बर्दिया अस्पतालले सञ्चालनमा ल्यायो हेमोडायलासिस सेवा

गुलरिया, १२ बैशाख । बर्दिया अस्पतालले पनि हेमोडायलासिस सेवा सञ्चालनमा ल्याएको छ । मिर्गौला फेल भएका बिरामीहरुलाई लक्षित गर्दै अस्पतालले मंगलबार (हिजो) देखि हेमोडायलासिस सेवा सुरु गरेको हो ।

अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा सुवास पाण्डेयले अस्पतालमा भित्रिएका पाँचवटा मेसिनद्धारा मिर्गौला फेल भएका बिरामीका लागि नियमित रुपमा निशुल्क सेवा उपलव्ध गराउन थालिएको बताए । उनले सेवा शुभारम्भका दिन दुई जनाको डायलासिस भएको बताउँदै १५ जना बिरामीले नाम टिपाइ सकेको जानकारी दिए ।

अस्पतालका सूचना अधिकारी केशव न्यौपानेले प्रदेश स्वास्थ्य मन्त्रालयबाट चार र स्वास्थ्य सेवा विभागबाट प्राप्त एक सहित गरी गरी कुल पाँचवटा मेसिनद्धारा सेवा दिईने बताए ।

अस्पतालका मेसु डा पाण्डेले डायलासिस सेवाका लागि १० जना स्टाफ नर्स, तीन जना मेडिकल अफिसर र एक जना एनेस्थेसियोालोजिष्टले तालीम लिएको बताए ।

पहिलो दिन डायलासिस गराएका स्थानीय बिरामीद्धय भीमबहादुर सुनार र सीताराम चौधरीले जिल्लाकै अस्पतालमा यसरी आफूले सेवा लिन पाइन्छ भनेर नसोचेको भन्दै मिर्गौैला फेल भएका आफूहरु जस्ता थुप्रै बिरामीका लागि ठूलो राहत भएको बताए ।

यसअघि लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री दिपेन्द्र कुमार पुन मगर बर्दिया अस्पतालमा थपिएको डायलासिस सेवाको उद्घाटन गरेका थिए । उनले प्रदेशकै उत्कृष्ठ बर्दिया अस्पतालमा अन्य आवश्यक सेवा थप गर्नका मन्त्रालय सकारात्मक रहेको बताए ।

लुम्बिनी प्रदेशमा अहिलेसम्म बर्दिया सहित चारवटा सरकारी अस्पतालमा डायलासिस सेवा उपलव्ध छ । अरु अस्पतालमा गुल्मी अस्पताल, राप्ती प्रादेशिक अस्पताल र लुम्बिनी प्रादेशिक अस्पताल हुन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *