आफ्नै भवन बनाउन मधुमेही समाजका सदस्य तथा सहयोगी सक्रिय, उठ्यो झण्डै तीन करोड रुपैयाँ

काठमाडौँ, ३० साउन । स्थापना यताको ३६ वर्ष भाडाको भवनबाट सेवा दिईरहेको नेपाल मधुमेही समाज अव आफ्नै भवन बनाउने तरखरमा जुटेको छ ।
त्यसका लागि समाजका सदस्य, सहयोगी तथा शुभचिन्तकहरु सक्रिय देखिएका छन् । उनीहरुले भवनका लागि आवश्यक पर्ने रकम संकलन गरिरहेका छन् ।
गत सोमबार नेपाल मधुमेही समाजका संस्थापक समेत रहेका बरिष्ठ चिकित्सक डा मृगेन्द्रराज पाण्डेले आफ्नै निवासमा बोलाई समाजका प्रतिनिधिहरुलाई १२ लाख रुपैयाँ हस्तान्तरण गरे । तर त्यस अघि नै समाजले झण्डै पौने तीन करोड रुपैयाँ अरु सदस्य तथा सहयोगीसंग उठाईसकेको छ ।
समाजका अध्यक्ष शिव श्रेष्ठले आफ्नै भवनबाट सेवा दिनु पर्छ भन्ने मान्यताका साथ सदस्य तथा सहयोगी दाताहरुले आर्थिक सहयोग गरिरहेको बताउँदै कुल उठेको रकम तीन करोड नजिक नजिक पुगेको बताए । उनले एकै जनाबाट २० लाख रुपैयाँसम्म सहयोग भएको बताए ।
‘हामीले अलि खुल्ला ठाउँमा जग्गा वा घर किन्ने भनेर घोषणा गरेका थियौँ, पेरिफेरिमा पाइएको पनि छ, तर सबैका लागि सेन्टर पर्ने ठाउँ पनि चाहियो, हामीले सबैलाई पायक पर्ने ठाउँ तिर खोजी गरेका छौँ, केही ठाउँमा सकारात्मक संकेतहरु मिलेका छन् । सादय अब छिटै त्यो निर्णयमा पुग्न सकिन्छ होला,’ उनले भने ।

धमाधम सहयोग गर्दै
समाजको प्रस्तावित भवन निर्माणार्थ आर्थिक सहयोग गर्ने सूचीमा श्रीमती नानीवावा प्रधान सबैभन्दा अघि छन् । उनले आफ्नो श्रद्धेय पति मणिकलाल प्रधानको स्मृतिमा २० लाख रुपैयाँ सहयोग गरेकी छन् । त्यसअघि नै मणिकलाल प्रधानले आफ्नो आमाको स्मृतिमा १५ लाख रुपैयाँ सहयोग गरेका थिए ।
यता समाजका अध्यक्ष शिव श्रेष्ठले आफ्ना स्वर्गीय आमा बुबाको स्मृतिमा ११ लाख ११ हजार १११ रुपैयाँ सहयोग गरेका छन् । उनी मात्रै होइन, श्रीमती उर्मिला श्रेष्ठ सानेपा, बिजयालक्ष्मी श्रेष्ठ बबरमहल, किरणनाथ प्याकुरेल बालुवाटारले पनि ११ लाख ११ हजार १११ रुपैयाँ सहयोग गरेका छन् । भवन निर्माणकै लागि भनेर अंसुका राजोपाध्यायले १० लाख २२ हजार २२२ रुपैयाँ, श्रीमति विजयालक्ष्मी श्रेष्ठ, दिव्य लक्ष्मी श्रेष्ठ, प्राडा विद्या लक्ष्मी श्रेष्ठ, मञ्जु श्रेष्ठ र मनोहरलाल श्रेष्ठले आफ्ना स्वर्गीय पिता हरिहरलाल श्रेष्ठको स्मृतिमा १० लाख रुपैयाँ सहयोग गरेका छन् । यस्तै डा प्रतिमा श्रेष्ठले स्वगीय आमा पद्मा श्रेष्ठको स्मृतिमा, उत्तमलाल श्रेष्ठले स्वर्गीय श्रीमति शीला प्रधानको स्मृतिमा १० १० लाख सहयोग गरेका छन् ।

यसैगरी महिलाको हात मार्फत सभापति भगवती नेपालले ७ लाख रुपैयाँ, सुकुन्दराज श्रेष्ठ, हसना श्रेष्ठले समान ५ लाख २५ हजार ११६ रुपैयाँ सहयोग गरेका छन् । यसैगरी रसिक श्रेष्ठ इन्द्रायणीले स्वर्गीय पिता पदमलालको स्मृतिमा ५ लाख ११ हजार १११ रुपैयाँ, सर्वज्ञमान तुलाधरको परिवारले ५ लाख ५५५ रुपैयाँ दिएका छन् ।
यसैगरी रजनीनाथ प्याकुरेल, भगवती नेपाल, विजयीकुमारी साह, सुमित्रा मानन्धर, इन्द्रप्रसाद श्रेष्ठ, लक्ष्मणलाल श्रेष्ठ, सुदर्शना मानन्धर,पदमा सुन्दरी श्रेष्ठ, कदम श्रेष्ठ, लोचना देवी मानन्धरले समान ५ लाख रुपैयाँ दिएका छन् ।

समाजका अध्यक्ष श्रेष्ठले पाँच लाख भन्दा तल सहयोग गर्नेहरुको संख्या पनि ठूलो रहेको बताए ।
डा. मृगेन्द्रराज पाण्डेले विसं २०४७ सालमा स्थापना गरेको यो समाजले नसर्ने रोगहरुको र त्यसमा सबैभन्दा बढी मधुमेह र त्यो संग जोडिएका रोगबारे जनचेतना जगाउने, स्क्रिनिङ गर्दै आएको छ । त्यसका लागि समाजेले कहिले स्थानीय तहसंग मिलेर, कहिले विभिन्न अरु संघसंस्थाको सहकार्यमा कार्यक्रम आयोजना गर्दै आएको छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com




नेपाली हेल्थ 




