चिकित्सक पठाउँदै मेडिकल कलेज

यसैबीच स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्ने लुम्बिनी मेडिकल कलेजले अब हरेक हप्ताको तीन दिन तीन जिल्ला अस्पताल पाल्पा आफ्ना तीन विशेषज्ञलाई उपचार सेवामा सहयोग गर्न पठाउने छ । गत २९ पुसको बोर्डको निर्णय अनुसार अब लुम्बिनी मेडिकल कलेजले पाल्पा अस्पतालमा सोमबार, बुधबार र शुक्रबार विशेषज्ञ ओपिडी सेवा उपलव्ध गराउने छ ।

त्यसमा कुन रोगको विशेषज्ञ ? विशेषज्ञलाई उपलव्ध गराउने स्थान र बिरामीको व्यवस्थापन जिल्ला अस्पताल पाल्पाले गर्नेछ ।

‘यो सम्वन्धी सेवाका विषयमा पनि हामीले हिजो सम्झौँता गरयौँ । प्रथम पक्ष बोर्डका तर्फबाट अर्जुन पौडेल र दोस्रो पक्ष कलेजका तर्फबाट डा पोखरेलले सम्झौँतामा हस्ताक्षर गर्नु भयो । त्यस्तै प्रथम पक्षका तर्फबाट जिल्ला अस्पतालका प्रमुख डा राजेन्द्रबहादुर जिसी र दोस्रो पक्षबाट कम्पनी सचिव कृष्णप्रसाद पराजुलीले पनि सम्झौँता पत्रमा हस्ताक्षर गर्नु भएको छ,’ बोर्डका प्रदेश संयोजक साउदले भने ।

बोर्डका कार्यकारी निर्देशक डा. बसौलाले यो नयाँ प्रावधानले जिल्ला अस्पतालमा विशेषज्ञ सेवा उपलव्ध हुने र आवश्यक परेको खण्डमा विशेषज्ञ चिकित्सकले मेडिकल कलेजमा केस रिफर गर्ने बताए । यसले जिल्ला अस्पतालको जनशक्तिमा देखिएको ग्यापलाई थोरै भए पनि हल गर्ने बताए ।

त्यसो त गत १ माघ देखि वीमितहरुले पनि उपचार गर्दा लाग्ने खर्चको १० प्रतिशत तिर्नु पर्ने व्यवस्था गरेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *