प्राडा सुवासप्रसाद आचार्य ‘एसिया प्यासिफिक एसोसिएसन अफ क्रिटिकल केयर मेडिसिन’को अध्यक्षमा मनोनित

काठमाडौँ, २२ कात्तिक । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल) महाराजगञ्जका कार्यकारी निर्देशक समेत रहेका बरिष्ठ आईसीयू विशेषज्ञ प्राडा सुवासप्रसाद आचार्य एसिया प्यासिफिक एसोसिएसन अफ क्रिटिकल केयर मेडिसिन (एपीएसीसीएम)को अध्यक्षमा मनोनित भएका छन् ।
फिलिपिन्सको मनिलामा गत बुधबार देखि शुक्रबारसम्म आयोजित ‘एपीएसीसीएम कंग्रेस – २०२६’ को अवसरमा सहभागी प्रतिनिधिहरुले उनलाई नयाँ अध्यक्षमा मनोनित गरेका हुन् ।
उनी यसअघि एपीएसीसीएमको प्रेसिडेन्ट इलेक्ट थिए । त्यसअघि महासचिवको जिम्मेवारी समेत सम्हालेका थिए ।
प्राडा आचार्यले अब एपीएसीसीएमको दुई वर्षसम्म नेतृत्व गर्नेछन् । यसअघि अध्यक्षको कार्याकाल तीन वर्षको रहने व्यवस्था रहे पनि प्राडा आचार्यकै प्रस्तावमा यसपटक देखि अवधी घटाएर दुई वर्षको बनाइएको थियो ।
एसिया प्यासेफिक रिजनमा २७ वटा देश रहे पनि सन् २००४ मा स्थापित एपीएसीसीएममा अहिलेसम्म १९ वटा देश मात्रै सदस्य रहेका छन् । क्रिटिकल केयर मेडिसिनमा काम गर्ने चिकित्सकहरुको संस्था सदस्य रहने भएकोले एपीएसीसीएममा अहिलेसम्म सबै देशहरु सदस्य नभएको प्राडा आचार्यले बताए ।
नयाँ जिम्मेवारीका साथ गएराती मात्रै फिलिपिन्सबाट नेपाल भेड्किएका प्राडा आचार्यले नयाँ जिम्मेवारीलाई प्रभावकारी रुपमा अघि बढाउने अठोट लिएको बताए । उनले एपीएसीसीएमको नयाँ सचिवालय नेपालमै स्थापना गर्ने योजनामा आफू लागि सकेको भन्दै यसले नेपाल र एपीएसीसीएमका लागि समेत फाइदा हुने बताए ।
प्राडा आचार्य नेपाल इन्स्टिच्युट अफ क्रिटिकल केयर मेडिसिन एनआईसीसीएमका समेत अध्यक्ष हुन् ।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।





नेपाली हेल्थ 



