पाल्पाका दुई ठूला अस्पतालमा स्वास्थ्य बीमा पुन: सुचारु गर्न जनप्रतिनिधिद्धारा बीमा बोर्डको ध्यानाकर्षण

बोर्डका अध्यक्ष डा. लोहनी भन्छन्, 'पाल्पाली जनताले छिटै नै सकारात्मक खबर पाउनु हुनेछ'

काठमाडौँ, १६ पुस । स्वास्थ्य बीमा बोर्डको गत साता बसेको बैठकले आफ्ना कर्मचारीहरुलाई आगामी तीन महिना भित्र आफ्नो कार्यक्षेत्रका थप २५ प्रतिशत जनतालाई स्वास्थ्य बीमामा आवद्ध गर्ने टार्गेट दिएको छ । तर, पाल्पामा भने बीमा गरेका व्यक्तिहरुलाई उपचार सुविधा लिन सास्ती भइरहेको छ ।

जिल्लाका दुई ठूला अस्पतालहरु लुम्बिनी मेडिकल कलेज र युनाइटेड मिसन अस्पतालमा बीमा कार्यक्रम रोकिदा पाल्पाका बीमितहरुले दुख पाएका हुन् । जिल्लाका दर्ता सहयोगीहरुले ठूला अस्पतालमा बीमा सुविधा नहुँदा नयाँ सदस्यताको आवद्धता र पुरानो सदस्यको नबीकरण गर्न नै समस्या भएको गुनासो गरेका छन् ।

सोमबार (आज)  यही विषय लिएर पाल्पाका जनप्रतिनिधिद्धय ठाकुर गैरे र नारायणप्रसाद आचार्यले आज स्वास्थ्य बीमा बोर्डका अध्यक्ष तथा कार्यकारी निर्देशकलाई भेटी पाल्पाको अवस्थाको बारेमा ध्यानाकर्षण गराएका छन् । उनीहरुले रोकिएका दुई ठूला अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम पुन: सूचारु गर्न बोर्डका पदाधिकारीहरुको ध्यानाकर्षण गराएका हुन् ।

स्वास्थ्य बीमा कार्यक्रमको सुरुवाती चरणमै समेटिएको पाल्पा कुनै बेला बीमामा आवद्धता हुनेहरुमा समेत प्रथम थियो । तर अहिले त्यहाँका जनताले बीमा गरेर पनि उपचार सुविधा पाउन सकेका छैनन् । जिल्लामा रहेका दुई ठूला अस्पतालहरु लुम्बिनी मेडिकल कलेज र मिसन अस्पतालमा बीमा कार्यक्रम रोकिदा जनताको सुविधा रोकिएको हो । त्यसैलाई पुन: सूचारु गर्न बोर्डका पदाधिकारीहरुलाई भेटेर ध्यानाकर्षण गराएका हौँ,’ संघीय सांसद ठाकुर गैरेले भने ।

उनले आफूहरुको कुरामा बोर्डका बर्तमान नेतृत्व सकारात्मक भएको समेत बताए ।

अर्का सांसद नारायणप्रसाद आचार्यले राज्यको नीति सबैलाई बीमाको दायरामा ल्याउने भन्ने तर जिल्लाका ठूला अस्पतालमा बीमा कार्यक्रम रोकिदा नीति अनुसार तालमेल नमिलेको भन्दै बोर्डको ध्यानाकर्षण गराएको बताए । उनले पनि बोर्डको नेतृत्वले छिटै नै सकारात्मक नतिजा आउने आश्वासन दिएको सुनाए ।

हुन पनि बीमा रोकिएका पाल्पाका दुई ठूला अस्पताल बाहेक जिल्लाको सरकारी पाल्पा अस्पताल र रामपुर अस्पतालमा बीमा कार्यक्रम चलेको छ । तर ती अस्पतालमा जनशक्ति तथा उपकरण अभावमा उपचार सुविधा लिन पाएका छैनन् ।

पाल्पा अस्पताल भनेको रिफर गर्नमै व्यस्त हुनुपर्छ । किनभने उसले भार थेग्न सक्ने आवश्यक जनशक्ति पनि छैन, उपकरण र सेवा पनि छैन । त्यसैले बीमितहरु त्यहाँबाट रिफर बनाएर बुटवल, चितवन र काठमाडौँ जानुपर्ने बाध्यता छ ।

सांसदहरुको ध्यानाकर्षण पछि बोर्डका अध्यक्ष डा गुणराज लोहनीले पाल्पाको विषयमा आफू जानकार रहेको भन्दै छिटै नै सरकात्मक नतिजा आउने आश्वासन दिए । ‘दुई चार दिन भित्रैमा हाम्रो टोली स्थलगत अनुगमनका लागि जाँदैछ । त्यहाँ नमिलेका कुराहरु सल्टाएर रोकिएका अस्पतालहरुमा पुन: बीमा सुरु गर्ने विषयमा पहल हुनेछ,’ उनले भने ।

डा. लोहनीले मिलेसम्म दुईवटै अस्पताल र नमिले कम्तीमा एक ठूला अस्पतालमा स्वास्थ्य बीमा सुचारु हुने बताए ।

बोर्डका कार्यकारी निर्देशक डा दामोदर बसौलाले पाल्पामा ठूला अस्पतालले बीमा रोक्दा जनतालाई सास्ती भएको आफूले थाहा पाएको र यसलाई पुन सच्याउन आफूले आवश्यक कदम अघि बढाएको बताए । उनले छिटैनै पाल्पाका बीमितहरुले जिल्लाका ठूला अस्पतालबाट सेवा पाउने बताए ।

अघिल्लो बर्ष सरकारको बजेट भाषण पछि विज्ञप्ती जारी गर्दै स्वास्थ्य बीमा रोकेको लुम्बिनी मेडिकल कलेज पछिल्लो पटक स्वास्थ्य बीमा कार्यक्रम पुन सुचारु गर्न पाउँ भन्दै संघीय मन्त्रालयहरुमा धाईरहेको छ । यता समयमै सोधभर्ना नभएको भन्दै केही महिना अघि देखि बीमा कार्यक्रम रोकेको मिसन अस्पतालले पनि बातावरण मिलेमा वीमा कार्यक्रम पुन सुचारु गर्ने मनस्थितिमा छ ।

बीमा कार्यक्रम नहुँदा ती दुई अस्पतालमा बिरामीको संख्या निक्कै घटेको छ ।

‘यता बीमा गर्नेहरुले जनशक्ति र साधनस्रोत कम भएका सरकारी अस्पतालमा खुम्चिनु पर्ने वा रिफर हुनु पर्ने, साधन स्रोत र जनशक्ति भएका अस्पतालहरुले बिरामी नपाएर निशुल्क क्याम्प गरेर हिड्नु पर्ने अवस्था छ । यसले ठूला अस्पताललाई पनि अफ्टेरो भइरहेको छ भने जनतालाई त झनै अफ्टेरो भएको छ । यसैले यो बीमा कार्यक्रमको दायरा बढाउनु पर्छ । बीमितहरुले जिल्लाकै ठूला अस्पतालमा सेवा पाउनु पर्छ । यसका लागि बोर्ड र अस्पतालहरुले नमिलेका कुराहरु छिटो मिलाउनु पर्छ,’ उद्बुद्ध कलेजका प्राचार्य हरिप्रसाद न्यौपानेले भने ।

सोमबार ध्यानाकर्षण टोलीमा सांसदद्धय गैरे र आचार्यसंगै पत्रकार रामप्रसाद न्यौपाने, चिरन गैरे, शंकरप्रसाद गौतम सहभागी थिए ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

One thought on “पाल्पाका दुई ठूला अस्पतालमा स्वास्थ्य बीमा पुन: सुचारु गर्न जनप्रतिनिधिद्धारा बीमा बोर्डको ध्यानाकर्षण

  1. सकेसम्मर स्वास्थ्य बिमा सम्बन्धि कार्य छिटाे लागू हनेस् भन्ने हामी पाल्पाली जनताकाे चहानन छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *