स्वास्थ्यको १२ औँ तह बढुवा : मंगलबारको बैठकले गर्न सक्छ नाम सिफारिस

काठमाडौँ, १३ असार । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा प्रमुख विशेषज्ञ पद (१२ औँ तह)को एक पद रिक्त भएको साढे पाँच महिना हुन् आट्यो । सो पदमा बढुवा गर्न मन्त्रालयमा रहेको बढुवा समितिले प्रक्रिया थालेको पनि तीन महिना बढी भईसक्यो तर अहिलेसम्म नाम सिफारिस हुन सकेको छैन् ।

तर, यदि कुनै विशेष परिस्थिति आएन भने भोलि( मंगलबार) बस्ने बढुवा समितिको बैठकले नाम सिफारिस गर्नेछ ।

समितिका एक जना सदस्यका अनुसार आइतबार बसेको बढुवा समितिको बैठकमा सिफारिसमा पर्ने सम्भावना भएका व्यक्तिका विषयमा थप केही अध्ययन् गर्नु पर्ने देखिएकोले नाम सिफारिसलाई थाती राखेको छ । ‘समितिको अर्को बैठक मंगलबार (भोली)का लागि तय भएको छ । विशेष परिस्थिति सिर्जना भएन भने सो बैठकले नाम सिफारिस गर्नेछ,’ ती सदस्यले भने ।

स्वास्थ्यमा अहिले उमेर हदका कारण गत २ माघमा अवकाश पाएका प्रमुख विशेषज्ञ डा भीमसिंह तिंकरीको स्थान खाली छ । सो स्थानमा बढुवा गर्नका लागि गत ६ चैतमै सूचना निकालेको थियो । त्यसबेला प्रतिस्पर्धामा सहभागी हुन चाहनेले फारम डाउनलोड गरी १५ दिन भित्र मन्त्रालयमा बुझाउन भनिएको थियो । तर यो विषयले लामो समय लियो ।

‘कहिले लोकसेवा आयोगको मान्छेको फुर्सद नहुने, कहिले सचिवको फुर्सद नहुने, कहिले चुनावको आचारसंहिता लाग्ने, विविध कारणले बढुवा प्रक्रिया ढिलाई हुँदै गयो । तर अब सम्भवत भोलि नाम सिफारिस हुनेछ,’ ती सदस्यले भने ।

बढुवाका लागि  चर्चामा को को ?

बाह्रौं तहको बढुवाका लागि तीन जनाको नाम चर्चामा छ । मेची अस्पतालमा कार्यरत डा टंक बाराकोटी, स्वास्थ्य स्थान जनसंख्या मन्त्रालयमा कार्यरत डा संगीता मिश्रा र लुम्बिनी प्रदेशका स्वास्थ्य सचिव डा विकास देवकोटाको नाम चर्चामा छ ।

समिति पनि यिनै तीन जनामा केन्द्रीत छ । तर नाम पठाउँदा तीन जनाको पठाउने कि दुई जनाको पठाउने भन्नेमा अझै टुंगो लागि नसकेको ती सदस्यले बताए ।

‘स्वास्थ्यको विगतको प्रचलन हेर्दा यसपटक दुई जनाको मात्रै नाम पठाउनु पर्ने हुन्छ । किनभने ऐनमा कम्तीमा ५० प्रतिशत बढी सिफारिस गर्नु भन्ने छ । त्यसैले यसपटक दुई जनाको नाम सिफारिस हुनसक्छ । त्यो पनि भोलि नै टुंगो लाग्छ,’ ती सदस्यले भने ।

उनले अहिले सिफारिसमा पर्ने चर्चा गरिएका तीन जनामध्ये केहीको नाममा विवाद देखिएकोले सूचीमा नयाँ व्यक्ति पर्न सक्ने पनि संकेत गरे ।

‘केही मिडियामा प्रस्तावित हुन सक्ने नाममा विवादित कुराहरु पनि उठेको छ । बैठकले त्यस विषयमा पनि गम्भीर हुन्छ नै । आरोप पुष्टि हुनसकेमा अर्कोले अवसर पाउन पनि सक्छ । यो त सिम्पल कुरा हो,’ ती सदस्यले अन्तिममा भने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *