एमबीबीएसपछि चार वर्ष सेवा दिनुपर्ने व्यवस्था सच्याउन प्रतिष्ठानका विद्यार्थीको माग

काठमाडौं, १८ असोज । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका विद्यार्थीहरुले चिकित्साशास्त्रको स्नातकतर्फ पूर्ण छात्रवृत्ति तथा साझेदारीमा पढेकालाई चार वर्ष र आंशिक छात्रवृत्तिमा अध्ययन गरेकालाई दुई वर्षसम्म ग्रामीण वा दुर्गम क्षेत्रमा काम गर्नुपर्ने अनिवार्य व्यवस्था सच्याउन माग गरेका छन् । प्रतिष्ठान ऐनमा उल्लेखित सो व्यवस्था छात्रहरूको वृत्ति विकासका लागि बाधक भएको उनीहरुको आरोप छ ।

छात्रवृत्तिमा अध्ययनरत तथा उतीर्ण प्रतिष्ठानका विद्यार्थीहरूको समूहद्धारा जारी विज्ञप्तिमा चिकित्साशास्त्र अध्ययन हुने देशका अन्य शैक्षिक संस्थाभन्दा फरक र असमान ढंगले प्रतिष्ठान ऐनमा विभेदकारी र अन्यायपूर्ण प्रावधान राखिएको उल्लेख छ । जारी विज्ञप्तिमा यस्तो नियमले विद्यार्थीलाई स्नातकोत्तर अध्ययन गर्न लामो समय पर्खिनुपर्ने, व्यक्तित्व विकासमा प्रतिकूल असर पर्ने र यी कारणले गर्दा विद्यार्थीमात्रको नभएर सिंगो देशकै क्षति हुने उल्लेख गरिएको छ ।

चिकित्साशास्त्र अध्ययन हुने देशका अन्य संस्थामा पूर्ण छात्रवृत्तिमा अध्ययन गर्ने विद्यार्थीले ग्रामीण वा दुर्गम क्षेत्रमा दुई वर्ष काम गर्नुपर्ने र आंशिक छात्रवृत्तिमा पढेकाले त्यसो गर्न अनिवार्य नरहेको व्यवस्था छ ।

विद्यार्थीहरुको समूहले प्रतिष्ठान ऐनको सो व्यवस्था परिमार्जन गरी अन्य शैक्षिक संस्थासरह बनाउन उपप्रधान एवं स्वास्थ्य मन्त्रीलाई ध्यानाकर्षणसमेत गराएको छ । मन्त्रीलाई दिइएको ज्ञापनपत्रमा पूर्ण छात्रवृत्ति पाएकै कारणले चार वर्षसम्म दुर्गम वा ग्रामीण क्षेत्रमा काम गर्नुपर्ने र आंशिक छात्रवृत्ति पाएकालाई समेत दुई वर्षसम्म काम गर्नुपर्ने प्रावधान अव्यवहारिक र अवैज्ञानिक भएकाले त्यसलाई संशोधन गर्न वा अन्य सम्बद्ध ऐन ल्याई विस्थापन गर्नुपर्ने आग्रह गरिएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *