स्वास्थ्य बीमा बोर्डले भन्यो, ‘चालु आर्थिक बर्षमा मात्रै ८ अर्ब १३ करोड रुपैयाँ भुक्तानी गरिसक्यौँ, बाँकी पनि छिटै गर्ने छौँ’

काठमाडौँ, ९ असार । स्वास्थ्य बीमामा आवद्ध नागरिकहरुको उपचार गरे वापत स्वास्थ्य बीमा बोर्डले आफूसंग सम्झौँता गरेका अस्पतालहरुलाई चालु आथिक बर्षमा मात्रै ८ अर्ब १३ करोड रुपैयाँ भुक्तानी गरिसकेको जनाएको छ । उपचार गरे वापतको भुक्तानीमा ढिलाई भएको भन्दै केही अस्पतालहरुले बीमा कार्यक्रम बन्द गर्ने चेतावनी दिएपछि बीमा बोर्डले यस्तो जानकारी दिएको हो ।

बोर्डका कार्यकारी निर्देशक डा दामोदर बसौलाले आज एक विज्ञप्ती जारी गर्दै आर्थिक बर्ष २०७८/०७९ मा विगत बर्षमा बाँकी रहेका १९ लाख ९ हजार ५७ संख्याको दावी र चालु आवमा ३३ लाख ७५ हजार ८३७ गरी कुल ५२ लाख ८४ हजार ८९४ संख्याका दावीहरु परीक्षण गरी ८ अर्ब १३ करोड रुपैयाँ भुक्तानी भएको जानकारी दिए ।

उनले बोर्डमा दैनिक दावी हुनेसंख्या बढ्दोक्रममा रहेको र दावी परीक्षणका लागि जनशक्तिको अभावमा केही बिलम्ब भएको भन्दै निकट भविस्यमै बैज्ञानिक प्रविधिबाट यसलाई व्यवस्थित गरिने बताए । उनले चालु आव तर्फ १५ जेठसम्मको १८ लाख ५३ हजार ९५३ वटा दावीलाई प्राथमिकताका साथ परीक्षण गर्ने कार्य भैरहेको समेत जानकारी दिए ।

सो अवसरमा उनले बीमा कोष व्यवस्थापन तथा संचालन र्काविधि २०७८ अनुसार स्वास्थ्य बीमा कोष स्थापना भई बोर्डमा प्राप्त सम्पूर्ण रकम उक्त कोषमा मौज्दात रहने व्यवस्था भएको भन्दै दावीहरुको बाह्रै महिना भुक्तानी हुने बताए ।

सामाजिक स्वास्थ्य सुरक्षाको अवधारणामा सञ्चालित स्वास्थ्य बीमा कार्यक्रमलाई कम्पनी मार्फत सञ्चालन गर्ने भन्दै बजेटमा आएपछि सेवाप्रदायक र सेवाग्राहीमा अन्योलता उत्पन्न भएको थियो । यो कदमको सत्तारुढ घटककै नेताहरुले विरोध गरेपछि अर्थ मन्त्री जनार्दन शर्माले कम्पनीमा लैजाने निर्णयबाट व्याक भएको बताएका छन् ।

सरकारले नै बजेटमा बीमालाई प्राथमिकतामा नराखेको र मोडालिटी समेत परिवर्तन खोजेको भन्दै कतिपय अस्पतालहरुले बीमा कार्यक्रम बन्द गर्ने चेतावनी दिन थालेका हुन् ।

विसं २०७२ साल २५ चैतबाट सुरु भएको स्वास्थ्य बीमा कार्यक्रममा अहिलेसम्म ७७ जिल्लाका ७४६ वटा स्थानीय तहका करीब ५६ लाख ३९ हजार नागरिक आवद्ध भएका छन् । बोर्डले आफूसंग आवद्ध भएका नागरिकलाई स्वास्थ्य उपचार सेवा दिन ४५० वटा स्वास्थ्य प्रदायक संस्थासंग सम्झौँता गरी बीमा कार्यक्रम सञ्चालन गरेको छ ।

यो कार्यक्रममा प्रतिपरिवारले ३ हजार रुपैयाँ तिरेर एक लाख रुपैयाँ सम्मको उपचार सेवा लिन सक्नेछन् ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *