स्वास्थ्य पत्रकार मञ्चसंग सहकार्य गर्न इच्छुक छौँ : नेपाल नेत्रज्योति संघ

काठमाडौँ, ४ फागुन । नेपालमा अहिले पनि दुबै आँखा नदेख्नेको संख्या ४६ हजार रहेको छ । सरकारले भने सन् २०३० सम्म उपचारबाट निको हुने अन्धोपना निवारण गर्ने लक्ष्य लिएको छ । तर लक्ष्य हासिल गर्न भने सजिलो छैन् । जनचेतनाको कमी, दुृर्गम ठाँउमा सेवाको पहुँचमा हुने कठिनाईका कारण लक्ष्य प्राप्तीमा समस्या हुनसक्ने सरोकारवाला बताइरहेका छन् ।

तर, आँखा उपचारका क्षेत्रमा सार्क क्षेत्रमै उत्कृष्ठ काम गर्दै आएको नेपाल नेत्र ज्योति संघले सो लक्ष्य प्राप्तिका लागि आफ्नो तर्फबाट अधिकतम पहल गर्ने बताएको छ । उसले त्यसका लागि सञ्चारमाध्यम तथा सञ्चारकर्मीसंग हातेमालो गरेर समेत अघि बढ्ने जनाएको छ ।

बिहीबार स्वास्थ्य पत्रकार मञ्च नेपालको नव निर्वाचित कार्यसमितिलाई स्वागत तथा वधाई ज्ञापन गर्न आयोजित कार्यक्रममा संघका अध्यक्ष प्राडा चेतराज पन्तले नेपालमा आँखा उपचार सेवा, अन्धोपनको स्थिति र सरकारले लिएको लक्ष्यको चर्चा गरे । उनले उपचारबाट निको हुने अन्धोपना निवारणका लागि सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुने पटक पटक दोहोर्‍याए ।

‘आँखा उपचारको क्षेत्रमा संघले सुरुगरेको काम संसारमै नमूना छ । हामीले देशमा मात्रै होइन हाम्रा काम विदेशमा पनि फैलाउँदै छौँ । तर जनचेतनाका कारण अहिले दुर दराजका जनता आँखा उपचारको पहुँचमा पुग्न सकेका छैनन् । यसका लागि सञ्चारमाध्यम र स्वास्थ्य पत्रकार मञ्चसंग सहकार्य गर्न जरुरी छ,’ उनले भने ।

कार्यक्रममा संघका महासचिव भरतवहादुर चन्दले नेपाल पत्रकार महासघ संग सहकार्य गरे जस्तै स्वास्थ्य पत्रकार मञ्च नेपालसंग पनि सहकार्य गर्ने बताए । उनले मञ्चले विगतमा गरेको सहयोगलाई स्मरण गर्दै भविस्यमा पनि त्यस खालको सहयोगको अपेक्षा रहेको सुनाए । कार्यक्रममा उनले आँखामा उत्कृष्ठ रिपोर्टिङ गर्ने पत्रकारहरुलाई आइ हेल्थ अवार्डको नामबाट सम्मान गर्ने योजना रहेको समेत जानकारी दिए ।

कार्यक्रममा केन्द्रीय सदस्य पद्यमनारायण चौधरीले उपचारमा विराटनगर तथा लाहानले दिएको सेवाका बारेमा चर्चा गरे । उनले नेत्र ज्योति संघले सञ्चालन गरेका अस्पतालमा पैसाकै कारण उपचार सेवाबाट बन्चित हुन नपर्ने बताए ।

स्वास्थ्य पत्रकार मञ्च नेपालका अध्यक्ष सरोज ढुंगेलले नेत्र ज्योति संघसंग विगतमा भएका सहकार्यको चर्चा गर्दै नयाँ समितिले आँखा सेवाको क्षेत्रमा संघसंग सहकार्य गरेर अघि बढ्ने बताए ।

मञ्चका निवर्तमान अध्यक्ष रामप्रसाद न्यौपानेले सहकार्यका बाटाहरु स्पष्ट भइसकेको भन्दै यसलाई कार्यान्वयनमा अघि बढाउनुपर्ने बताए ।

कार्यक्रममा संघका कार्यकारी निर्देशक शैलेशकुमार मिश्रले नेत्र ज्योति संघ स्थापना भए यता गर्दै आएका काम र अव गर्ने कामका बारेमा प्रस्तुतिकरण राखेका थिए ।

सो अवसरमा संघले स्वास्थ्य पत्रकार मञ्च नेपालका नव निर्वाचित कार्यसमिति, प्रदेश संयोजक र सल्लाहकारहरुलाई खादा लगाईँदिएर स्वागत तथा बधाई दिएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *