कोशी प्रदेशमा प्यालियेटिभ तथा हस्पिस केयर सम्वन्धी पाँचदिने कार्यशाला सम्पन्न

धरान, ३० साउन । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गत सोमबारबाट आयोजित पाँच दिने ‘इन्टिग्रेटेड प्यालियेटिभ एन्ड हस्पिस केयर एसेन्सियल्स वर्कशप’ सम्पन्न भएको छ।

नेपाल हस्पिस केयर सेन्टरको आयोजना तथा बीपीकेआईएचएस स्टुडेन्ट्स अन्कोलोजी विङको संयोजनमा भएको पाँचदिने कार्यशालामा कोशी प्रदेशका १४ जिल्लाका ६० जनाभन्दा बढी चिकित्सक तथा नर्सको सहभागिता रहेको थियो।

कार्यशालालाई रोटरी इन्टरनेसनलबाट ग्लोबल ग्रान्ट प्राप्त रोटरी क्लब अफ काष्ठमण्डपको आर्थिक सहयोग रहेको थियो। त्यसैगरी टु वर्ल्ड्स क्यान्सर कोल्याबोरेसन, क्यानडा लगायतका संस्थाबाट प्राविधिक तथा प्रशिक्षण सहयोग प्राप्त भएको थियो।
कार्यशालामा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, सामाजिक विकास मन्त्रालय कोशी प्रदेश र धरान उप महानगरपालिका लगायतका संस्थाको समेत सहयोग र सहकार्य रहेको आयोजकले जनाएको छ।

रोटरी क्लब अफ काष्ठमण्डपका प्रेसिडेन्ट शैलेश वैद्यले प्यालियेटिभ तथा हस्पिस केयरलाई अस्पतालकेन्द्रित सेवामा मात्र सीमित नराखी प्रदेशका विभिन्न जिल्ला र समुदायसम्म विस्तार गर्न कार्यशालाले महत्वपूर्ण आधार तयार गरेको बताए । उनले ग्लोबल ग्रान्टमार्फत प्राप्त सहयोगलाई स्वास्थ्य क्षेत्रमा दीर्घकालीन प्रभाव पार्ने गरी उपयोग गर्ने उद्देश्यअनुसार कार्यक्रम सञ्चालन गरिएको उनको भनाई थियो ।

वैद्यका अनुसार तालिममा सहभागी चिकित्सक तथा नर्सहरूले आफूले सिकेको ज्ञान र सीप आ–आफ्नो कार्यक्षेत्रमा पुगेर अन्य स्वास्थ्यकर्मीलाई समेत हस्तान्तरण गर्ने भएकाले यसले एकैपटक ठूलो क्षेत्रमा प्यालियेटिभ केयरको क्षमता विस्तार गर्न सहयोग पुग्नेछ। विशेषगरी कोशी प्रदेशका विभिन्न जिल्लामा आधारभूत प्यालियेटिभ तथा हस्पिस सेवा विस्तारका लागि प्रशिक्षित जनशक्ति तयार गर्नु कार्यशालाको महत्वपूर्ण उद्देश्य रहेको उनले बताए । यो कार्यक्रम कोशी पछि मधेश र बाग्मती प्रदेशमा पनि सञ्चालन हुने उनले जानकारी दिए ।

कार्यशालाको उद्घाटन सत्रमा प्रतिष्ठानको इन्टर्नल मेडिसिन विभागका प्रमुख प्राडा रोबिन मास्केले स्वागत मन्तव्य व्यक्त गरेका थिए र कार्यक्रम संयोजक तथा मेडिकल अन्कोलोजी युनिटकी इन्चार्ज मेडिकल अन्कोलोजिस्ट डा. सोनिया दुलालले कार्यशालाको उद्देश्य र रूपरेखा प्रस्तुत गरेकी थिईन । डा.  विष्णु श्रेष्ठले प्यालियेटिभ तथा हस्पिस केयरको समग्र अवधारणाबारे प्रकाश पारेका थिए ।

प्रतिष्ठानकी उपकुलपति प्राडा स्मृती कार्कीले उद्घाटन गरेको कार्यक्रममा प्रतिष्ठानका निमित्त अस्पताल प्रमुख डा इन्द्रकुमार लिम्बू, निवर्तमान उपकुलपति प्राडा विक्रमप्रसाद श्रेष्ठ, निवर्तमान रेक्टर प्राडा सञ्जीवकुमार शर्मा, विभिन्न स्कुल, विभाग तथा शाखाका प्रमुख, शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो।

कार्यशालामा नेपाल हस्पिस केयर सेन्टरका बोर्ड अफ डाइरेक्टर तथा नेपाल एसोसिएसन अफ प्यालियेटिभ केयरका अध्यक्ष एवं किष्ट मेडिकल कलेजका प्राडा विष्णुदत्त पौडेल, भारतीय दूतावासअन्तर्गत पेन्सन पेइङ अफिसका प्रमुख मेजर शम्मी सुवर्ण, भक्तपुर क्यान्सर अस्पतालका डा विष्णु श्रेष्ठ तथा नर्स राधिका मकाजू, स्वास्थ्य मन्त्रालयकी प्रतिनिधि डा. सभ्यता पन्थी, धरान उपमहानगरपालिका वडा नं. २० का अध्यक्ष पदम लिम्बू, जनस्वास्थ्य अधिकृत दीपा अधिकारी, रोटरी क्लब अफ काष्ठमण्डपका सज्जन थापा, पिपुल्स डेन्टल कलेज एन्ड हस्पिटलका डा. दीपक श्रेष्ठ, नेपाल क्यान्सर अस्पतालकी डा. सृष्टि तिवारी, भारतको हैदराबादकी नर्स स्वरूप इम्माराजुलगायतको सहभागिता रहेको थियो।

कार्यशालाका विभिन्न सत्रमा प्यालियेटिभ केयरको आवश्यक सेवा प्याकेज, चार स्तम्भमा आधारित प्यालियेटिभ केयर इकोसिस्टम, स्वास्थ्य प्रणालीमा प्यालियेटिभ केयरको एकीकरण, घरमै आधारित हस्पिस सेवा तथा सेवा विस्तारका प्रभाव लगायतका विषयमा प्रशिक्षण र प्रस्तुति दिइएको थियो।

आयोजकका अनुसार कार्यशालाले कोशी प्रदेशमा प्यालियेटिभ तथा हस्पिस केयर सेवाका लागि आवश्यक दक्ष जनशक्ति तयार गर्नुका साथै प्रशिक्षक तयार गर्ने अवधारणामार्फत जिल्लास्तर र समुदायसम्म सेवा विस्तार गर्ने आधार तयार गरेको छ।

सहभागी स्वास्थ्यकर्मीले आफ्नो कार्यक्षेत्रमा फर्किएपछि सिकेको ज्ञान र सीप अन्य स्वास्थ्यकर्मीलाई हस्तान्तरण गर्ने भएकाले यसबाट प्रदेशका थप स्वास्थ्य संस्थामा प्यालियेटिभ केयर सेवा विस्तार हुने अपेक्षा गरिएको छ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *