बुढानीलकण्ठबासीलाई चाबहिलको हेल्पिङ ह्याण्ड्स अस्पतालमा उपचारमा छुट

नगरपालिका र अस्पतालबीच पाँचवर्षे स्वास्थ्य सेवा सम्झौता
0
Shares

काठमाडौं, २० कात्तिक। बुढानीलकण्ठ नगरपालिकाका नागरिकले अब देखि चाबहिलस्थित हेल्पिङ ह्याण्ड्स सामुदायिक अस्पतालबाट उपचार सेवामा विशेष छुट पाउने भएका छन्।

यससम्बन्धी सम्झौतामा शुक्रबार नगरप्रमुख मिठाराम अधिकारी र अस्पतालका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. गुप्तबहादुर श्रेष्ठले हस्ताक्षर गरेका छन्।

सम्झौताअनुसार नगरपालिकाभित्र स्थायी बसोबास गर्ने नागरिक, नगरपालिकाका स्वास्थ्य चौकी तथा नगर अस्पतालबाट प्रेषण गरिएका बिरामी र नगरपालिकाअन्तर्गतका कार्यालयमा कार्यरत कर्मचारीले अस्पतालबाट विभिन्न स्वास्थ्य सेवा छुटसहित प्राप्त गर्नेछन्।

सम्झौतामा बहिरङ्ग (ओपीडी) सेवामा जनरलतर्फ ४० प्रतिशत र अन्य सेवामा २० प्रतिशत छुट दिने उल्लेख छ। त्यस्तै, जनरल बेडमा ४० प्रतिशत, डायलसिससम्बन्धी सेवामा १५ देखि २० प्रतिशत, प्याथोलोजी ल्याब तथा एक्सरे, भिडियो एक्सरे र इकोकार्डियोग्राफीमा २० प्रतिशत छुट उपलब्ध हुनेछ।

यसैगरी, ठूलो तथा सानो शल्यक्रियामा १५ प्रतिशत, प्रसूति सेवामा २० प्रतिशत, फार्मेसीमा सात प्रतिशत र सघन उपचार कक्ष तथा एचडीयू सेवामा १५ प्रतिशत छुट दिइनेछ। इन्डोस्कोपी, सीटी स्क्यान, एमआरआई, ईईजी, एबीपी, होल्टर, फिजियोथेरापीलगायत अन्य निदानात्मक सेवामा पनि १५ प्रतिशत छुटको व्यवस्था गरिएको छ।

सम्झौताअनुसार नगरपालिकाले सिफारिस गरेका वा स्वास्थ्य चौकी तथा नगर अस्पतालबाट प्रेषण गरिएका बिरामीलाई अस्पतालले सम्झौतामा उल्लेखित सेवा तथा सुविधा उपलब्ध गराउनेछ। साथै, नगरपालिकाभित्र सञ्चालन हुने स्वास्थ्यसम्बन्धी कार्यक्रम र आवश्यकताअनुसार जनस्वास्थ्य अनुसन्धानका काममा अस्पतालले सहयोग गर्नेछ।

अस्पतालमा उपचार गराई फर्किएका प्रेषित बिरामीको थप उपचारपछिको फलोअप सेवा नगरपालिका अन्तर्गतका स्वास्थ्य चौकी वा नगर अस्पतालबाट उपलब्ध गराउने व्यवस्था मिलाउन पनि दुवै पक्ष सहमत भएका छन्।

२०८३ कात्तिक २० गतेदेखि लागू हुने सम्झौता पाँच वर्षसम्म कायम रहनेछ। दुवै पक्षको आपसी सहमतिमा प्रत्येक पाँच वर्षमा सम्झौता नवीकरण गर्न सकिने व्यवस्था गरिएको छ।

यस सम्झौताले बुढानीलकण्ठका नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवामा सहज पहुँच पुर्‍याउनुका साथै उपचार खर्चको भार कम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *