स्वास्थ्य बीमा कार्यक्रम पुन: सञ्चालन गर्न पाल्पाका दुई ठूला अस्पताल र स्वास्थ्य बीमा बोर्ड सकारात्मक

5.8k
Shares

पाल्पा २० पुस । स्वास्थ्य बीमा कार्यक्रम पुन: सञ्चालन गर्न पाल्पाका दुई ठूला अस्पताल र स्वास्थ्य बीमा बोर्ड सकारात्मक देखिएका छन् । सुरु देखि स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरेका लुम्बिनी मेडिकल कलेज शिक्षण अस्पताल र युनाइटेड मिसन अस्पताल तानसेनले बीचमा कार्यक्रमबाट बाहिरिएका थिए ।

उनीहरु बाहिरिएपछि बोर्डले दुबै अस्पताललाई सेवा प्रदायक सूचीबाट हटाएको थियो । दुई ठूला अस्पतालहरुले स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन नगर्दा बीमितहरु मर्कामा परेका थिए ।

बिहीबार काठमाडौँबाट आएको बोर्डको टोली र बीमा कार्यक्रम सञ्चालन गरेको पाल्पा अस्पताल तथा कार्यक्रम रोकिएको लुम्बिनी मेडिकल कलेज र युनाइटेड मिसन अस्पतालका प्रतिनिधिबीच छलफल भएको थियो ।

छलफलका क्रममा जिल्ला अस्पतालको सेवालाई स्तरोन्नती गर्ने त्यसका लागि दुई ठूला अस्पतालहरुले सहयोग गर्ने र रोकिएका दुई ठूला अस्पतालमा छिटो बीमा कार्यक्रम सञ्चालन गर्न  दुबै पक्ष सकारात्मक देखिएका छन् ।

बोर्डका अध्यक्ष डा. गुणराज लोहनीले पाल्पाका दुई ठूला अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम छिटै पुर्नसंञ्चालन हुने बताए ।

‘दुई मध्ये कम्तीमा एक अस्पतालमा सम्भवत आगामी १ माघ देखि नै बीमा कार्यक्रम पुर्नसञ्चालनमा आउँछ । अब आउँदा नयाँ मोडालिटिबाट सञ्चालन हुनेछ’  बोर्ड अध्यक्ष डा लोहनीले भने ।

यसअघि लुम्बिनी मेडिकल कलेजले बीमा कार्यक्रममा पुर्न आवद्धता हुन पाउँ भनेर स्वास्थ्य मन्त्रालय धाईरहेको थियो । यता युनाइटेड मिसनले सेवा बापतको बक्यौता रकम बढदै जाँदा सेवा सञ्चालनमा अप्टेरो परेको र सेवा दिएवापतको सोधभर्ना रकम समेत कमी भएको भन्दै बीमा कार्यक्रम रोकेको थियो । अध्यक्ष डा लोहनीले ती मागका विषयमा समेत छलफल भएको र छिटै नै समस्या टुंगोमा पुग्ने बताए ।

पाल्पा अस्पतालका अध्यक्ष गुराँस आत्रेयले पाल्पामा स्वास्थ्य बीमा कार्यक्रमलाई व्यवस्थित ढंगले अघि बढाउन मुख्य सेवा प्रदायक संस्थाका प्रतिनिधिसंग छलफल भएको र त्यो सकारात्मक ढंगले अघि बढेको बताए । उनले पाल्पा अस्पतालमा तत्कालका लागि ठूला अस्पतालहरुबाट विशेषज्ञ चिकित्सक आएर सेवा दिने तथा ती अस्पतालमा पनि बीमा कार्यक्रम पुनसंचालनमा ल्याउने विषयमा बोर्ड तथा अस्पतालका प्रतिनिधिहरु सकारात्मक रहेको बताए ।

पाल्पामा स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी ढंगले अघि बढाउन छलफलका लागि बोर्डबाट अध्यक्ष डा लोहनी, सदस्य डा मुक्तिराम श्रेष्ठ, कार्यकारी निर्देशक डा दामोदर बसौला लगायतको टोली आएको थियो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *