बिमस्टेकको स्वास्थ्य मन्त्रीस्तरीय बैठक: क्षेत्रीय स्वास्थ्य सहकार्यमा नेपालको जोड

भारतीय समकक्षीसंग नड्डासँग मन्त्री मेहताको विशेष भेट
0
Shares

काठमाडौं, २६ कात्तिक ।  श्रीलंकाको राजधानी कोलम्बोमा आयोजित बंगालको खाडी बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोग प्रयास (बिमस्टेक) को पहिलो स्वास्थ्य मन्त्रीस्तरीय बैठकमा नेपालले क्षेत्रीय स्वास्थ्य सहकार्य विस्तार र साझा जनस्वास्थ्य चुनौतीको सामूहिक समाधानमा जोड दिएको छ।

बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले नेपालको प्रतिनिधित्व गर्दै सहभागिता जनाएकी छन्। उनले बैठकमा क्षेत्रीय जनस्वास्थ्य सहकार्य, संक्रामक तथा पशुजन्य रोगको नियन्त्रण, एन्टिमाइक्रोबियल प्रतिरोध (एएमआर) न्यूनीकरण, जलवायु परिवर्तनले स्वास्थ्य क्षेत्रमा पारेको प्रभाव, स्वास्थ्य आपत्कालीन अवस्थाको पूर्वतयारी तथा सबैका लागि गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्ने विषयमा नेपालको प्राथमिकता र धारणा प्रस्तुत गरेकी छन्।

मन्त्री मेहताले क्षेत्रीय स्वास्थ्य प्रणालीलाई थप सबल, समावेशी र उत्थानशील बनाउन बिम्स्टेक सदस्य राष्ट्रहरूबीच आपसी विश्वास, साझा जिम्मेवारी, समन्वय र प्रभावकारी सहकार्य आवश्यक रहेको बताएकी छन्।

स्वास्थ्य क्षेत्रमा देखिएका साझा चुनौतीको सामना गर्न सदस्य राष्ट्रहरूले अनुभव, प्राविधिक ज्ञान तथा असल अभ्यास आदानप्रदान गर्दै सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा उनले जोड दिएकी छन्।

बैठकका क्रममा सदस्य राष्ट्रका स्वास्थ्य मन्त्री तथा उच्चस्तरीय प्रतिनिधिमण्डलका प्रमुखहरूसँग विभिन्न भेटघाट तथा छलफलसमेत भएका छन्।

ती छलफलमा क्षेत्रीय स्वास्थ्य सहकार्य विस्तार, स्वास्थ्य प्रणालीको सुदृढीकरण, प्राविधिक ज्ञान तथा अनुभव आदानप्रदान र साझा स्वास्थ्य समस्याको सामूहिक समाधानका उपायबारे विचारविमर्श भएको छ।

उक्त बैठक तथा कार्यक्रममा नेपालका स्वास्थ्य सचिव डा. विकास देवकोटा र स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्रीका प्रमुख विज्ञ सल्लाहकार डा. मनोहर प्रधान, आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक डा बासुदेव उपाध्याय, स्वास्थ्य मन्त्रालयकी प्रशासन हेर्ने सहसचिव हुमकला पाण्डे लगायतको प्रतिनिधिहरुको सहभागिता छ ।

भारतीय समकक्षीसंग नड्डासँग मन्त्री मेहताको विशेष भेट

यसैबीच बिमस्टेकको स्वास्थ्य मन्त्रीस्तरीय बैठकका क्रममा स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले भारतीय स्वास्थ्य तथा परिवार कल्याणमन्त्री जेपी नड्डासँग भेटवार्ता गरेकी छन्।

भारतीय स्वास्थ्य मन्त्री नड्डाले सामाजिक सञ्जाल फेसबुकमार्फत मेहतासँग भेट भएको जानकारी सार्वजनिक गरेका हुन्।

उनले कोलम्बोमा आयोजित पहिलो बिम्स्टेक स्वास्थ्य मन्त्रीस्तरीय बैठकका क्रममा नेपाली समकक्षीसँग भेट भएको उल्लेख गर्दै नेपाल र भारतबीचको ऐतिहासिक, सांस्कृतिक तथा जनस्तरको सम्बन्धलाई स्वास्थ्य र विकास क्षेत्रको सहकार्यले थप सुदृढ बनाएको बताएका छन्।

भेटका क्रममा द्विपक्षीय तथा क्षेत्रीय स्वास्थ्य सहकार्य विस्तार, स्वास्थ्य क्षेत्रको अनुभव, विशेषज्ञता तथा असल अभ्यास आदानप्रदान र सर्वसुलभ तथा गुणस्तरीय स्वास्थ्य सेवामा नागरिकको पहुँच अभिवृद्धि गर्ने विषयमा छलफल भएको नड्डाले फेसबुकमा उल्लेख गरेका छन्।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ‘छिमेक पहिलो’ नीतिअनुरूप नेपालसँग स्वास्थ्य क्षेत्रको सहकार्यलाई थप सुदृढ गर्दै राम्रो स्वास्थ्य परिणाम र साझा क्षेत्रीय समृद्धिका लागि मिलेर काम गर्न भारत प्रतिबद्ध रहेको पनि नड्डाले बताएका छन्।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *