विश्व अङ्गदान दिवस:

मस्तिष्क मृत्युपछिको अङ्गदान : बढाउने कसरी ? उपाय खोज्न सर्वपक्षीय छलफल

काठमाडौँ, २८ साउन । पहिले पहिले ‘रक्तदान महादान’ भनिन्थ्यो । हिजोआज पनि रक्तदान महादान भनिने गरेकै छ  तर अहिले रक्तदान मात्रै होइन ‘महादान’ शब्दसंग जोडिएर आएको छ ‘अङ्गदान’ । अर्थात अचेल ‘अङ्गदान महादान’ भनिन थालिएको छ, ‘अङ्गदान पुन्य काम’ भनेर भन्न थालिएको छ ।

आँखाको नानी प्रत्यारोपणलाई छाडेर अरु मुख्य अङ्ग प्रत्यारोपण हुन थालेको कुरा गर्ने हो भने नेपालमा यो कार्य सुरु भएको दुई दशक नाघेको छैन ।

१८ वर्ष अघि अर्थात २००८ सालमा त्रिवि शिक्षण अस्पतालमा पहिलो पटक मिर्गौला प्रत्यारोपण भएपछि तत्कालै वीर अस्पताल हुँदै शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र (तत्कालीन मानव अंग प्रत्यारोपण केन्द्र) सेवा सुरु गरिए ।

मिर्गौला मात्रै होइन पछिल्लो केही वर्ष देखि नेपालमा कलेजो समेत प्रत्यारोपण हुन थालेको छ । अब मुटु, फोक्सो लगायतका अंग पनि प्रत्यारोपण गर्ने गरी नीतिगत तथा प्राविधिक तयारी भइरहेको छ ।

तर प्रत्यारोपणका विज्ञहरुलाई यसले सन्तुष्टी दिएको छैन । नेपालको प्रत्यारोपणलाई सहज बनाउन भन्दै नौ वर्ष अघि ल्याइएको मस्तिष्क मृत्यु पछिको अङ्गदान सम्वन्धी कानूनको प्रभावकारी कार्यान्वयन नहुँदा उनीहरु चिन्तित देखिएका हुन् ।

कानूनको प्रभावकारी कार्यान्वयनको मतलव, यो कानून आईसकेपछि मस्तिष्क मृत्युपछिको अङ्गदान हुने क्रम अलि बढ्ला भनिएको थियो तर अपेक्षाकृत बढ्न सकेको छैन ।

………………………………………………………..

आज १३ अगष्ट अर्थात विश्व अङ्गदान दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाईयो ।

यसैबीच ललितपुरमा भएको एक कार्यक्रममा भने विज्ञ तथा वक्ताहरुले अङ्गदान महादान मात्रै भनेनन्, यसलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न, अङ्ग प्रत्यारोपणलाई दीगो बनाउन मस्तिष्क मृत्यु पछिको अङ्गदान सबैभन्दा प्रभावकारी विकल्प भएको निष्कर्ष निकाले ।

बरिष्ठ मिर्गौला तथा कलेजो प्रत्यारोपण विज्ञ डा. पुकारचन्द्र श्रेष्ठको नेतृत्वमा बनेको स्वास्थ्य अभियान नेपालले आयोजना गरेको कार्यक्रममा आमन्त्रित अतिथिले मस्तिष्क मृत्यु पछिको अङ्गदानलाई प्रभावकारी गराउनु पर्नेमा जोड दिए ।

डा. श्रेष्ठले कार्यक्रममा सरकारी तथा निजी अस्पतालका विशेषज्ञ डाक्टर तथा प्रमुखहरु, औषधी उद्यमी तथा व्यवसायीहरु, हिन्दु वौद्य र इश्लाम धर्मका अगुवा (धर्मगुरु), उपत्यका ट्राफिक प्रहरी, सञ्चारकर्मी, प्रत्यारोपण गराएका, अङ्गदान गरेकाहरुसंगै कलाकार तथा पत्रकारहरुलाई समेत राखेर अभियानलाई अगाडी बढाउन आव्हान गरे ।

‘अहिलेसम्म करीव ३ हजार मिर्गौला प्रत्यारोपण भयो, ७५ जति कलेजो पनि प्रत्यारोपण भयो । सरकारी तथा निजी संस्थाहरुबाट यी कामहरु भईरहेको छ । तर प्रत्यरोपण गराउन अंग नपाएर बसेकाहरुको सूची निकै ठूलो छ । यसको समाधानको प्रभावकारी उपाय भनेको मस्तिष्क मृत्युपछिको अङ्गदान नै हो,’ डा. श्रेष्ठले भने ।

उनले नेपालमा कुल अंग प्रत्यारोपण गराउनेमध्ये करीव एक तिहाई वैदेशिक रोजगारीबाट फर्किएकाहरु भएको समेत दावी गरे ।

काठमाडौँ उपत्यका ट्रफिक कार्यलयका अनुसार गत आर्थिक वर्षमा २९ हजार ९८८ वटा सडक दुर्घटना हुँदा २ हजार ७०७ जनाको मृत्यु भएको थियो ।

ती मध्ये अधिकांश १८ देखि ३५ वर्ष उमेर समूहका युवाहरु हुने र अधिकांशको मस्तिष्क मृत्यु हुने प्रहरीको विवरणमा उल्लेख छ । उपत्यका ट्राफिक प्रहरी प्रमुख सुरज काफ्ले,  ‘यसरी मृत्युपछि खेरजाने अंगलाई प्रत्यारोपण गर्न सकियो भने ठूलो मागको परिपूर्ति हुन सक्थ्यो होला भन्दै त्यसका लागि जनचेतना तथा सहकार्यको आवश्यकता पर्ने बताए ।

उनको कुरालाई हिन्दु, वौद्य र ईश्लाम धर्मका अगुवाहरुले समर्थन गरे । उनीहरुले आफ्ना धर्मले ज्यान बचाउने कार्यलाई महान मान्ने भन्दै यसमा आफ्ना समुदायलाई सचेत गराउन आफूहरु हातेमालो गर्न तयार रहेको बताए ।

नेपालको अग्रणी औषधी उद्योग क्वेष्ट फर्मास्यिुटिकल्सका प्रमुख उमेशलाल श्रेष्ठले अङ्गदान पुन्यकाम हो भन्दै त्यसमा आफू परिवार, आफ्नो समुदायले यस अभियानलाई अघि बढाउन साथ सहयोग गर्ने बताए । उनले अभियानलाई देशव्यापी बनाउन उद्योग बाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल रेडक्रस जस्ता देशभर नेटवर्क रहेका संस्थाहरुलाई जोडेर सञ्चालन गर्नु पर्ने धारणा राखे ।

 

कार्यक्रममा वीर अस्पतालका बरिष्ठ न्युरो सर्जन प्राडा राजीव झाले मस्तिष्क मृत्यु कसरी हुन्छ ? मस्तिष्क मृत्युपछि अङ्गदानका लागि आव्हान गर्न अहिले के कस्ता व्यवहारिक अफ्ट्यारा छन भन्ने विषयमा आफ्ना धारणा राखेका थिए ।

नेपाल मेडिसिटी अस्पतालका निर्देशक डा सुनील शर्माले मस्तिष्क मृत्यु पछिको अङ्गदान जरुरी रहेको भन्दै यसका लागि सचेतनाको कार्यक्रमलाई व्यापक रुपमा अघि बढाउनु पर्ने बताए । उनले आफ्नो बाबु प्राडा अञ्जनीकुमार शर्माले सन् १९६५ मा तत्कालीन राजा महेन्द्रलाई बोलाएर रक्तदान गर्न लगाएको इतिहास प्रस्तुत गर्दै यो अभियानलाई अघि बढाउन पनि विभिन्न उपायहरु सोच्न सकिने बताए ।

त्यसअघि कार्यक्रममा बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ बोलेका थिए । उनले पनि अङ्गदानका विषयमा सचेतनाको खाँचो रहेको बताउँदै त्यसमा आफ्नो तर्फबाट गर्नु पर्ने काम पुरा गर्ने बताए ।

यस्तै बरिष्ठ चिकित्सक डा भोला रिजालले अंग फेल हुने अवस्था र प्रत्यारोपणको अवसरलाई मिलाएर लैजानु पर्ने बताए ।

नेपाल चिकित्सक संघका अध्यक्ष डा. बद्रि रिजाल, गोरखापत्रका सम्पादक जुनारबाबु बस्नेत लगायतले पनि अङ्गदानको विषयमा बोल्दै मस्तिष्क मृत्यु पछिको अङ्गदान सम्वन्धी कार्यलाई सफल बनाउन आफ्नोतर्फबाट भूमिका खेल्ने बताएका थिए ।

कार्यक्रममा अङ्गदान तथा प्रत्यारोपण कार्यमा सहभागी केही प्रतिनिधिहरुलाई सम्मान समेत गरिएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *