फोहर व्यवस्थापन गर्ने विषयमा बन्चरेडाँडाबासीसंग १८ बुँदे सहमति, काठमाडौँको फोहर आजैबाट उठ्ने
काठमाडौं, २७ जेठ। काठमाडौं महानगरपालिका र सिसडोल बञ्चरेडाँडा–कुँडुले ल्याण्डफिल साइट क्षेत्रका बासिन्दाबीच १८ बुँदे सहमति भएको छ ।
यसअघि २३ जेठमा शहरी विकास मन्त्रालयमा भएको महानगरपालिका र स्थानीय जनप्रतिनिधिबीचको १० बुँदे सहमतिलाई स्थानीय संघर्ष समितिले अस्विकार गर्दै अवरोध जारी राखेपछि बिहीबार राती पुन बार्ता भएको थियो ।
मन्त्रालयमा गएराति १ बजेतिर सम्पन्न बैठकमा फोहोर ढुवानी गर्ने कार्य दीर्घकालीनसम्म रातिमा मात्र गर्ने र रातिको लागि आवश्यक बत्ती तथा बाटोको निर्माण महानगरपालिकाले तीन महिनाभित्र गर्ने लगायतका सहमति भएको हो ।
सिसडोल तथा बन्चरे डाँडामा फोहोरको दुर्गन्ध नआउने गरी काठमाडौं महानगरपालिकाले एक महिनाभित्र व्यवस्थापन गर्ने, फोहोरबाट निस्कने लिच्चड खोलामा नमिसाउने गरी दुई महिनाभित्र वैज्ञानिक व्यवस्थापन गर्ने, फोहोर बोक्ने गाडीबाट बाटोमा लिच्चड नचुहिने व्यवस्था एक महिनाभित्र मिलाउने लगायतका सहमति पनि भएको छ । पछिल्लो सहमतिमा पनि २३ जेठमा गरिएको १० बुँदे सहमतिलाई पनि कार्यान्वयन गर्ने उल्लेख छ ।
यो सहमतिसंगै काठमाडौँ उपत्यकामा थुप्रिएको फोहर आजैबाट उठ्नेछ ।
काठमाडौँमा लामो समयदेखि थुप्रिएको फोहर उठाउन नसक्दा शहर दुर्गन्धित भएको थियो ।
चिकित्सक तथा जनस्वास्थ्यका अगुवाहरुले महामारी फैलिन सक्ने चेतावनी दिएका थिए ।
सम्पर्क इमेल : [email protected]