नेपाल र चीनबीच बोनम्यारो प्रत्यारोपणसम्बन्धी सम्झौता

काठमाडौँ, १४ वैशाख । नेपाल र चीनबीच दुई महत्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ । अर्थ मन्त्रालयमा बिहीबार आयोजित एक समारोहबीच उक्त सम्झौतामा हस्ताक्षर भएको हो ।

अर्थमन्त्री वर्षमान पुनको उपस्थितिमा अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनी र स्वास्थ्य मन्त्रालयका सचिव डा रोशन पोखरेल तथा चीनका तर्फबाट चिनियाँ अन्तर्राष्ट्रिय विकास सहयोग संस्था (चाइना इन्टरनेसनल डेभलेपमेन्ट को–अपरेसन एजेन्सी) का प्रमुख लियु झाओ हुईले सम्झौतामा हस्ताक्षर गरे ।

अर्थ मन्त्रालयसँग विश्वव्यापी विकास प्रयासका लागि मानव संशाधन विकास सहयोगसम्बन्धी र स्वास्थ्य मन्त्रालयसँग बोन म्यारो प्रत्यारोपणसम्बन्धी सम्झौता भएको हो ।

सम्झौताअनुसार चीनले वीपी कोइराला मेमोरियल क्यान्स अस्पतालमा बोन म्यारो प्रत्यारोपण सेवा सञ्चालनका लागि सहयोग गर्नेछ । त्यसका लागि संरचना निर्माणदेखि चिकित्सकलाई सैद्धान्तिक र प्राविधिक तालिमसम्मका लागि चीनले आर्थिक सहायता उपलब्ध गराउने सहमतिमा छ ।

कार्यक्रममा अर्थमन्त्री पुनले नेपालको विकासमा निरन्तर सहयोग गर्दै आएकामा चीनलाई धन्यवाद दिए । नेपाल र चीनबीच गहिरो, विविधतापूर्ण र निरन्तर दिगो सम्बन्ध रहेको चर्चा गर्दै मन्त्री पुनले एकअर्काका आकांक्षा एवं संवेदनशीलतालाई सम्मान गर्दै इमान्दारिताका साथ आपसी सहयोग र मित्रता अगाडि बढाउँदै आएको उल्लेख गरे ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *