शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले विभिन्न पदका १५१ जना स्वास्थ्यकर्मी माग्यो

0
Shares

धनगढी, २६ भदौ । कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले ३०० बेडको अस्पताल सञ्चालनका लागि ठूलो संख्यामा स्वास्थ्य जनशक्ति माग गरेको छ।

प्रादेशिक अस्पतालसँग समेत सम्झौता गरी अध्ययनरअध्यापन सुरु गर्ने तयारी गरिरहेको विश्वविद्यालयले अस्पतालका लागि ठूलो संख्यामा जनशक्ति पदपूर्ति गर्न खोजेको हो ।

विश्वविद्यालयका रजिस्ट्रार भीम चन्दका अनुसार विश्वविद्यालयले सूचना प्रकाशन भएको मितिले सात दिनभित्र इच्छुक नेपाली नागरिकबाट दरखास्त आह्वान गरेको छ।

विश्वविद्यालयले मेडिकल अधिकृत १०, डेन्टल सर्जन ४, बायोमेडिकल इन्जिनियर १, नर्सिङ अधिकृत १०, रेडियोग्राफी अधिकृत १, फार्मेसी अधिकृत २, फिजियोथेरापी अधिकृत २, ल्याब टेक्नोलोजिस्ट ३, स्टाफ नर्स ९०, सहायक ल्याब टेक्निसियन १०, सहायक रेडियोग्राफर ६, फिजियोथेरापी सहायक १० र फार्मेसी सहायक २ जना माग गरेको छ।

यसअनुसार अस्पतालका लागि विभिन्न तहका १५१ जना जनशक्ति माग गरिएको छ। मेडिकल अधिकृतका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट एमबीबीएस वा सोसरह उत्तीर्ण गरी सम्बन्धित काउन्सिलमा दर्ता भएको हुनुपर्नेछ।

डेन्टल सर्जनका लागि बीडीएस तथा बायोमेडिकल इन्जिनियरका लागि बायोमेडिकल इन्जिनियरिङमा स्नातक उत्तीर्ण गरी सम्बन्धित काउन्सिलमा दर्ता भएको हुनुपर्ने सूचनामा उल्लेख छ।

त्यस्तै, नर्सिङ अधिकृतका लागि नर्सिङमा स्नातक, रेडियोग्राफी अधिकृतका लागि रेडियोग्राफीमा स्नातक, फार्मेसी अधिकृतका लागि फार्मेसीमा स्नातक, फिजियोथेरापी अधिकृतका लागि फिजियोथेरापीमा स्नातक र ल्याब टेक्नोलोजिस्टका लागि बीएमएलटी वा सोसरह उत्तीर्ण गरी सम्बन्धित काउन्सिलमा दर्ता भएको हुनुपर्नेछ।

स्टाफ नर्सका लागि नर्सिङ विषयमा प्रमाणपत्र तह वा सोसरह, सहायक ल्याब टेक्निसियनका लागि हेल्थ ल्याबमा प्रमाणपत्र तह, सहायक रेडियोग्राफरका लागि रेडियोग्राफीमा प्रमाणपत्र तह, फिजियोथेरापी सहायकका लागि फिजियोथेरापीमा प्रमाणपत्र तह र फार्मेसी सहायकका लागि फार्मेसीमा प्रमाणपत्र तह उत्तीर्ण गरी सम्बन्धित काउन्सिलमा दर्ता भएको हुनुपर्नेछ।

विश्वविद्यालयले २०८३ भदौ २६ गते करार सेवामा पदपूर्तिका लागि सूचना नम्बर ०१ प्रकाशित गर्दै दरखास्त आह्वान गरेको हो।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *