बालबालिकालाई दिईने फाइजरको २३ लाख (पेडियाट्रिक)डोज खोप काठमाडौँ आइपुग्यो
काठमाडौँ, १९ असार । कोभ्याक्स सुविधा अन्तरगत थप २३ लाख डोज कोभिडविरुद्धको पेडियाट्रिक खोप काठमाडौँ आइपुगेको छ ।
देशका २७ जिल्लाका ५ देखि ११ बर्ष उमेर समूहका बालबालिकालाई दिनका लागि फाइजर बायोन्टेकको २२ लाख ९९ हजार २०० (पेडियाट्रिक)डोज खोप आज कतार एयरको उडानमार्फत काठमाडौँ आईपुगेको हो ।
स्वास्थ्य सेवा विभाग आपूर्ति शाखाका प्रमुख डा सुरेन्द्र चौरसियाका अनुसार यो खोप २७ जिल्लाका बालबालिकाहरुलाई दिनका लागि ल्याइएको हो ।
कोभ्याक्सले ५ देखि ११ वर्ष उमेर समुहका ३९ लाख बालबालिकालाई दुई मात्रा खोप दिनका लागि आवश्यक ठानिएको ८४ लाख डोज खोप अनुदानमा उपलव्ध गराउने जनाईसकेको छ । माइनस ७० डिग्री सम्मको तापक्रममा भण्डारण गर्नुपर्ने भएकोले नेपालले आफ्नो क्षमता अनुसार चरणवद्ध रुपमा खोप मगाउने गरेको छ ।
यसअघि कोभ्याक्स मार्फत गत ६ असारमा पनि २२ लाख डोज खोप प्राप्त गरेको थियो । सरकारले गत ९ असार देखि पहिलो चरणमा देशका २७ जिल्लाका बालबालिकाहरुलाई कोभिडविरुद्धको खोप दिन सुरु गरेको छ ।
सम्पर्क इमेल : [email protected]