ललितपुरका ८१ प्रतिशत फार्मेसीमा सिफारिसबिनै एन्टिबायोटिक बिक्री

विभागको अनुगमन पछि थाहा भयो फार्मेसीका गम्भीर लापरबाही
0
Shares

काठमाडौं, २१ कात्तिक । चिकित्सकको सिफारिसबिना एन्टिबायोटिक औषधि बिक्री गर्न नपाइने कानुनी व्यवस्थाको खुलेआम उल्लङ्घन भइरहेको पाइएको छ।

औषधि व्यवस्था विभागले ललितपुरका कम्युनिटी फार्मेसीमा गरेको छड्के अनुगमनका क्रममा १६ मध्ये १३ वटा फार्मेसीले चिकित्सकको सिफारिसबिना अर्थात् मौखिक अनुरोधकै आधारमा एन्टिबायोटिक बिक्री गर्ने गरेको फेला पारेको हो।

अनुगमन गरिएका फार्मेसीमध्ये करिब ८१ प्रतिशतले नियमविपरीत एन्टिबायोटिक बिक्री गरेको पाइएको विभागले जनाएको छ। नियमविपरीत औषधि बिक्री गर्ने फार्मेसी तथा व्यवसायीलाई आवश्यक कारबाहीका लागि विभागमा उपस्थित हुन निर्देशन दिइएको छ।

विभागको अनुगमन टोलीले महालक्ष्मी नगरपालिका र ललितपुर महानगरपालिकाका विभिन्न क्षेत्रमा रहेका फार्मेसीको निरीक्षण गरेको थियो।

अनुगमनका क्रममा अन्विका फार्मेसी, महालक्ष्मी नगरपालिका–१, भर्टेक्स फार्मेसी, महालक्ष्मी नगरपालिका–१, इजी फार्मेसी प्रालि र विश्वास फार्मेसी, ललितपुर महानगरपालिका–१५ मा चिकित्सकको सिफारिसबिना एन्टिबायोटिक बिक्री गरेको पाइएको थियो । यस्तै नवीन फार्मेसी, महालक्ष्मी नगरपालिका–१, गोसाइँकुण्ड फार्मेसी प्रालि र सन्तोषी फार्मेसी, ललितपुर महानगरपालिका–१५ ले पनि नियम उल्लंघन गरेको पाइएको थियो ।

सीमित क्षेत्रमा गरिएको अनुगमनमै यति ठूलो संख्यामा फार्मेसीले चिकित्सकको सिफारिसबिना एन्टिबायोटिक बिक्री गरेको भेटिनुले औषधि बिक्री(वितरणमा नियमन र अनुगमन प्रभावकारी हुन नसकेको संकेत गरेको छ।

विभागका महानिर्देशक भरत भट्टराईले उजुरी, गुनासो आएपछि र विभागले नियमित रुपमा गर्ने अनुगमनका क्रममा फार्मेसीको यस्तो अवस्था देखिएको बताए । उनले विभागले फार्मेसी अनुगमनलाई थप तिब्रता दिने बताए ।

एन्टिबायोटिकको जथाभावी प्रयोगले बढाउँदैछ सुपरबगको जोखिम

एन्टिबायोटिक औषधिको अनावश्यक तथा अनियन्त्रित प्रयोगले प्रतिजैविक प्रतिरोधको जोखिम बढाउँछ। जीवाणुमा एन्टिबायोटिक औषधिविरुद्ध प्रतिरोधात्मक क्षमता विकास हुँदै जानुलाई प्रतिजैविक प्रतिरोध भनिन्छ।

एन्टिबायोटिकको गलत प्रयोग, आवश्यकताभन्दा बढी सेवन वा चिकित्सकीय निर्देशनविपरीत प्रयोग गर्दा जीवाणु औषधिको प्रभावबाट बच्न सक्ने अवस्थामा पुग्छन्। यस्ता जीवाणुलाई सामान्य भाषामा सुपरबग भनिन्छ।

प्रतिजैविक प्रतिरोध बढ्दै जाँदा सामान्य संक्रमणको उपचारसमेत कठिन हुन सक्छ। हाल उपलब्ध औषधिले काम नगर्ने, उपचार अवधि लम्बिने, महँगो औषधि प्रयोग गर्नुपर्ने र गम्भीर अवस्थामा बिरामीको मृत्युसमेत हुन सक्ने जोखिम रहन्छ।

विशेषगरी भाइरसबाट हुने रुघाखोकी तथा फ्लुजस्ता संक्रमणमा एन्टिबायोटिकले काम गर्दैन। तर यस्ता संक्रमणमा समेत एन्टिबायोटिक प्रयोग गर्ने प्रवृत्तिले प्रतिरोधको समस्या थप गम्भीर बनाउँछ।

नेपालमा १०३ प्रकारका एन्टिबायोटिकको बिक्रीमा प्रतिबन्ध

प्रतिजैविक प्रतिरोधको बढ्दो जोखिम नियन्त्रण गर्न नेपालले विश्व स्वास्थ्य संगठनको विश्वव्यापी कार्ययोजनासँग समन्वय गर्दै विभिन्न पहल अघि बढाएको छ।

नेपालमा विश्व स्वास्थ्य संगठनले सिफारिस नगरेका तथा अनावश्यक मानिएका १०३ प्रकारका एन्टिबायोटिकको बिक्री(वितरणमा प्रतिबन्ध लगाइएको विवरण छ।

त्यस्तै, एन्टिबायोटिक औषधि सहजै पहिचान गर्न सकियोस् भन्ने उद्देश्यले औषधिको बाहिरी प्याकिङमा रातो धर्का राख्ने व्यवस्था गरिएको छ।

यसका अतिरिक्त विश्व स्वास्थ्य संगठनसँगको सहकार्यमा नेपालमा एन्टिबायोटिकको खपत, बिक्री(वितरण र प्रयोगको प्रवृत्तिसम्बन्धी तथ्याङ्क संकलन तथा निगरानी गर्ने कार्यक्रमसमेत अघि बढाइएको छ।

एन्टिबायोटिक खपतको तथ्याङ्कका आधारमा नियमन कडा बनाउने तयारी

एन्टिबायोटिकको प्रयोग र खपतको वास्तविक अवस्था पहिचान गरी प्रभावकारी नियमन गर्ने उद्देश्यले सरोकारवालाबीच छलफलसमेत अघि बढाइएको छ।

गत बिहीबार होटल हिमालयमा आयोजित कार्यक्रममा स्वास्थ्य विभागका महानिर्देशक, औषधि आयातकर्ता, उत्पादक, नेपाल औषधि व्यवसायी संघ तथा नेपाल फार्मास्युटिकल एसोसिएसनका प्रतिनिधिहरू सहभागी भएका थिए।

कार्यक्रममा नेपालमा कुन(कुन समूहका एन्टिबायोटिक बढी खपत भइरहेका छन् भन्ने तथ्याङ्क तयार गर्ने र त्यसका आधारमा नीतिगत तथा नियमनकारी निर्णय लिने विषयमा छलफल भएको थियो।

प्राप्त तथ्याङ्कका आधारमा एन्टिबायोटिकको बिक्री-वितरण र प्रयोगलाई व्यवस्थित बनाउँदै नियमन तथा अनुगमन प्रणाली थप प्रभावकारी बनाउने विषयमा जोड दिइएको थियो।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *