‘स्वास्थ्य उपचारमा सबैभन्दा छिटो प्रगति गरेको सरकारी स्वास्थ्य संस्था – प्रत्यारोपण केन्द्र’


काठमाडौँ, ११ बैशाख । ‘शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र मिर्गौला तथा कलेजो प्रत्यारोपणमा अगुवा केन्द्रको रुपमा परिचित छ । स्थापनाको १२ बर्ष पुग्दा नपुग्दै यसले स्वास्थ्य उपचारका क्षेत्रमा धेरैवटा रेकर्ड कायम गरेको छ । विशेष सेवा दिने योजनाका साथ खुलेको सरकारी संस्था स्थापनाको १२ बर्ष पुग्दा नपुग्दै यति धेरै सेवा प्रदान गर्न सक्षम भएको छ । यो द्रुत प्रगतिका लागि यहाँको नेतृत्व र सम्पूर्ण चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरु बधाईका पात्रहरु हुनुहुन्छ,’ केन्द्रको १२ औँ बार्षिकोत्सव समारोहलाई सम्वोधन गर्न पुगेका स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव डा दीपेन्द्ररमण सिंहले भने ।

मिर्गौला तथा कलेजो प्रत्यारोपणको क्षेत्रमा केन्द्रले दिएको सेवाको प्रशंसा गर्दै उनले अगाडी थपे, ‘सरकारी स्वास्थ्य संस्थाले पनि स्थापनाको यति छोटो अवधीमा यति ठूलो प्रगति गर्न सक्छ उदाहरण बनेको छ ।’

हुन पनि ११ बैशाख २०६९ मा स्थापित यो केन्द्रले हालसम्म १ हजार २३१ जनाको मिर्गौला प्रत्यारोपण गरेको छ । २३ जनाको कलेजो प्रत्यारोपण गरेको छ, अझ डायलासिस त कति कति । केन्द्रले मुटु र अन्य उपचारमा पनि गियर बढाएको बताएको छ ।

प्रत्यारोपण केन्द्रका निर्देशक डा पुकारचन्द्र श्रेष्ठ भन्छन्, ‘१२ बर्षको अवधीमा बिरामी संख्या बढ्यो, प्रत्यारोपणको संख्या पनि उल्लेख्य बढ्यो तर पूर्वाधार बढाउन एक इन्च जग्गा पनि रहेन । केन्द्रको आफ्नै जग्गा छैन, अरुको जग्गामा बढाउन मिलेन ।’

उनले आफू र आफ्नो टिम सरकारसंग पटक पटक पर्याप्त जग्गाको माग लिएर सरकारी उच्च तहसम्म पुगे पनि त्यसको ठोस निर्णय हुन नसकेको दुखेसो पोखे ।

‘हामीले ५०० बेडको अस्पताल बनाउन आवश्यक रहेको भनेका छौँ, त्यसका लागि जग्गा माग गरेका छौँ, संगै जनशक्ति निर्माणका लागि सहज होस भनेर केन्द्रलाई प्रतिष्ठान बनाऔँ पनि भन्दै आएका छौँ । सरकारले हाम्रो मागलाई सकारात्मक रुपमा लिएको बताएको छ तर अहिलेसम्म ठोस निस्कर्ष आएको छैन । यति आयो भने हामी गर्न सक्छौँ । नेपाल अंग प्रत्यारोपणको क्षेत्रमा सजिलै आत्मनिर्भर हुनसक्छ’ डा. श्रेष्ठले भने ।

 

त्यसो त डा श्रेष्ठले १२ बर्ष अघिको र अहिलेको नतिजाको तुलना गर्दै प्रत्यारोपणको क्षेत्रमा १८० डिग्रीले परिवर्तन भएको दावी गरे । ‘हामी आउनु अघिसम्म नेपालमा मिर्गौला फेल भएपछि तीन महिना भित्र मृत्यु हुन्छ भन्ने तथ्य विश्व स्वास्थ्य संगठनले नै निकालेको थियो । अहिले मिर्गौला फेल भएका ९५ प्रतिशत व्यक्ति प्रत्यारोपण र डायलासिसको माध्यमबाट बर्षौ बर्ष बाँचिरहेका छन् । यसले हामीले यो १२ बर्षमा माइनस ९० बाट प्लस ९० प्रतिशतमा पुरयायौँ,’ डा. श्रेष्ठले भने ।

 

कार्यक्रममा उनले पछिल्लो एक बर्षमा गरेका कार्य प्रगति विवरण समेत प्रस्तुत गरे ।

कार्यक्रममा भक्तपुरका जनप्रतिनिधिद्धय प्रेम सुवाल र दुर्लभ थापाले प्रत्यारोपण केन्द्रको विकास र विस्तारमा आफूहरु सधैँ प्रतिवद्ध रहेको बताए । उनीहरुले केन्द्रको लागि आवश्यक जग्गा तथा भौतिक पूर्वाधार लगायतका विषयमा सदन र सरकारमा आवज उठाएको बताए ।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले केन्द्रले दिएको सेवाको प्रशंसा गर्दै यसलाई थप चुस्त बनाउन सकियोस भन्दै शुभकामना दिईन ।

कार्यक्रममा केन्द्रमा कार्यरत कर्मचारीहरु मध्ये २०८० सालमा उत्कृष्ट सेवा गरे बापत सिनियर रजिष्ट्रार युरोलोजिष्ट तथा मृर्गौला प्रत्यारोपण सर्जन डा दिपेश श्रेष्ठलाई सर्वाेत्कृष्ट कर्मचारी पुरस्कार प्रदान गरिएको थियो ।

सोही अवसरमा बिरामीको तर्फबाट झमक श्रेष्ठले केन्द्रका कार्यकारी निर्देशक डा पुकार चन्द्र श्रेष्ठ र प्रमुख कन्सल्टेन्ट नेफ्रोलोजिष्ट डा कल्पना कुमारी श्रेष्ठलाई सम्मान गरेका थिए

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *