भोटेकोशी बाढी: बेत्रावतीबाट ११ दिनमा उद्दार गरि छाउनी अस्पताल लगिएकी चण्डिकालाई त्रिवि शिक्षण अस्पताल सारियो
छाउनीमा नसकेर त्रिवि शिक्षणमा ल्याइएको हो त ?

काठमाडौँ, २० भदौ । रसुवा भोटेकोशी बाढीमा परी ११ दिन पछि बेत्रावतीबाट जीवितै उद्धार गरिएकी चण्डिका श्रेष्ठलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल ल्याइएको छ । यसअघि उनलाई नेपाली सेनाको छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा लगिएको थियो ।
उनको खुट्टामा चोट लागेको बताइएको छ । धेरै दिन हिलो र चिसोमा परेकोले अहिले माइल्ड हाइपोथर्मियाको समस्या पनि देखा परेको चिकित्सकहरुले बताएका छन् ।
छाउनीमा नसकेर त्रिवि शिक्षणमा ल्याइएको हो त ?
त्रिवि शिक्षण अस्पतालमा श्रेष्ठलाई ल्याइएपछि कतिपय सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा सेनाको अस्पतालमा उपचार हुन नसकी त्रिवि शिक्षण अस्पतालमा ल्याइएको समेत भन्ने विवरणहरु आइरहेका छन् । तर बास्तविकता भने त्यस्तो होइन ।
चण्डिकाका सम्धी रमेशमान श्रेष्ठ त्रिवि शिक्षण अस्पतालका पूर्व कर्मचारी हुन् । लामो समय शिक्षण अस्पतालमा काम गरेको हुनाले उनलाई त्रिविमा उपचार गराउन सजिलो लागेको हो ।
सेनाको अस्पतालमा त्रिविमा जस्तो सहज रुपमा सबैको पहुँच हुने कुरा पनि भएन । आकस्मिक अवस्थामा सेनाले उद्दार गरेर ल्यायो र सबै जाँच र आकस्मिक उपचार गरि हाल्यो । अब केही दिन त्रिविमा थप सहज ढंगबाट उपचार हुन्छ भनेर सारिएको श्रेष्ठका आफन्तहरुले बताएका छन् ।
शिक्षण अस्पतालका सूचना अधिकारी कालीप्रसाद रोस्याराले खुट्टा तथा घुडामा सामान्य चोट भएको बताउँदै स्वास्थ्य अवस्था खतरामुक्त रहेको जानकारी दिए । उनले भने, ‘रमेश सर हाम्रो पुरानो स्टाफ हो, उहाँले यता सहज मानेर ल्याएको हुनसक्छ । उता उपचार नै हुन नसकेर यता ल्याइएको भन्ने चाही होइन ।’
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



