कर्णाली प्रदेशले आफ्ना लागि आफै खोज्यो विशेषज्ञ चिकित्सक

काठमाडौँ, ९ कात्तिक । कर्णाली प्रदेशले आफ्नो लागि आवश्यक विशेषज्ञ चिकित्सक आफै भर्ना गर्ने प्रक्रिया शुरु गरेको छ । सो प्रदेशको सामाजिक विकास मन्त्रालयले १० दिन अघि सूचना जारी गर्दै विभिन्न विधाका १० जना विशेषज्ञ चिकित्सकका लागि दरखास्त आवहान गरेको हो ।

पन्ध्र दिनको अवधी राखि प्रकाशित सूचनामा सामाजिक विकास मन्त्रालय सुर्खेतका लागि एमडीजीपी र प्रसूति तथा स्त्री रोग विशेषज्ञ २ जना, बालरोग तथा फिजिसियन गरी २ जना माग गरिएको छ । यस्तै प्रदेश अस्पताल सुर्खेतका लागि फिजिसियन १ जना, हाडजोर्नी तथा नसारोग विशेषज्ञ १ जना, प्याथोलोजिष्ट तथा साई्रक्याटिसियन गरी १ – १ जना माग गरिएको छ ।

यस्तै जिल्ला अस्पताल मुगु र रुकुमका लागि एमडीजीपी तथा प्रसूति तथा स्त्रीरोग विशेषज्ञ १ – १ जना माग गरिएको छ ।

कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख बृषबहादुर शाहीले सबै जिल्लामा विशेषज्ञ सेवा उपलव्ध गराउने नीति अनुरुप यो दरखास्त आवहान गरिएको बताए । उनले सो कार्यक्रमका लागि आर्थिक बर्ष २०७५ /२०७६ का लागि पहिले नै तीन करोड रकम विनियोजन गरिएको बताए ।

नियुक्ति करारको ढाँचामा लिने भएपनि मन्त्रालयले विशेषज्ञ चिकित्सकका लागि परामर्श सेवाका लागि प्रस्ताव माग गरिएको भन्दै सूचना निकालेको छ । ‘अहिलेका लागि असार मसान्त सम्मका लागि करार जस्तै गरी भर्ना गर्न खोजिएको हो । तर सुविधाका हकमा हामीले विशेषज्ञसंग प्रस्ताव मागेका छौँ । कति सुविधामा उहाँहरुले सेवा दिन सक्नुहुन्छ भनेर । त्यसका लागि हामीले फरम्याट नै तयार गरेका छौँ,’ महाशाखा प्रमुख शाहीले भने ।

उनले प्रदेश र जिल्ला अस्पताल प्रदेश सरकारको मातहतमा रहने भएको र त्यसस्थानबाट विशेषज्ञ सेवा उपलव्ध गराउने दायित्व समेत प्रदेश सरकारकै भएकोले विशेषज्ञका लागि प्रस्ताव आवहान गरेको स्पष्ट पारे ।

आफ्ना जिल्ला तथा क्षेत्रका अस्पतालमा विशेषज्ञ सेवा उपलव्ध गराउन भन्दै प्रस्ताव माग्ने कर्णाली प्रदेश सम्भवत पहिलो प्रदेश बनेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *