सन्दर्भ: २७ औँ राष्ट्रिय आरोग्य दिवस एवं धन्वन्तरि जयन्ती २०८३

प्रकृतिअनुकूल आहार, औषध र विहार: निरोगी नेपाल र रोगमुक्त समाजको शाश्वत आधार

0
Shares

स्वास्थ्य मानव जीवनको सबैभन्दा महत्त्वपूर्ण सम्पत्ति हो। स्वस्थ नागरिकबिना स्वस्थ समाज र समृद्ध राष्ट्रको परिकल्पना गर्न सकिँदैन। स्वास्थ्य भन्नाले रोग नलागेको अवस्थालाई मात्र बुझिँदैन; शारीरिक, मानसिक, सामाजिक तथा आध्यात्मिक रूपमा सन्तुलित र सक्षम जीवनयापन गर्न सक्ने अवस्थालाई पनि बुझिन्छ। यही समग्र स्वास्थ्यको अवधारणालाई प्राचीनकालदेखि आत्मसात् गर्दै आएको चिकित्सा दर्शन हो-आयुर्वेद।

प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिन देशभर मनाइने धन्वन्तरि जयन्ती र २७औँ राष्ट्रिय आरोग्य दिवस (२०८३) केवल एउटा परम्परागत धार्मिक वा सांस्कृतिक पर्व मात्र होइन। यो आधुनिक जनस्वास्थ्यका गम्भीर चुनौतीहरूलाई परास्त गर्दै निरोगी समाज निर्माण गर्ने रणनीतिक अवसर पनि हो। यस वर्षको मूल नारा “प्रकृति अनुकूल आहार, औषध र विहार: रोगमुक्त समाजको आधार” रहेको छ, जसले आधुनिक मानव समाजलाई प्राकृतिक जीवनशैलीतर्फ फर्कन स्पष्ट मार्गदर्शन गर्दछ।

भगवान् धन्वन्तरि: आयुर्वेदका प्रवर्तक र आरोग्यताका प्रतीक
आयुर्वेदका प्रवर्तक भगवान् धन्वन्तरिको प्रादुर्भाव केवल एक पौराणिक आख्यान मात्र नभई मानव सभ्यतामा रोग निवारण र प्राचीन चिकित्सा विज्ञानको संस्थागत विकासको आधार स्तम्भ हो। सनातन वैदिक ग्रन्थहरूका अनुसार देव र असुरहरू मिलेर नागको नेती र मन्दराचल पर्वतको मदानी बनाई समुद्र मन्थन गर्दा कार्तिक कृष्ण त्रयोदशीका दिन रोगग्रस्त मानव जातिको रोग निवारणका लागि हातमा अमृत कलश र जडीबुटी लिएर भगवान् धन्वन्तरिको उत्पत्ति भएको थियो।

वैदिक हिन्दू दर्शनका चार उपवेदहरूमध्येको एक आयुर्वेदको पुस्तक र प्रकृतिदत्त औषधिको प्रतीकका रूपमा जडीबुटी धारण गर्नुभएका धन्वन्तरिलाई सम्पूर्ण आयुर्वेद चिकित्सा क्षेत्रका संस्थापक एवं प्रणेता मानिन्छ। धन्वन्तरिको स्वरूपमा एक हातमा अमृतकलश, अन्य हातमा शङ्ख, चक्र तथा औषधीय वनस्पति वा आयुर्वेदको ग्रन्थ देखाइने परम्परा छ। यी प्रतीकहरूले जीवन रक्षा, रोगमुक्ति, स्वास्थ्य संरक्षण र औषधोपचारको महत्त्वलाई प्रतिनिधित्व गर्छन्।

पौराणिक ग्रन्थहरूमा धन्वन्तरिसम्बन्धी विभिन्न कथाहरू पाइन्छन्। श्रीमद्भागवत, महाभारत, विष्णुपुराण, अग्निपुराण आदिमा समुद्र मन्थनका क्रममा धन्वन्तरि प्रकट भएको उल्लेख छ। हरिवंश पुराणका अनुसार क्षीरसागरबाट प्रकट भएपछि धन्वन्तरिलाई ‘अब्ज’ उपाधि दिइयो र उहाँ भास्कर अर्थात् सूर्यदेवका शिष्य बन्नुभयो। सुश्रुत संहिताको परम्परामा काशीराज दिवोदास धन्वन्तरिलाई शल्यचिकित्साको ज्ञान दिने आचार्यका रूपमा प्रस्तुत गरिएको छ। त्यसैले धन्वन्तरिलाई एउटै ऐतिहासिक व्यक्तित्वका रूपमा सीमित गर्नुभन्दा आयुर्वेदको चिकित्सा ज्ञान, शल्यचिकित्सा परम्परा र आरोग्य चेतनाका आदर्श प्रतिनिधिका रूपमा बुझ्नु उपयुक्त हुन्छ।

भगवान् धन्वन्तरिले प्रतिपादन गर्नुभएको आयुर्वेद दर्शनको मूल सार स्वस्थ र सन्तुलित जीवनशैलीमा आधारित छ। यस दर्शनले आहार र विहारलाई नै प्राथमिक औषधिका रूपमा स्वीकार गर्दै तीन मुख्य अमर सिद्धान्तहरू प्रस्तुत गरेको छ:

 हितभोग: शरीरका लागि पूर्ण रूपमा हितकर, शुद्ध, प्राकृतिक र पोषणयुक्त आहारको मात्र चयन गर्नु यसको पहिलो सिद्धान्त हो। अहितकर, विषाक्त वा शरीरलाई हानि पुर्याउने खाद्यपदार्थबाट टाढा रहनु नै आरोग्यको पहिलो सर्त हो।

 ऋतुभोग: मौसम वा ऋतु परिवर्तन अनुसार शरीरको प्रकृति र पाचक अग्नि अनुकूल खानपान र दिनचर्या समायोजन गर्नु यसको दोस्रो सिद्धान्त हो। प्रकृतिमा आउने परिवर्तनसँगै आहारमा परिवर्तन ल्याउँदा शरीरमा त्रिदोष (वात, पित्त, कफ) को सन्तुलन कायम रहन्छ।

 मितभोग: सन्तुलित, नियमित र सीमित मात्रामा भोजन ग्रहण गर्नु यसको तेस्रो सिद्धान्त हो। आवश्यकताभन्दा बढी भोजन गर्नाले पाचन प्रणाली कमजोर भई रोगको उत्पत्ति हुने भएकाले भोकभन्दा केही कम र सन्तुलित भोजन गर्नु नै मितभोग हो।

आयुर्वेद: स्वास्थ्य संरक्षणको समग्र जीवनदर्शन
‘आयुर्वेद’ शब्द दुई शब्दको संयोजनबाट बनेको छ-‘आयु’ अर्थात् जीवन र ‘वेद’ अर्थात् ज्ञान। यस अर्थमा आयुर्वेद जीवनसम्बन्धी ज्ञान हो। यसले जीवनको अवधि मात्र नभई जीवनको गुणस्तर, स्वास्थ्य संरक्षण, रोगको रोकथाम र दीर्घकालीन आरोग्यतालाई महत्त्व दिन्छ।

आयुर्वेदका प्रमुख आधारहरूमा त्रिदोष (वात, पित्त र कफ), सप्तधातु, त्रिमल, अग्नि, स्रोतस, प्रकृति तथा मनको सन्तुलन पर्दछन्। आयुर्वेदअनुसार व्यक्तिको शारीरिक प्रकृति, उमेर, पाचन क्षमता, ऋतु, देश, आहार र दैनिक व्यवहारअनुसार स्वास्थ्य व्यवस्थापन गर्नुपर्छ। चरक संहितामा स्वस्थ व्यक्तिको स्वास्थ्य रक्षा र रोगीको रोग शमनलाई आयुर्वेदको प्रमुख प्रयोजनका रूपमा उल्लेख गरिएको छ-“स्वास्थ्यस्य स्वास्थ्य रक्षणं आतुरस्य विकार प्रशमनं च”।

आयुर्वेदलाई केवल जडिबुटीको प्रयोग वा घरेलु औषधिको सङ्ग्रह मात्र भनियो भने त्यो यसको विशाल दायराप्रतिको अन्याय हुनेछ। आयुर्वेदले मानिसको शरीर, मन, इन्द्रिय र आत्मालाई एकै प्रणालीका रूपमा हेर्छ। दिनचर्या, ऋतुचर्या, उचित आहार, विहार, निद्रा, व्यायाम, योग, प्राणायाम, ध्यान, मानसिक सन्तुलन र व्यक्तिगत स्वच्छता आयुर्वेदिक जीवनशैलीका महत्त्वपूर्ण पक्ष हुन्।

नेपालमा आयुर्वेदको संस्थागत विकास र आरोग्य दिवसको ऐतिहासिक यात्रा
नेपालमा आयुर्वेद चिकित्सा पद्धतिको आफ्नै मौलिक र प्राचीन इतिहास छ। जडीबुटीको धनी देश नेपालमा औपचारिक रूपमा आयुर्वेद शिक्षा र चिकित्सा प्रणालीको विकास हुनुमा धन्वन्तरि जयन्तीको विशेष भूमिका रहेको छ। वि.सं. १९८५ (केही ऐतिहासिक अभिलेखमा वि.सं. १९७४ उल्लेख भए तापनि संस्थागत निरन्तरताका आधारमा वि.सं. १९८५) मा राजकीय आयुर्वेद महाविद्यालयको स्थापना भएसँगै नेपालमा विधिवत् रूपमा यो दिवस मनाउन थालिएको इतिहास छ।

नेपालमा धन्वन्तरि जयन्ती र राष्ट्रिय आरोग्य दिवसको विकासक्रमलाई निम्न तालिकामा स्पष्ट रूपमा प्रस्तुत गरिएको छ:


नेपालमा आयुर्वेदको संस्थागत सुदृढीकरण र प्रवर्द्धनमा विभिन्न सरकारी तथा अर्धसरकारी निकायहरूले महत्त्वपूर्ण योगदान पुर्याउँदै आएका छन्। सिंहदरबार वैद्यखाना, नरदेवी आयुर्वेद अस्पताल, कीर्तिपुरस्थित आयुर्वेद क्याम्पस, नेपाल संस्कृत विश्वविद्यालय अन्तर्गतको आयुर्वेद क्याम्पस (दाङ), र जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड (कोटेश्वर) जस्ता संस्थाहरूले स्वदेशी जडीबुटीको प्रशोधन, औषधि उत्पादन, पठनपाठन र स्वास्थ्य सेवा प्रवाहमा अग्रणी भूमिका खेलेका छन्।

मूल नाराको त्रि-आयामिक विश्लेषण: आहार, औषध र विहार
२७औँ राष्ट्रिय आरोग्य दिवसको मूल नारा “प्रकृति अनुकूल आहार, औषध र विहार, रोगमुक्त समाजको आधार” ले आधुनिक मानव समाजलाई प्राकृतिक जीवनशैलीतर्फ फर्कन स्पष्ट मार्गदर्शन गर्दछ। यस नाराले जनस्वास्थ्यलाई तीन मुख्य स्तम्भहरूमा विभाजन गरी विश्लेषणात्मक मार्गचित्र प्रस्तुत गरेको छ:
१. प्रकृति अनुकूल आहार
प्रकृति अनुकूल आहार भन्नाले स्थानीय भूगोल, मौसम र प्रकृतिका नियमानुसार प्राप्त हुने जैविक, शुद्ध र सन्तुलित खानपानलाई बुझाउँछ। आजको आधुनिक समाजमा अप्राकृतिक, रसायनयुक्त, अत्यधिक प्रशोधित (Processed) र जङ्क फुडको प्रयोग तीव्र रूपमा बढेको छ। यस्तो खानपानले पाचन प्रणालीलाई बिगारेर नसर्ने रोगहरू, जस्तै: मधुमेह, उच्च रक्तचाप, मोटोपना र मिर्गौला सम्बन्धी जटिलताहरू बढाएको छ।

स्थानीय रूपमा उत्पादन हुने ताजा फलफूल, सागपात, गेडागुडी र परम्परागत अन्नको प्रयोगले मात्र शरीरमा आवश्यक पोषक तत्त्व पुर्याई रोग प्रतिरोधी क्षमता अभिवृद्धि गर्न सकिन्छ। नेपालको सन्दर्भमा कोदो, फापर, जौ, मकै, गहुँ, स्थानीय चामल, दाल, गेडागुडी, हरियो सागसब्जी, मौसमी फलफूल तथा परम्परागत खाद्य पदार्थलाई प्रोत्साहन गर्नु आवश्यक छ। अत्यधिक प्रशोधित खाना, बढी नुन, चिनी र अस्वस्थकर बोसोयुक्त खाद्य पदार्थको सेवन घटाउनु पनि उत्तिकै महत्त्वपूर्ण छ।

आहारसम्बन्धी केही व्यावहारिक पक्षहरू:
 भोक, उमेर र शारीरिक आवश्यकताअनुसार सन्तुलित भोजन गर्ने।
 दैनिक खानामा पर्याप्त फलफूल र तरकारी समावेश गर्ने।
 प्रशोधित खाना, अत्यधिक चिनी, नुन र अस्वस्थकर बोसोको सेवन सीमित गर्ने।
 स्वच्छ र सुरक्षित खानेपानी पिउने।
 खाना खाने समय र खानपानको नियमितता कायम राख्ने।
 मौसमअनुसार उपलब्ध स्थानीय खाद्य पदार्थलाई प्राथमिकता दिने।

२. प्रकृति अनुकूल औषध
नेपाल जडीबुटीको प्राकृतिक भण्डार हो। हिमाल, पहाड र तराईका विभिन्न भौगोलिक क्षेत्रमा पाइने औषधीय वनस्पतिहरू आयुर्वेदिक उपचार तथा परम्परागत स्वास्थ्य प्रणालीका महत्त्वपूर्ण स्रोत हुन्। यसांगुम्बा, जटामसी, चिराइतो, गुर्जो, अश्वगन्धा, तुलसी, हर्रो, बर्रो, अमला, टिमुरलगायतका वनस्पतिहरू विभिन्न परम्परागत औषधीय प्रयोगमा परिचित छन्।
स्वदेशी जडीबुटी, आयुर्वेद र प्राकृतिक चिकित्सा पद्धतिको प्रयोगले शरीरमा हानी नपुर्याई रोगको जरादेखि नै निवारण गर्न मद्दत गर्दछ। विश्वव्यापी कोरोना महामारीका बेला मानव शरीरमा रोग प्रतिरोधी क्षमता (Immunity) बढाउन आयुर्वेदिक जडीबुटीहरूको उपयोग गरिएको थियो। सो समयमा महामारीबाट बच्नका लागि जडीबुटी गुर्जोको माग तीव्र रूपमा बढेको थियो।
तर जडीबुटी प्राकृतिक भएकै कारण सबै अवस्थामा सुरक्षित हुन्छन् भन्ने मान्यता गलत हो। औषधीय वनस्पतिको मात्रा, गुणस्तर, प्रयोग विधि, औषधिसँगको अन्तरक्रिया तथा व्यक्तिको स्वास्थ्य अवस्थाले यसको प्रभाव र सुरक्षामा फरक पार्न सक्छ। त्यसैले आयुर्वेदिक औषधिको प्रयोग योग्य चिकित्सकको सल्लाहमा गर्नुपर्छ। आधुनिक औषधि सेवन गरिरहेका बिरामीले चिकित्सकीय परामर्शबिना औषधि बन्द गर्ने वा आफैं जडीबुटी तथा अन्य औषधि थप्ने गर्नु हुँदैन।

३. प्रकृति अनुकूल विहार
विहार भन्नाले मानिसको दैनिक जीवनशैली, व्यवहार र गतिविधि भन्ने बुझिन्छ। प्रकृति अनुकूल विहार अन्तर्गत योग, ध्यान, नियमित शारीरिक व्यायाम, प्रातः भ्रमणका साथै प्राकृतिक दिनचर्या र ऋतुचर्याको पालना पर्दछन्। आधुनिक जीवनशैलीका कारण मानिसहरूमा बढेको मानसिक तनाव, अनिद्रा र शारीरिक निष्क्रियतालाई चिर्न प्रकृतिसँगको सामीप्यता अनिवार्य छ। सूर्योदयसँगै उठ्ने, समयमा सुत्ने र प्राकृतिक वातावरणमा समय बिताउनाले मानसिक शान्ति र शारीरिक सबलता प्राप्त हुन्छ।
स्वस्थ विहारका लागि निम्न अभ्यास उपयोगी छन्:

 नियमित हिँडडुल तथा शारीरिक व्यायाम गर्ने।
 योग, प्राणायाम र ध्यानलाई दैनिक जीवनमा समावेश गर्ने।
 उमेर र स्वास्थ्य अवस्थाअनुसार पर्याप्त निद्रा लिने।
 मानसिक तनाव व्यवस्थापन गर्ने।
 धूमपान, सुर्गीजन्य पदार्थ र मदिराजन्य पदार्थबाट टाढा रहने।
 व्यक्तिगत सरसफाइ र वातावरणीय स्वच्छतामा ध्यान दिने।
 परिवार तथा समुदायसँग सकारात्मक सम्बन्ध कायम राख्ने।
 काम र आरामबीच सन्तुलन कायम गर्ने।

जनस्वास्थ्यको आधुनिक चुनौती: नसर्ने रोग नियन्त्रणमा आयुर्वेदको भूमिका
आधुनिक चिकित्सा विज्ञानका अगाडि आज नसर्ने रोगहरू (Non-Communicable Diseases) सबैभन्दा ठूलो चुनौतीका रूपमा खडा भएका छन्। नेपालको स्वास्थ्य क्षेत्रमा पछिल्ला वर्षहरूमा मधुमेह, उच्च रक्तचाप, मुटुरोग, मिर्गौला रोग, मोटोपना, श्वासप्रश्वाससम्बन्धी दीर्घकालीन रोग तथा विभिन्न प्रकारका क्यान्सर प्रमुख जनस्वास्थ्य चुनौतीका रूपमा रहेका छन्। नसर्ने रोगहरूको मुख्य कारण अप्राकृतिक जीवनशैली, अस्वस्थ आहार र मानसिक तनाव नै हुन्।

“Prevention is Better than Cure” (उपचारभन्दा रोकथाम उत्तम) को रणनीतिक महत्त्व:

 नसर्ने रोगको रोकथाम: मधुमेह (Diabetes), उच्च रक्तचाप (Hypertension), र तनाव (Stress) जस्ता दीर्घकालीन रोगहरू औषधि खाएर नियन्त्रण गर्नुभन्दा रोग लाग्नै नदिने जीवनशैली अपनाउनु बुद्धिमानी हुन्छ। आयुर्वेदको मूल दर्शन नै “स्वास्थ्यस्य स्वास्थ्य रक्षणं आतुरस्य विकार प्रशमनं च” हो।

 नागरिक आरोग्य कार्यक्रमको पहुँच: नेपाल सरकारले नागरिकलाई घरदैलोमै प्राकृतिक स्वास्थ्य सेवा पुर्याउन नागरिक आरोग्य कार्यक्रम सञ्चालन गरिरहेको छ। यो कार्यक्रम हाल देशका ४२४ भन्दा बढी पालिकाहरूमा सुरु भइसकेको छ भने केहि पालिकामा लागू हुने क्रममा रहेको छ। यसले स्थानीय तहसम्म नागरिकलाई योग, ध्यान र आयुर्वेदबारे सचेत गराइरहेको छ।

 एकीकृत चिकित्सा पद्धति: आधुनिक एलोपेथिक चिकित्सा र प्राचीन एकीकृत आयुर्वेद चिकित्सा पद्धतिको समन्वय आवश्यक छ। नेपाल सरकार र सरोकारवाला निकायहरूले नसर्ने रोगको रोकथाम र उपचारका लागि यी दुवै पद्धतिलाई एकीकृत रूपमा सञ्चालन गर्ने नीति लिएका छन्, जसले स्वास्थ्य क्षेत्रमा सकारात्मक नतिजा दिनेछ।

विश्व स्वास्थ्य संगठनले पनि परम्परागत, पूरक तथा एकीकृत चिकित्साको क्षेत्रमा प्रमाणमा आधारित, सुरक्षित र प्रभावकारी अभ्यासको महत्त्वलाई जोड दिँदै आएको छ। आयुर्वेद र आधुनिक चिकित्साबीच प्रतिस्पर्धा वा विरोधको वातावरण सिर्जना गर्नुको सट्टा बिरामीको हितलाई केन्द्रमा राखेर सहकार्यको वातावरण निर्माण गर्नुपर्छ।

समृद्ध नेपालका लागि निरोगी नागरिक: दायित्व र मार्गचित्र
आरोग्य केवल व्यक्तिगत शारीरिक स्वस्थता मात्र होइन, यो त राष्ट्रिय समृद्धि र “समृद्ध नेपाल, सुखी नेपाली” को राष्ट्रिय सङ्कल्प हासिल गर्ने पहिलो पूर्वसर्त हो। रोगी नागरिकहरू रहेको देश कहिल्यै समृद्ध हुन सक्दैन। त्यसैले २७औँ राष्ट्रिय आरोग्य दिवस एवं धन्वन्तरि जयन्तीले हामी सबैलाई आफ्ना पुराना गल्ती सुधारेर प्रकृतितर्फ फर्किने र निरोगी नेपाल निर्माणमा योगदान पुर्याउने अवसर प्रदान गरेको छ।

निरोगी समाज निर्माणका लागि निम्न दायित्व र प्रतिबद्धताको आवश्यकता छ:

१. व्यक्तिगत दायित्व:
 प्रत्येक नागरिकले आफ्नो खानपानमा सुधार गरी जैविक र सन्तुलित आहार ग्रहण गर्ने।
 दैनिक जीवनमा योग, ध्यान र शारीरिक व्यायामलाई समावेश गर्दै दिनचर्या र ऋतुचर्याको इमानदारीपूर्वक पालना गर्ने।
 धूम्रपान तथा हानिकारक मदिरापानबाट टाढा रहने, तनाव व्यवस्थापन गर्ने र समयमै स्वास्थ्य परीक्षण गराउने बानी विकास गर्ने।

२. सामाजिक दायित्व:
 आफ्नो वरपर पाइने स्थानीय जडीबुटीहरू (जस्तै: गुर्जो, तुलसी, नीम आदि) को पहिचान, संरक्षण र प्रवर्द्धन गर्ने।
 समुदायस्तरमा सरसफाइ, वातावरण संरक्षण र सामूहिक योग/ध्यान केन्द्रहरूको स्थापनामा योगदान दिने।
 विद्यालय, समुदाय, महिला स्वास्थ्य स्वयंसेविका, स्थानीय संघसंस्था तथा सञ्चारमाध्यममार्फत स्वस्थ आहार, व्यायाम, योग, सरसफाइ र रोग रोकथामसम्बन्धी कार्यक्रम सञ्चालन गर्ने।

३. राज्यको दायित्व:
 नागरिक आरोग्य सेवा केन्द्रहरूलाई देशका सबै स्थानीय तह र वडासम्म विस्तार गर्ने।
 सिंहदरबार वैद्यखाना, नरदेवी आयुर्वेद अस्पताल र आयुर्वेद क्याम्पसहरूको भौतिक तथा प्राविधिक सुदृढीकरण र आधुनिकीकरण गर्ने।
 स्वदेशी जडीबुटीको व्यावसायिक खेती, प्रशोधन, र नेपाल स्वास्थ्य अनुसन्धान परिषद् मार्फत वैज्ञानिक अनुसन्धानमा लगानी अभिवृद्धि गर्ने।
 आयुर्वेद स्वास्थ्य संस्थाहरूमा डिजिटल बिरामी अभिलेख, औषधि व्यवस्थापन प्रणाली, अनलाइन परामर्श, स्वास्थ्य शिक्षा, जडीबुटीको डिजिटल अभिलेख र सेवाको नियमित अनुगमन प्रणाली विकास गर्ने।
 संघ, प्रदेश र स्थानीय तहका स्वास्थ्य नीति, योजना तथा बजेटमा प्रमाणमा आधारित आयुर्वेद स्वास्थ्य सेवाको विकासलाई उचित स्थान दिने।

निष्कर्ष: नारालाई व्यवहारमा उतारौं
अन्ततः, २७औँ राष्ट्रिय आरोग्य दिवस एवं धन्वन्तरि जयन्तीले प्रत्येक नेपाली नागरिकलाई अप्राकृतिक जीवनशैली त्यागी “प्रकृति अनुकूल आहार, औषध र विहार” अपनाउन प्रेरणा प्रदान गरोस्। भगवान् धन्वन्तरिको आशीर्वाद र हाम्रा मौलिक आयुर्वेद ज्ञानको जगमा निरोगी, स्वस्थ र समुन्नत नेपाल निर्माण गर्ने अभियानमा लागिपर्नु आजको मुख्य आवश्यकता हो।

राष्ट्रिय आरोग्य दिवस तथा भगवान् धन्वन्तरि जयन्तीले हामीलाई स्वास्थ्यप्रतिको जिम्मेवारी पुनः स्मरण गराउँछ। आरोग्यता केवल औषधि सेवन गरेर प्राप्त हुने विषय होइन। यो हाम्रो आहार, विहार, विचार, व्यवहार, वातावरण र जीवनशैलीसँग गहिरो रूपमा जोडिएको विषय हो। आयुर्वेदको मूल सन्देश प्रकृतिसँग अनुकूल भएर जीवनयापन गर्नु, सन्तुलित आहार सेवन गर्नु, उचित औषधिको प्रयोग गर्नु र शारीरिक तथा मानसिक स्वास्थ्यको संरक्षण गर्नु हो। यसलाई आधुनिक स्वास्थ्य विज्ञानको प्रमाणमा आधारित अभ्याससँग समन्वय गर्न सके नागरिकको स्वास्थ्य प्रवर्द्धनमा प्रभावकारी योगदान पुर्‍याउन सकिन्छ।

नेपालको मौलिक जडीबुटी सम्पदा, परम्परागत ज्ञान र आयुर्वेदिक स्वास्थ्य प्रणालीलाई संरक्षण गर्दै अनुसन्धान, प्रविधि, गुणस्तरीय सेवा र जनचेतनासँग जोड्नु आजको आवश्यकता हो। राज्यले स्वास्थ्य सेवालाई प्राथमिकता दिने, स्वास्थ्यकर्मीले सेवाप्रति प्रतिबद्धता जनाउने र नागरिकले स्वस्थ जीवनशैली अपनाउने हो भने रोगको भार घटाउँदै स्वस्थ तथा समृद्ध समाज निर्माण गर्न सकिन्छ।

आउनुहोस्, यस राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरि जयन्तीको अवसरमा प्रण गरौं-प्रकृतिको नजिक जाऊँ, आयुर्वेदलाई आफ्नो जीवनशैली बनाऔं र एक निरोगी, स्वस्थ तथा सुखी समाजको निर्माणमा आ-आफ्नो तर्फबाट योगदान पुर्‍याऔँ।
“सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः।”
(सबै सुखी होऊन्, सबै निरोगी होऊन्।)

#चापागाई,  प्रदेश आयुर्वेद चिकित्सालय, तनहुँमा कविराज अधिकृत पद सातौं तहमा कार्यरत छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *