मिसन अस्पताल स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्न राजी

छलफल पछि स्वास्थ्य बीमा बोर्डमा सामुहिक तस्बीर खिचाउँदै

काठमाडौँ, १८ साउन । तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रमले निरन्तरता पाउने भएको छ । गत १२ साउनमा सो अस्पतालले पत्रकार सम्मेलन गर्दै आगामी २१ साउन देखि  स्वास्थ्य बीमा कार्यक्रम स्थगित गर्ने निर्णय भएको जानकारी गराएको थियो ।

अस्पतालको सो निर्णयको चौतर्फी आलोचना भएको थियो ।

बिहीबार स्वास्थ्य बीमा बोर्डको कार्यालयमा भएको छलफल पछि बीमा कार्यक्रम स्थगित गर्ने निर्णयबाट मिसन अस्पताल पछि हटेको हो ।

छलफलमा बीमा बोर्डका कार्यकारी निर्देशक डा दामोदर बसौला, मिसन अस्पतालका निर्देशक डा रचेल कारख, र सांसदद्धय नारायणप्रसाद आचार्य र ठाकुर गैरे सहभागी थिए ।

बैठकमा अस्पताल निर्देशक डा कारखले बीमा कार्यक्रम स्थगित गर्नु पर्ने कारणबारे बताएकी थिईन् । उनले बीमा कार्यक्रमको भुक्तानीमा समस्या र दर रेट निकै न्युन भएको गुनासो गरेकी थिईन् । त्यसमा बोर्डका तर्फबाट डा बसौलाले केही प्राविधिक विषय रहेको भन्दै छिटै टुंगोमा पुग्ने बताएका थिए ।

बैठक पछि बोल्दै सांसद आचार्यले मिसन अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम २१ साउन पछि पनि निरन्तर चल्ने बताए । उनले नमिलेका कतिपय कुराहरुलाई द्धिपक्षीय रुपमा छलफल गरी अघि बढने निर्णय भएको बताए ।

अर्का सांसद ठाकुर गैरेले अस्पतालको मुख्य समस्या देखिएको बक्यौँता रकम तत्काल फरफारक गरी भुक्तानी गर्ने र सुविधाको दर रेटको सम्वन्धमा वीमा बोर्डले काम गरिरहेकोले छिटै त्यो पनि टुंगोमा पुग्ने बताए । १२ करोड जति बक्यौता रहेको भन्ने बुझियो, ‘त्यो सिस्टम अनुसार केही नमिलेर रोकिएको भन्ने पनि थाहा भयो । यसलाई बोर्ड र अस्पताल मिलेर तत्काल टुंग्याउने र निकासा गर्ने भन्ने कुरा भएको छ । सुविधाको दर रेटका विषयमा पनि बोर्ड आफैले गृहकार्य गरेकोले त्यसलाई फर्खिने कुरा भयो,’ उनले भने ।

बीमा बोर्डका कार्यकारी निर्देशक डा बसौलाले मिसन अस्पतालमा देखा परेको समस्याहरुलाई फुकाउँदै जाने र बीमा सेवा कार्यक्रमलाई निरन्तरता दिने सहमति भएको बताए । उनले ५ करोड रकम असारमा भुक्तानी गरेको र बाँकी केही रकम हिसाव सिस्टममा नआएका कारण रोकिएको हो भन्दै भदौको पहिलो सातासम्ममा क्लियर हुने बताए ।

उता अस्पताल निर्देशक डा रचेल कारख भने बीमा कार्यक्रम निरन्तरता दिने विषयमा छलफल भएको बताईन् । उनले कार्यक्रमलाई निरन्तरता दिने वा नदिने विषयमा अहिले नै आफू नबोल्ने स्पष्ट पारिन । ‘आज छलफल भयो, यो कुरा मैले मेरो टिमसंग सेयर गर्नुपर्छ, त्यसपछि मात्रै के गर्ने भन्ने निर्णय हुन्छ । अहिल्यै बीमा कार्यक्रमका विषयमा म बोल्न चाहन्न’ उनले भनिन् ।

सांसदद्धयले भने डा कारखले अहिले जे भने पनि बीमा कार्यक्रम मिसन अस्पतालमा निरन्तर चल्ने दावी गरे । ‘केही कुरा तत्कालै भन्न मिल्दैन तर २१ साउन देखि बन्द हुने भनेको वीमा कार्यक्रमले निरन्तरता पाउँछ,’ सांसद गैरेले भने ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *