आज भाइटीका : उत्तम साइत बिहान ११:०७ बजे
दिनभरि नै पनि टीका लगाउन सकिने
काठमाडौं, २५ कात्तिक। यमपञ्चक अर्थात् तिहारको पाँचौँ तथा अन्तिम दिन आज दिदीबहिनीको हातबाट टीका ग्रहण गर्दै भाइटीका पर्व मनाइँदैछ। प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने भाइटीकालाई ‘यमद्वितीया’ पनि भनिन्छ।
यस दिन दिदीबहिनीले आफ्ना दाजुभाइको दीर्घायु, आरोग्य र समृद्धिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाइदिने चलन छ।
दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाइदिने र गच्छेअनुसार उपहार वा दक्षिणा दिएर सम्मान प्रकट गर्ने परम्परा छ।
उत्तम साइत कतिबजे ?
भाइटीका आज दिनभर लगाउन सकिने भए पनि साइत नै खोज्नेका लागि बिहान ११ बजेर ७ मिनेटको समय उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।
समितिका अध्यक्ष सहप्राडा पुरुषोत्तम भट्टराईका अनुसार सर्वसाधारणका लागि आज दिनभर टीका लगाउन कुनै बाधा छैन, तर राज्य सञ्चालकले भने शुभ साइतमै टीका लगाउनुपर्ने शास्त्रीय मान्यता छ।
टीका लगाउँदा कुन दिशा फर्कने ?
यस वर्ष टीका लगाइदिने दिदीबहिनी पूर्व र लगाइमाग्ने दाजुभाइ पश्चिम फर्कनुपर्ने समितिले जनाएको छ। यसो गर्दा वृश्चिक राशिमा रहेका चन्द्रमा दाहिने पर्नेछन्।
शुभकार्य गर्दा चन्द्रमालाई अगाडि वा दाहिने पार्नुपर्ने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतमले बताए।
भाइटीकाका दिन दियो, कलश र गणेशको पूजा गर्दै अष्टचिरञ्जीवी (मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुराम) का साथै यमराज र यमुनाको पूजा आराधना गरिन्छ।
दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर मखमली, सयपत्री र गोदावरीको माला लगाइदिने तथा ओखर, कटुस, मरमसला र सेलरोटीलगायतका परिकार दिने चलन छ।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।





नेपाली हेल्थ 



